यसरी चम्किए ह्याट्रिकका हिरो नवयुग


nawaaaaaकाठमाडौं, माघ ६ । नवयुग श्रेष्ठको ह्याट्रिक सहयोगमा नेपाल ४–१ ले माल्दिभ्सलाई मंगलबार हराएर ढाकामा भइरहेको बंगबन्धु गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बंगबन्धु स्टेडियम नेपाली टिमको लागि यस्तो मैदान हो, जहाँ नेपालले पछिल्लो उपाधि (सन् १९९३ छैटौं दक्षिण एसियाली महासंघीय खेलकुदको स्वर्णपदक) जितेको थियो ।
त्यही मैदानमा नवयुग हिरो भएपछि नेपाली टिम आठौं दक्षिण एसियाली महासंघीय खेलकुदको फाइनल खेलेयता पहिलोपल्ट फाइनलमा पुगेको हो । त्यसबेला दशरथ रंगशालामा भएको सेमिफाइनलमा पनि नेपालले माल्दिभ्सलाई हराएको थियो । त्यसयता माल्दिभ्समाथि नेपालको पहिलो जित यही हो । नेपालले बंगबन्धु गोल्डकपको फाइनलमा शुक्रबार बहराइन यू–२३ सँग खेल्नेछ ।
२५ बर्षीय नवयुगले ३१ औं मनिेटमा गोल गर्दै माल्दिभ्सविरुद्ध खाता खोले । १४ भदौमा पुनेमा भएको भारतविरुद्धको मैत्रीपूर्ण खेलमार्फत् अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका उनको यो पहिलो गोल हो । विशाल राईले ५३ औं मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारे ।
विक्रम लामाको पास उपयोग गर्दै नवयुगले ६२ औं मिनेटमा गोल गरेर नेपाललाई ३–० ले अघि बढाए । उनको त्यो गोल स्तरीय थियो । उनले चार मिनेटको इन्ज्युरी टाइमको पहिलो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । यसमा पनि उनलाई विक्रमले पास दिएका थिए ।माल्दिभ्सविरुद्ध नवयुगको ह्याट्रिक, नेपाल १७ वर्षपछि औपचारिक फुटबलको फाइनलमा नवयुग ह्याट्रिक गर्ने पाँचौं नेपाली फुटबलर हुन् ।
यसअघि गणेश थापा (दक्षिण एसियाली खेलकुद १९८७ भुटानविरुद्ध), नरेश जोशी (१९९९÷श्रीलंकाविरुद्ध), नीराजन रायमाझी (विश्वकप छनोट २००२/मकाउविरुद्ध) र भरत खवास (एएफसी च्यालेन्ज कप छनोट २०११/नर्थर्न मारिया आइल्यान्डविरुद्ध) ले एकै खेलमा तीन गोल गरेका थिए ।
पाँच फिट ६ इन्च अग्ला नवयुग छरिता फुटबलर हुन् । सानो जीउडालका भएकाले पनि उनी निक्कै फास्ट खेल्छन् । उनको स्कोरिङ पनि राम्रो छ । विशेषगरी पेनाल्टी क्षेत्रनजिकबाट उनले लोभलाग्दा गोल गर्ने गरेका छन् । राष्ट्रिय लिग २०६८ मा फरवार्डको भूमिका उत्कृष्ट प्रदर्शन गरेपछि उनले राष्ट्रिय टिममा स्थान पाएका हुन् । उनले राष्ट्रिय लिगमा सर्बाधिक १४ गोल गरेका थिए ।
प्रशिक्षक ध्रुव केसीले उनलाई जगजित श्रेष्ठको स्थानमा विङ्सबाट खेलाउँदै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गराएका थिए । त्यसबेला नवयुगले भनेका थिए, ‘अब चाहि फरवार्डको भूमिकामा राष्ट्रिय टिमबाट खेल्न पाउने आस छ ।’
नेपालको गोलको खडेरी तोड्ने प्रयासमा बेल्जियन प्रशिक्षक प्याट्रिक ओसेम्सले उनको खुबी पहिचान गर्दै फरवार्डको भूमिकामा खेलाइहाले । राम्रो प्रदर्शन गरेपनि उनले यसअघिका ६ खेलमा गोल भने गर्न सकेका थिएनन् ।
इलामस्थित मंगल’boutका नवयुगले पोखरा–बुटवलमा २०६८ मा भएको राष्ट्रिय लिगमा सर्बाधिक ७ गोल गरेका थिए । त्यसबेला उनी फरवार्डको भूमिकामा मात्र थिएनन्, आर्मीका प्रशिक्षक योगम्बर सुवालले अट्याकिङ मिडफिल्डरको रुपमा पनि प्रयोग गरेका थिए ।
मिडफिल्डमा पनि राम्रै प्रदर्शन गर्दै आएपनि उनी कहिल्यै राष्ट्रिय टिममा परेका थिएनन् । यसपाली राष्ट्रिय लिगमा गरिएको प्रदर्शनले उनलाई चर्चा दिलाउँदै राष्ट्रिय टिमसम्मै पुर्‍याएको हो । ‘उनमा गजबको स्कोरिङ क्षमता छ, जुन अहिलेका नेपाली फरवार्डमा कमै पाइन्छ,’ आर्मीका प्रशिक्षक मेघराज केसीले बताए ।
नवयुगले राष्ट्रिय लिगमा पुलिसविरुद्ध ३–० को जितमा ह्याट्रिक गरेका थिए । तीनै गोल आकर्षक थिए । पोखरामा चार वर्षअघि भएको राष्ट्रिय लिगमा संगम क्लबलाई ५–१ ले हराउँदा उनी एक्लैले चार गोल गरेका थिए । २०६८ को राष्ट्रिय लिगपछि उनको प्रदर्शन औसत रह्यो ।
उनको भूमिका पनि एउटै थिएन, कहिले अट्याकिङ मिडफिल्डर त कहिले फरवार्ड । दुई वर्षयता बल्ल उनले चर्चित् फरवार्ड भारत खवाससँगै आर्मीको अग्रपंक्तिमा खेल्ने अवसर पाएका हुन् । यसवीच उनी चर्चामा नरहेपनि मैदानमा छाइरहेकै थिए ।
प्रतिद्वन्द्वी डिफेन्समा रोहित चन्दलाई सबभन्दा कठिन मान्ने उनले दुई वर्षयता आर्मीसँगै गणेशमान गोल्डकप (विराटनगर), माइभ्याली (इलाम), सिमरा (बारा) र पथरी गोल्डकप (मोरङ) को उपाधि जितेका छन् ।
उनी सीमरा र पथरीमा सर्बोत्कृष्ट खेलाडी पनि चुनिएका थिए । शिक्षकका छोरो नवयुगको फुटबल कौशल घरनजिकका सनराइज एकेडेमी र भानुभक्त उच्चमाविको मैदानबाट फैलिन थालेको थियो ।
राष्ट्रिय टिमबाट खेल्ने सपना
सानैदखि फरवार्डको भूमिकामा खेल्ने उनी २०६०–६१ को जिविस कपमा सहभागि हुन काठमाडौं आएका थिए । त्यसमा उनको टिम इलाम च्याम्पियन नै भयो । ‘त्यसैबेला खेलाडी बन्छु भन्ने लाग्यो,’ उनले भने, ‘एकचोटी न एकचोटी राष्ट्रिय टिमको जर्सी लगाउने सपना पाल्न थाले ।’
उनको खेल यू–१४ जिविस कप जितेपछि राम्रो हुन थालेको थियो । ‘इलाममै दुई साता ट्रेनिङ गरेपछि जिविस कप खेलेका थियौं । यसैले मेरो स्तर बढायो,’ उनले भने । स्थानीय त्रिवेणी युवा क्लबबाट भारतको सीमावर्ती मिरिक र दार्जिलिङमा खेल्दा टिमको सबभन्दा कान्छो खेलाडी उनी नै हुन्थे ।
झापाका फरवार्ड विशाल राई ‘ए’को खुबै प्रशंसा गर्ने उनी प्रवेशिका परीक्षापछि राजधानीको लिग खेल्ने धुनमा उनी क्लबहरु चहार्न थाले । उनले एपीएफमा ४५ दिन ट्रेनिङ गरे ।
‘सी’ डिभिजन खेल्न टोखा क्लबसँग पनि अभ्यास गरे । तर, उनी एन्फाका उपाध्यक्ष कर्माछिरिङ शेर्पा आफैले भनेपछि ‘बी’ डिभिजन खेल्न पाउने आसमा टोखाबाट नखेल्दै हिमालयन शेर्पा क्लबमा पुगेका थिए ।
हिमालयन शेर्पा ‘बी’ डिभिजन लिग उपविजेता हुदै ‘ए’ डिभिजनमा उक्लियो तर नवयुगले त्यहाँ मैदानमा ओर्लने अवसर नै पाएनन् । उनले खेल्न पाउने आसमा सँधै बेन्चमा बिताए ।
त्यसबेला उनको खेल राम्रो स्तरको पनि थिएन । ‘मभन्दा राम्रा खेलाडीहरु टिममा थिए र उनीहरु खेलेकोमा नै चित्त बुझाउनुपथ्र्यो,’ उनले भने । ‘बी’ डिभिजन सकेपछि उनी घर फर्किए । उनी साथी सरोज श्रेष्ठसँगै नेपाली सेनामा भर्ती हुन धनकुटा पुगे । उनी पास भए, सरोज भएनन् ।
आर्मीमा बनेको करिअर
२०६५ सालमा भर्ती भएपछि दुई नम्बर बाहिनी हिलेमा सैन्य तालिम गर्दागर्दै नवयुगलाई पृतना ट्रफि खेल्न इटहरी पठाइयो । त्यसमा उनको टिम च्याम्पियन भयो । उनले राम्रो खेलेका थिए । त्यसबेला त्रिभुवन आर्मी क्लबले पनि राम्रो खेलाडी खोजीरहेको थियो । त्यसैले उनलाई सैन्य तालिमपछि सीधै क्लबमा काठमाडौं पठाइयो ।
उनी तत्कालीन प्रशिक्षक डम्बरसिंह गुरुङको नजरमा परिहाले । त्यही बेला मिडफिल्डर सन्तोष नेपाली शान्ति सेनामा बिदेश गएका थिए । त्यसैले उनले ‘प्लेइङ सेट’मै रहेर सहिद स्मारक ‘ए’ डिभिजन लिग २०६६–६७ मा डेब्यू गरे । उनको फुटबल करिअर त्यहीबाट उकालो लागेको हो ।
सन्तोष फर्केपछि अर्का मिडफिल्डर राजु तामाङ शान्ति सेनामासमावेश भए । त्यसैले नवयुगले निरन्तर पहिलो रोजाइमा मौका पाए । डम्बरसिंहपछि योगम्बर सुवाल हुदै अहिले मेघराज केसी आर्मीको मुख्य प्रशिक्षक छन् । नवयुग उनीहरु सबैको रोजाईमा परे ।
उनलाई राष्ट्रिय टिममा ध्रुव केसीले ‘ब्रेक’ दिए । त्यसपछि प्याट्रिक ओसेम्सले पहिलो रोजाईमा राखे । र, अहिले बालगोपाल महर्जनको पनि भरपर्दा फरवार्ड बने । यही क्रममा पाएका अवसरलाई सही सावित गर्दै उनले ढाकामा ह्याट्रिक गरेका हुन् । कान्तिपुर दैनिकबाट

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.