मदन कोइराला
काठमाडौं–आफ्नो भारत भ्रमण अगाडि नै राजनीतिक संयन्त्र गठन गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री केपी ओलीले बिहीबार नै राजनीतिक संयन्त्र गठन गर्ने निर्णय मन्त्रिपरिषद्बाट पारित गराएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बिहीबार नै राजनीकि संयन्त्र गठन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले आन्दोलनरत मधेसी मोर्चासँग सहमति गरी आजै साँझसम्म राजनीतिक संयन्त्र गठनको तयारी गर्न कार्यदललाई जिम्मा दिने निर्णय गरेको विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले जानकारी दिए ।
‘कार्यदललाई आजै साँझसम्म मधेसी मोर्चासँग छलफल र सहमति गरी राजनीतिक संयन्त्र गठनको प्रस्ताव गर्न जिम्मेवारी दिने निर्णय भयो,’ मन्त्री थापाले नागरिकन्युजसँग भने,’ राजनीकि व्यक्तिमात्र नभइ विज्ञलाई पनि राख्ने गरी राजनीतिक संयन्त्र गठन गरिनेछ।’ बैठकमा मधेसी मोर्चाले उठाउँदै आएको मधेसमा दुई प्रदेशको प्रस्तावका विषयमा छलफल पनि सो विषयपनि राजनीतिक संयन्त्रमार्फत नै समाधान गर्नुपर्ने बैठकमा छलफल भएको थियो।
मन्त्रिपरिषद बैठकले राष्ट्रिय उर्जा संकट कार्ययोजना पारित गरेको छ। उर्जा मन्त्रालयले पेश गरेको कार्ययोजनामा दशवर्षभित्र लेडसेडिङ मुक्त गर्ने खाका रहेको छ। कार्ययोजनामा एकवर्षमा कति लोडसेडिङ कम गर्ने भन्ने खाका रहेको स्रोतले जनाएको छ।
यसैगरी बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डाको विषयमा पनि छलफल गरेको छ। भारत भ्रमणको एजेण्डाको अन्तिम टुंगो भने लागी सकेको छैन्। भारत भ्रमणको एजेण्डा र राजनीतिक संयन्त्र गठन गर्न आजै साँझ सात बजे पुन मन्त्रिपरिषद बैठक बस्ने भएको छ।
(नागरिक न्युज )