पौडेलसँग पनि वार्ता, कोषाध्यक्षमा यादवको सिफारिस
१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको खमबहादुर खड्का समूहले शेरबहादुर देउवाको टीममा उपसभापति र कोषध्यक्ष दाबी गरेको छ । यससँगै देउवाको टीम घोषणा केही दिनलाई रोकिएको छ । देउवा समूहबाट वरिष्ठ नेता शेरबहादुर देउवा सभापतिको उम्मेदवार हुँदैछन् । उनी सभापतिमा निर्विकल्प हुन् । देउवा समूहले संस्थापनबाट आएका अर्जुनरसिंह केसीलाई महामन्त्रीको उम्मेदवार बनाउने भएको छ ।
देउवा निकट एक नेताले भने, ‘१७ गते टीम घोषणा हुँदैछ । अहिलेसम्म ९५ प्रतिशत उहाँ (केसी) महामन्त्रीको उम्मेदवार हो ।’ केसी आफ्नो टीमसहित संस्थापनबाट देउवा समूहमा गएका हुन् ।
देउवाले खुमबहादुर खड्कासँग शुक्रबार साँझ छलफल गरेका छन् । उनले उपसभापति र कोषध्यक्ष आफ्नो टीमबाट हुने सुनिश्चितता खोजेका छन् । उपसभापति पाउने अवस्थामा ख्डकाले नै त्यसमा दावी गर्नेछन् ।
देउवा समूहका विमलेन्द्र निधि पनि उपभासभापतिका आकांक्षी हुन् । एक नेताले भने, ‘खुमबहादुर दाइको उपसभापतिमा दाबी हो । त्यसो हुँदा बिमलेन्द्र मनोनित महामन्त्रीमा रहने सम्भावना छ ।’
देउवा समूहलाई दबाब दिन खुमबहादुरले सबैसँग वार्ता गर्ने भन्दै वार्ता टोली समेत बनाएका छन् । टोलीका एक सदस्यले बताएअनुसार खड्का समूह कृष्ण सिटौलाको टीममा जाने सम्भावना छैन । उनका अनुसार अहिले खड्काले रामचन्द्र पौडेल र शेरबहादुर देउवा समूहका नेताहरुसँग छलफल गरिरहेका छन् । उनले भने, पहिला खुमबहादुर दाइको उपसभापति सुनिश्चित हुनुपर्छ, त्यसपछि हाम्रो केन्द्रीय सदस्यहरुको टीमको कुरा आउँछ । अहिले हामी छलफलमै छौं ।’
कोषध्यक्षमा खड्काले चित्रलेखा यादवलाई अघि सारेका छन् । उनी अहिले पनि निर्वाचित कोषाध्यक्ष हुन् । सुशील कोइराला सरकारमा मन्त्री समेत भएकी उनको लोकपि्रयता घट्दो छ र उनलाई उम्मेदवार नबनाउन देउवालाई उनको समूहका नेताहरुको चर्को दबाब दिइरहेका छन् ।
तर, खमुबहादुरको सिफारिस भएकाले चित्रलेखा फेरि कोषाध्यक्षमा लड्ने सम्भावना बलियो भएको छ । यसले देउवा समूहका नेता बालकृष्ण खाँड समस्यामा पर्नेछन् । उनी अहिले कोषाध्यक्षका आकांक्षी हुुन् ।
चित्रलेखा कोषाध्यक्षको उम्मेदवार हुँदा उनलाई सहमहामन्त्री दिनु पर्ने हुन्छ । जसमा पूर्णबहादुर खड्का लगायतका नेताहरुले पनि दाबी गरिरहेका छन् । त्यसैले टीम बनाउन देउवालाई कठिन भइरहेको छ ।(अन्लाईनखबर )