हाउसमेड भगाउँदा…


होम कार्की , दामन
02012016103122house-made-1000x0घरबाट निस्कने आँटउनीसँग थिएन । भन्थिन्, ‘दूतावासका सरहरूलाई भनेर मेरो मामा (मालिक्नी) सँग कुरा गर्न लगाइदिनुस् न । नत्र मेरो घरमा प्रहरीपठाइदिनुस् ।’ पुस १८, २०७२- ५, मकवानपुरकी गीता गिरीले एकहोरो फोन गरिरहन्थिन् । आधा/आधा घन्टा फरकमा उनको फोन आउँदा मनै झसङ्ग–झसङ्ग हुन्थ्यो । सायद उनलाई लागेकी थियो कि कुबेतबाट उद्धार गर्ने यसैले हो । ‘लौ न दाइ अहिले झन ढोका थुनेर पिट्यो,’ उनी फोनमा रुन्थिन्, ‘टाउकाको रौं–रौं दुखेको छ ।’ साथमा थिए, धर्मराज गिरी । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष गिरी भन्थे, ‘जे पर्ला पर्ला जाऔं, घरबाटै लिएर आउँm ।’ उनको निडरता देख्दा आफैंलाई पनि पछि लागौं जस्तो लाग्थ्यो । ‘दाइ लिन आउनुहुने भयो त ?’ गीताले फेरि सोधिन्, ‘अब त बाँचिएलाजस्तो लाग्या छैन ।’ उनलाई दिने ठोस जवाफ थिएन, चित्त बुझाउन सम्झाउने उपायबाहेक । ‘हामीले दूतावाससँग कुरा गरिरहेका छौं, नआत्तिई बस्नुहोला,’ पटकपटक हाम्रो जवाफ उही हुन्थ्यो, ‘दूतावास मार्फत मात्रै तपाईंलाई उद्धार गर्न सकिन्छ ।’ दूतावासलाई खबर पुगे पनि उसले चाहँदैमा तुरुन्तै उद्धार भइहाल्दैन ।

दूतावासको बाध्यता राम्रोसँग थाहा भएपछि उनलाई झन् निराश बनाउने कुरो थिएन । गीता कुबेतको सवैयास्थित एक कुबेतीको घरमा काम गर्थिन् । केही हप्तादेखि उनलाई लगातार यातना दिइरहेको खबर उत्तिकै आउँथे । संयोगले त्यतिखेर कुबेतमै पुगेपछि उनी आफैंलाई लिन आएको ठानेर प्रफुल्ल भइन् । ‘मलाई यहाँबाट उद्धार नगरेसम्म तपाईं फर्कन पाउनुहुन्न,’ उनको अनुरोध थियो, ‘यति गरिदिनुभयो भने तपाईंलाई जिन्दगीभर बिर्सन्नँ ।’ बिरामी श्रीमान्को उपचार गर्न कुबेत पुगेकी उनले यस्तो यातना भोगिराख्दाको पीडा सुन्दा धर्मराज भने घरी–घरी तनावमा आउँथे । ‘तिमी त्यो घरबाट भागेर अलि पर आउन सक्छौं त,’ धर्मराजले फोन आउन साथ सोध्ने गर्थे, ‘त्यसो हुन सके मात्रै हामी तिमीलाई भगाउन सक्छौं ।’ घरबाट निस्कने आँट उनीसँग थिएन । भन्थिन्, ‘दूतावासका सरहरूलाई भनेर मेरो मामा (मालिक्नी) सँग कुरा गर्न लगाइदिनुस् न । नत्र मेरो घरमा प्रहरी पठाइदिनुस् ।’ उनले भनेका यी दवबै हुन नसक्ने काम थिए । प्रहरी पठाइदिन सम्भव हुँदैन्थ्यो । दूतावासले भागेर आइपुगेपछि मात्रै सेल्टर दिन सक्ने अवस्था थियो ।

‘दलालसँग कुरा गरौ त’ भनेर सोध्दा उनको जवाफ आउँथ्यो, ‘दलालसँग कुरा भयो भने त उसले सीधै मेरो मामालाई भनिदिन्छे । त्यसपछि मलाई झन् बढी यातना दिन्छे ।’ गीतालाई त्यस घरमा पठाउने दलाल नेपाली महिला नै थिइन् । जसलाई उनी ‘राइनी दिदी’ भनेर चिन्छिन् । दुई साल एउटा घरमा काम गरेर फर्किने बेला उनलाई ती राइनी दिदीले अर्को घरमा बेचिदिएकी थिइन् । ‘९ सय केडीमा बेचिदिएछिन्,’ उनले भनिन्, ‘त्यहाँ राम्रो घर छ । तलब पनि राम्रो दिन्छ भनेकी थिइन् । यो घरमा ५ वटा स–साना बच्चा छन्, ती ५ तिर दौडिन्छन् । कसलाई समात्ने ? कसलाई छोड्ने ? अनि मालिक्नी आएर बच्चाहरू नहरेको भन्दै थप्पड लगाइहाल्छिन् ।’ त्यही पनि, एकपटक दूतावाससँग सल्लाह लियौं । ‘घरमै गएर ल्याउन मिल्दैन,’ श्रम सहचारीको भनाइ आयो, ‘जसरी हुन्छ बाहिर निस्कनु भन्नु । त्यसपछि हामी हेरौंला ।’ उद्धार कार्य अगाडि बढ्ने सकेन । ‘अरू उपाय छैन बहिनी,’ धर्मराजले सम्झाए, ‘जसरी हुन्छ । त्यहाँबाट निस्केर बाहिर आऊ । दूतावास लगेर नेपाल पठाइदिनेसम्म सहयोग गरिदिन्छौं ।’ गीताले ‘त्यो अवस्था’ आएपछि सम्पर्क गर्ने भनिन् । कैयौं दिनसम्म गीताको फोन आएन ।

एक साँझ म, धर्मराज र पत्रकार मित्र दुर्गा ढुंगेल (हालै हृदयाघातबाट मृत्यु भएका) कुबेत सिटीको समुद्री किनारमा कुराकानी गरिरहेका थियौं । त्यतिखेर एक व्यक्तिले ढुंगेललाई आफ्नो दिदीलाई निकालिदिन अनुरोध गरिरहेका थिए । ‘एकजना दिदी घरबाट निस्केर दूतावास आउने भनेर बारम्बार अनुरोध गरिरहेकी छिन्,’ उनले भने, ‘उद्धार गरेर दूतावास ल्याइदिने हो त ?’धर्मराज अगाडि सरिहाले । ढुंगेलसँग भने, ‘लौ जाऔं । लोकेसन माग्नुस् । घरबाट निस्कन सकिन्छ भने हामी आउँछौं भन्नुस् ।’ ढुंगेलले कुरो बुझे । उनी तयारी अवस्थामा रहेको बताइन् र भनिन्, ‘मस्जिदअगाडि आएपछि फोन गर्नुस् ।’ ती युवतीले दिएको लोकेसनमा हामी तीनजना पुग्यौं । ‘लु बहिनी मस्जिद अगाडि हाम्रो गाडी इमर्जेन्सी लाइट दिएर बसिरहेको छ,’ ढुंगेलले फोन लगाए, ‘सेतो रङको गाडी छ । तिमी छिटो तल आइहाल त ।’ १० मिनेट बित्दा पनि उनी आइनन् । हामी डराइरहेका थियौं । ‘छिटो गर न ?’ ढुंगेलले फोन गर्दा ती महिलाको जवाफ आयो, ‘मालिक्नीले जान दिइरहेको छैन । साहु मस्जिदमा गएको छ ।

पाठ पढेर आएपछि सल्लाह गरौंला भनेर रोकिरहेको छ ।’ढुंगेलले जबर्जस्ती आउन दबाब दिए । उनी छिनमै तल झरिन् । हतारहतार गाडीमा लगेज हालिन् । पछिल्लो सिटमा बस्नासाथ गिरीले गाडीलाई कुदाइहाले । उनी अलि ढुक्क भइन् । ‘गाडीको नम्बर त कसैले टिपेनन् नि,’ धर्मराजले सोधे । उसलाई भगाएको कसैलाई पनि याद भएन । मालिक्नी तल झर्नै पाएकी थिइनन् । ‘बदलामा अर्को हाउसमेड आएपछि मात्रै जान दिन्छु भन्दै थिए,’ तिनले भनिन्, ‘मैले नमानी जबर्जस्ती आएँ ।’ ५ वर्षअघि उनी कुबेत आएकी रहेछन् । उनी चार वर्षअघि भागेर बाहिर काम गर्दै आएकी थिइन् । घर जाने मेलो नपाएपछि उनी घर खोज्दै काम गर्न थालेकी रहिछन् । ‘मलाई छिटो आइज भनेर बूढाले भनिरहेका छन्,’ गाडीमा उनले भनिन्, ‘तपाईंहरूले छिट्टै नेपाल पठाइदिन सक्नुहुनेछ ।’ उनलाई लिएर आएपछि श्रम सहचारी गोमादेवी पौडेल ढकाललाई फोन गर्दै भन्यौं, ‘हामीले एउटा हाउसमेडलाई घरबाट उद्धार गरेर ल्याउँदैछौं । दूतावासको सेल्टरमा राखिदिने व्यवस्था गरिदिनुपर्‍यो ।’ त्यसमा उनले सहमति जनाइन् ।

उनलाई दुतावासको सुरक्षाकर्मीले सेल्टरमा राख्ने गरी जिम्मा लिए । ‘खाना एकछिनमा आउनेछ,’ हिँड्ने बेला धर्मराजले भने, ‘नडराई बस्नुहोला ।’ भोलिपल्ट बिहान दूतावास गएँ । ‘हिजो तपार्इंहरूले ल्याउनुभएकी हाउसमेड त पहिला पाँच महिना दूतावासको सेल्टरमा बसिसकेकी हुन् । विद्रोह गरेर बाहिर निस्केकीमा उनी पनि पर्छिन् । त्यसरी बाहिर निस्केकालाई फेरि नलिने भनिएको छ,’ श्रम सहचारी ढकालले भनिन् । ‘उनलाई जसरी पनि नेपाल पठाइदिने जिम्मेवारी दूतावासको हो,’ हिँड्ने बेला मैले भनें, ‘तपाईंहरूले सेल्टरमा नराखे बाहिर कहाँ गएर बस्छ ? त्यसरी निस्केकालाई एकपटकलाई मौका दिनुपर्छ ।’तर यसरी उद्धार गरिएकी महिला गीता थिइनन् । उनी भने हामी कुबेत छोड्ने बेलासम्म पहिले सम्पर्कमा आइनन् । पछि त फोन पनि लाग्न छोड्यो । पछिसम्म पनि धर्मराज गिरीले गीता’boutको थप सूचना थाहा पाउन सकेनन् ।
(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.