पाकिस्तानले सागमा नियम मिचेको आरोप, स्वर्ण नेपाललार्इ फर्कने सम्भावना


रोशन राउत
Rejin_Karki-Taekwondo_Player_545547364सिलोङ (भारत): १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले प्रतिस्पर्धात्मक खेलमा गुमाएको एउटा स्वर्ण पदक फिर्ता पाउने सम्भावना बढेको छ । नेपालकी रेजिना कार्की शनिबार भएको महिलातर्फको ४६ केजी तौल समूहको फाइनलमा पाकिस्तानी खेलाडी यास्मिन मोहम्मद खानसँग ‘गोल्डेन प्वाइन्ट’ का आधारमा पराजित भएपछि रजत पदकमा सीमित भएकी थिइन् ।
तर फाइनलमा रेजिनालाई हराउने खेलाडीलाई पाकिस्तानले नियमविपरीत प्रतियोगितामा सहभागी गराएको सुइँको पाएपछि नेपाली खेल पदाधिकारीले त्यसविरुद्घमा आयोजकसमक्ष ‘प्रोटेस्ट’ हालेका छन् । पाकिस्तानले नियमविपरीत खेलाडीलाई प्रतियोगितामा सहभागी गराएको पुष्टि भए स्वर्ण विजेता यास्मिनलाई अयोग्य घोषित गरिनेछ ।

यस्तो स्थितिमा यास्मिनले जितेको स्वर्ण पदक रेजिनाले पाउनेछिन् । विश्व तेक्वान्दो महासंघको नियमअनुसार १७ वर्षभन्दा कम उमेरको कुनै पनि खेलाडीलाई सागजस्ता सिनियर स्तरका ठूला प्रतियोगितामा सहभागी गराउन पाइँदैन । १७ वर्षभन्दा कम उमेरका खेलाडीलाई जुनियर स्तरको प्रतियोगितामा मात्र खेलाउन पाइन्छ ।

तर पाकिस्तानले सागमा सहभागी गराएको यास्मिनको उमेर १७ वर्षभन्दा कम रहेको जानकारी पाएपछि शनिबार अबेर नेपाली खेल अधिकारीले उक्त विषयमा आयोजकसँग गुनासो गरेका थिए । त्यसपछि आयोजकले पाकिस्तानी खेल अधिकारीसँग यास्मिनको वास्तविक उमेर पुष्टि गर्न उनको पासपोर्ट (राहदानी) माग गरेको थियो ।

पाकिस्तानी खेल अधिकारीले भने आइतबार अबेरसम्म पनि यास्मिनको राहदानी उपलब्ध गराएका छैनन् । ‘हामीले गुनासो गरेपछि आयोजकले पाकिस्तानी खेल अधिकारीसँग शनिबार यास्मिनको राहदानी मागेको थियो तर आइतबार साँझसम्म पनि पाकिस्तानले राहदानी उपलब्ध गराएको छैन’, एक नेपाली खेल अधिकारीले भने ।

ती खेल अधिकारीका अनुसार आरोप पुष्टि भएमा पाकिस्तानले जितेको स्वर्ण पदक खोसिने मात्र होइन पाकिस्तानलाई थप कारबाहीसमेत हुन सक्छ । तर उक्त स्पर्धाको पदक वितरणसमेत भइसकेकाले ‘प्रोटेस्ट’ को कारबाही अघि बढाउन भने केही समय लाग्न सक्छ ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले पनि समाचारको पुष्टि गरेका छन् । पाकिस्तानले नियम मिचेर खेलाडी सहभागी गराएको जानकारी पाएपछि आफूहरूले त्यसको विरोधमा ‘प्रोटेस्ट’ हालेको उनले बताए ।

‘नियमअनुसार सिनियर स्तरको प्रतियोगितामा १७ वर्षभन्दा कम उमेरको खेलाडी सहभागी गराउन पाइँदैन तर पाकिस्तानले नियम मिचेर खेलाडी सहभागी गराएको जानकारी पाएपछि हामीले प्रोटेस्ट हालेका हौं,’ उनले भने ।

तेक्वान्दोमा कम उमेरका खेलाडी सहभागी गराएको चर्चा चलेपछि आइतबार अफगानिस्तानले पनि अप्रत्यासित रूपमा आफ्नो एकजना खेलाडी परिवर्तन गरेको छ । आयोजकद्वारा अघिल्लो दिन सार्वजनिक गरिएको खेल तालिकामा अफगानिस्तानका एक खेलाडीको नाम हुमाइरा एफ शाह राखिएको थियो ।

प्रतियोगिता सुरु हुँदा भने आइतबार महिला ५७ केजी तौल समूहको त्यही स्पर्धामा अफगानिस्तानले अर्की खेलाडी सोमेन गुजामीलाई रिङमा ओरालेको थियो । पाकिस्तानी खेलाडीका उमेरका विषयमा आयोजकले कुरा उठाएपछि अन्य टोलीलाई पनि त्यसको दबाब परेको स्रोतले बतायो ।

रेजिना शनिबार भएको फाइनलमा अन्तिम समयमा गोल्डेन प्वाइन्टका आधारमा पराजित भएकी थिइन् । निर्धारित तीनवटै चरणमा दुवै खेलाडीले समान ८–८ अंक बटुलेपछि हारजितको निर्णय गोल्डेन प्वाइन्टबाट गरिएको थियो । उक्त नियमका आधारमा जुन खेलाडीले पहिलो अंक हात पार्छ त्यही खेलाडी विजयी हुन्छ ।

प्रमुख प्रशिक्षक नै प्रतिबन्धमा परेपछि

खेल पदाधिकारीबीचको आपसी विवादका कारण भारतमा जारी दक्षिण एसियाली खेलकुदमा राष्ट्रले लज्जाबोध गर्नुपर्ने अवस्था सिर्जना भएको छ । नेपाली टोलीका एकजना प्रशिक्षक आइतबार खेल स्थलमा समेत प्रवेश गर्न पाएनन् ।

ओम मास्के नेपाली बक्सिङ टोलीको प्रमुख प्रशिक्षकको भूमिकामा जारी सागमा सहभागी छन् । तर नेपाली खेल पदाधिकारीबीचकै आन्तरिक विवादका कारण अन्तर्राष्ट्रिय बक्सिङ महासंघले आइतबार प्रमुख प्रशिक्षक मास्केलाई प्रतिबन्ध लगाएपछि उनी आफ्ना खेलाडीलाई सिकाउन खेल स्थलमा प्रवेश गर्न पाएनन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १२ औं सागका लागि मास्केलाई प्रमुख प्रशिक्षक बनाएको थियो । बक्सिङ संघले भने मुख्य प्रशिक्षकका रूपमा प्रचण्ड शर्मालाई चयन गरेको थियो । रमाइलो पक्ष के भने राखेपले नै गत मंसिरमा शर्मालाई राष्ट्रिय बक्सिङ टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

संघ र राखेपले एकै खेलमा दुई मुख्य प्रशिक्षक नाम दर्ता गर्दा नेपालमै पनि ठूलै विवाद भएको थियो । मास्के राखेप र नेपाल ओलम्पिक कमिटीको सहयोगमा १२ औं सागमा प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्न पुगेका हुन् ।

बक्सिङको दोस्रो दिन सोमबार राखेपले पठाएका मुख्य प्रशिक्षक मास्के खेल सुरु हुनअघि अफिसियल एरिनामा प्रवेश गर्न खोजेका थिए । तर विश्व बक्सिङ महासंघका पदाधिकारीको निर्देशनमा आयोजक समितिले उनलाई एरिनामा प्रवेश गर्न रोके । उनलाई भित्र प्रवेश गर्न अनुमति नभएको जनाउँदै दर्शकदीर्घामा बस्न आग्रह गरे । आयोजकले रोकेपछि उनी पनि दर्शक दीर्घामै बसे ।

विश्व बक्सिङ महासंघले नेपालका बक्सिङ प्रशिक्षक मास्केलाई तीन महिनाअघि कारबाही गरेको थियो । विश्व बक्सिङ महासंघले नेपाली बक्सिङ र संघको उजुरीमा मास्केलाई कुनै पनि अन्तर्राष्ट्रिय र राष्ट्रिय लेभलमा प्रशिक्षण गर्न नपाउने गरी कारबाही गरेको हो । संघले मास्केद्वारा नेपालमा बक्सिङमा विवाद बढाएको जनाउँदै उजुरी गरेको थियो । उनी अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षक हुन् ।(अन्नपूर्ण पोस्ट )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.