नयाँ सभामुख चयन प्रक्रिया आजबाट


बालकृष्ण बस्नेत, काठमाडौं
आश्विन २७, २०७२- व्यवस्थापिका–संसद्ले नयाँ सभामुखको चुनावी प्रक्रिया बुधबार थाल्ने भएको छ । दिउँसो ३ बजेदेखि बस्ने संसद् बैठकअघि नै सभामुख सुवास नेम्वाङले पदबाट राजीनामा दिई मार्गप्रशस्त गर्नेछन् । सभामुखले उपसभामुखसमक्ष राजीनामा बुझाउनेछन् । नयाँ संविधानको धारा २९९ (२) मा संसद् बैठक आह्वान भएको २० दिनभित्र नयाँ सभामुख र उपसभामुख चयन भइसक्नुपर्ने प्रावधान भएकाले नेम्वाङले समयमै राजीनामा दिन लागेको संसद् सचिवालयले जनायो ।

‘नयाँ सभामुखको निर्वाचन प्रक्रियाको कार्यसूची तयारी भइरहेको छ । त्यसलाई सहज बनाउन सभामुखज्यूले बुधबार राजीनामा बुझाउनुहुनेछ,’ सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले भने । संविधानको उक्त प्रावधानमा अधिवेशन आह्वान भएको २० दिनभित्र संसद्का सदस्यहरूले आफूमध्येबाट राजनीतिक सहमतिका आधारमा सभामुख र उपसभामुख एक–एकजना निर्वाचित गर्ने व्यवस्था छ ।

पूर्वप्रधानमन्त्री सुशील कोइरालाले पदबाट राजीनामा नदिई प्रक्रिया अघि बढाए पनि नेम्वाङले भने आफू पदमै बसेर नयाँ छान्ने प्रक्रिया असहज हुने भन्दै राजीनामा दिन लागेका हुन् । ‘अब मलाई के जिम्मेवारी दिने भन्ने दलहरूको हातमा छ । मैले माग्ने होइन,’ व्यवस्थापिका–संसद्को प्रमुख पदबाट बिदा हुनै लागेका बेला उनले संवाददाताहरूसँग भन्दै आएका छन् ।

वर्तमान सत्ता समीकरणमा संलग्न प्रमुख दलमध्ये एमाओवादीले सभामुख रोज्ने र एमालेलाई राष्ट्रपति दिइने सहमति भएकाले उक्त पदका लागि नेम्वाङ पनि प्रमुख दाबेदार मानिएका छन् । यद्यपि एमालेभित्रैबाट नेतृ विद्या भण्डारी, लालबाबु पण्डितका विषयमा पनि छलफल चलाइएको छ । ०६२/६३ को जनआन्दोलनपश्चात् प्रतिनिधिसभा पुन:स्थापना भएयता नेम्वाङ लगातार सभामुख पदमा क्रियाशील छन् । दोस्रो संविधानसभाबाट संविधान जारी गराउन सन्तुलित र सक्रिय भूमिकाका कारणले पनि नेम्वाङको सम्भावना रहेको नेताहरू बताउँछन् ।

असोज महिनाभित्रै नयाँ सभामुख र उपसभामुख निर्वाचित गरिसक्ने तयारीमा सचिवालय जुटेको छ । नयाँ राष्ट्रपति र उपराष्ट्रपति भने कात्तिक १५ भित्रै टुंगो लागिसक्नेछ । ती दुवै पद संसद् सुरु भएको एक महिनाभित्र निर्वाचित भइसक्नुपर्ने संविधानमा व्यवस्था छ । चालू अधिवेशन असोज १५ गते सुरु भएको थियो । नेम्वाङले राजीनामा दिएपछि उपसभामुख ओनसरी घर्तीले कार्यवाहक सभामुखका रूपमा निर्वाचन गराउनेछिन् ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.