‘एके ४७’ सहित भारतीय प्रहरी वीरगन्जमा


भूषण यादव, वीरगन्ज
कार्तिक ८, २०७२- जारी मधेस आन्दोलनको केन्द्र विन्दु वीरगन्ज–रक्सौल नाका भएर भारतीय प्रहरीका एसपी ५ जना हतियारधारी टोली सहित नेपाल प्रवेश गरेको खुलेको छ । मधेसवादी दलले वीरगन्ज र रक्सौल नाकाबीचको मितेरी पुलमा सवारी साधन आवागमन ठप्प पारेपनि ती प्रहरी साइरन बत्ती भएको भारतीय जीपमा पुल पार गरेर प्रवेश गरेका थिए । गत शुक्रबार साँझ ७ बजे एमपी ओ ३ ए १९१५ नम्बरको गाडीमा भारतीय प्रहरी वीरगन्ज भन्सार हुँदै रजतजयन्ती चोक भएर बाइपास सडक हुँदै अन्तराष्ट्रिय नाकाबाट करिब १५ किलोमिटर भित्र परवानीपुरसम्म पुगेका थिए । त्यहाँ चेकजाँचमा तैनाथ पर्सा प्रहरीले गाडीबाट १ थान एके ४७ र त्यसमा प्रयोग हुने ३० राउण्ड गोली बरामद गरेको विश्वसनीय स्रोतले जनाएको छ । ‘४ जना बर्दीधारी प्रहरी सहित गाडीमा ५ जना थिए,’ स्रोतले भन्यो, ‘सिभिल ड्रेसमा रहेका एक व्यक्तिले आफू एसपी रहेको परिचय खुलाए ।’ गाडीमा मध्य प्रदेश रिवा जिल्ला ‘स्पेशल आर्म फोर्स’ ९ औँ बटालियनका एसपी नरवदा प्रसाद वरकडे सवार थिए । छिमेकी भारतको विहार राज्यको जारी विधानसभा निर्वाचनका लागि मध्यप्रदेशबाट वरकडेको टोलीलाई थप मद्दतका लागि पूवी चम्पारणको बेतियामा खटाइएको भारतीय प्रहरीले जनाएका थिए । हतियार र बर्दी सहित नेपाली भूमिमा प्रवेश निषेध रहेको डयूटीमा खटिएका प्रहरीले बताएपछि भारतीय प्रहरीले अन्जानवस प्रवेश गरेको जवाफ दिएका थिए । ‘काठमाडौँमा रहेको पशुपतिनाथको दर्शनका लागि हिँडेका हौँ,’ भारतीय प्रहरीलाई उद्धृत गर्दै एक प्रहरीले भने, ‘हामीले वर्दी र हतियार यही राखेर जान भनेपछि आफ्नै देश फर्किने बताए ।’ राति प्रहरीले उनीहरुलाई स्कर्टिङ गरी भन्सार अगाडि रहेको शंकराचार्य गेट कटाएको थियो । दुबै देशका प्रहरी एक अर्काको देशमा प्रवेश गर्दा बोकेको हतियार आफ्नै मुलुकको सीमा प्रहरी चौकीमा बुझाएर जाने परम्परा छ । औपचारिक कार्यक्रम बाहेक बर्दीमा समेत बिना जानकारी अर्को देशमा जान मिल्दैन् ।

मितेरी पुलमा विगत १ महिनादेखि जारी मधेसी मोर्चाको धर्नाका कारण हलुका सवारी साधन र साइकल बाहेकका सवारी चलेका छैनन् । भारत तथा तेस्रो मुलुकबाट आउने मालवाहक सवारी र इन्धन आपूर्ति ठप्प गर्ने उद्देश्यले आन्दोलनरत पक्ष मुलुकको प्रमुख नाकामा गत असोज ७ गतेदेखि बाँसमा समेना (पाल) टाँगेर धर्नामा बसेका छन् । रक्सौलका व्यापारी महेशकुमार अग्रवालको गोदाम परिसरमा सञ्चालित मेसमा खाना खाएर रातको समयमा त्यही पालमुनि सुत्दै आएका छन् । भारतीय प्रहरीको गाडी त्यही पुल भएर नेपाल प्रवेश गरेको हो । ‘मितेरी पुल भएर रिक्सा समेत पार गर्न गाह्रो छ,’ एक प्रत्यक्षदर्शी भन्छन्, ‘रातको समयमा प्रहरीको जीप आन्दोलनकारीको सहयोग बिना प्रवेश गर्न असम्भव छ ।

रिक्सा त के एम्बुलेन्स समेत जान पाएका छैनन् ।’ नाम उल्लेख नगर्ने शर्तमा एक प्रदर्शनकारीले बताए अनुसार भारतीय गाडी आउँदा आन्दोलनरत दलका एक प्रभावशाली नेताले समेना टाँगिएको बास हटाएर गाडी प्रवेश गराएका थिए । पुल पारि रहेको रक्सौल कस्टमसम्म भारतीय सीमा सुरक्षाबलका जवानले एसपी वरकडेको टोलीलाई ल्याएको थियो । नेपाल प्रहरीले परवानीपुरबाट फर्काएपछि मितेरी पुलमा सुतिसकेका आन्दोलनकारी उठेर पुन: बाँस हटाएर हात हल्लाउँदै भारतीय प्रहरीलाई बिदाई गरेका थिए ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.