रामचन्द्र नेपाल
श्रमिक लुट्नेहरुको गाइजात्रा देखाइदिन्छुः विभागका महानिर्देशक
५ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मलेसियामा नेपाली कामदार ठग्नेलाई कार्वाही गर्ने प्रतिवद्धता जनाएको छ । अख्तियारका अधिकारीले कार्वाहीका लागि प्रमाण जुटाइदिन मलेसियामा रहेका नेपालीहरुलाई आग्रह गरेका छन् ।
केहि दिनअघि मलेसियामा आएको अख्तियार र वैदेशिक रोजगारका अधिकारीहरुको टोलीले कामदारमाथिको ठगि’bout जानकारी लिएको हो । गैरआवासीय नेपाली संघ मलेसियाले गरेको अन्तरक्रियामा बोल्दै अख्तियारका सहसचिव जीवन प्रकाश सिटौलाले प्रमाण पाउनासाथ यस्ता ठगहरुमाथि कारवाही गर्ने बताए ।
सिटौलाले भने, ‘ठगिएको विषयमा गुनासाहरु आएका छन्, तर हामीलाई प्रमाणको आवश्यकता पर्छ । प्रमाणको सुईंको मात्रै दिनोस, तत्काल कार्वाही गर्नेछौं ।’
कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक केदारबहादुर बोगटीले पनि ठगीका प्रमाणहरु उपलब्ध गराउन आग्रह गरे । उनले भने, ‘प्रमाण छन् भने दिनुस्, श्रमिक ठगेर नवधनाढ्य भएकाहरुको तमासा गरिदिन्छ ।’ अझ हौसिदै उनले थपे, ‘त्यस्ताको काठमाडौंमा गाइजात्रा देखाइदिन्छु । हाम्रा दाजुभाईलाई जेलमा सडाउन, अरुबाट ठगिन र अकालमा मर्न विदेश पठाईएको होइनौ ।’
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले वैधानिक अवस्थामा रहेका श्रमिकहरुलाई जुनसुकै हालतमा भए पनि उद्दार गर्न वोर्ड तयार रहेको बताए । उनले भने, ‘अवैधानिक भएर विदेशमा नवस्नुस । कागजपत्रहरु सबै सुरक्षित राख्नुस । अवैधानिक भएर बस्दा उद्दार गर्न धेरै अपठेरो हुन्छ ।’ रोजगारीका सबै गन्तब्य मुलुकमा सरकारी वकिल राख्न जरुरी भएको भन्दै उनले मलेसियामा वकिलको लागि आह्वान गरिसकेको जानकारी दिए । सरकारले मलेसियासँग श्रम संझौताका लागि पहल गरिरहेको उनले बताए ।
कार्यक्रमका सहभागीहरुले सम्झौता अनुसारको तलब सुविधा नपाएको, दुर्घटना हुँदा बिमा नपाएको, अवैधानिक अवस्थामा वस्नु परिरहेको, सेल्टर हाउस नहुदा समस्या परिरहेको लगायत गूनासोहरु पोखेका थिए । अवैधानिक अवस्थामा रहेर नेपाल र्फकन खोज्दा दलालहरुबाट ठगीएको विषयमा उनीहरुले टोलीलाई जानकारी गराए ।
एक हप्ता अगाडि आएको टोलीले मलेसियाली मानव संशाधन मन्त्रालय, केएलआइस्थित फिर्ती केन्द्र, गैरआवासीय नेपाली, दूतावासमा पुगेका नेपाली सेवाग्राही, पेनाङस्थित कन्सुलर, विभिन्न कम्पनी तथा श्रमिकहरु जम्मा हुने ठाउँहरुमा पुगेर नेपाली श्रमिकका गुनासाहरु संकलन गरिरहेको छ । टोली बिहीबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।(अन्लाईनखबर )