यौनबजारमा एकसाँझ


समुन्द्र घिमिरे

timthumb

यो उमेरमा म केही खोज्न जाँदा जुन बच्चालाई देखेँ, त्यो बच्चा मेरो उमेरमा पुग्दा के गर्दो होला?’

कलंकीबाट सितापाईला जाने बाटोको दाहिने/देब्रेतिर केही रेष्टुरेण्टहरु चम्किरहेका देखिन्छन्। साँझ पर्दै गर्दा तिनै रेष्टुरेण्टको बाहिर चम्किने झिलमिले बत्तिहरुको आकर्षण अझै विशेष हुने गर्छ। प्रायः तिहारमा प्रयोग हुने ति झिलिकझिलिक झिल्किने बत्तिलाई रेष्टुरेण्टले ग्राहकलाई ‘भित्र आउ आउ’  भनेर सांकेतिक निम्तो दिएइरहेझैं लाग्छ। नशा, यौन जस्ता अर्थ लाग्ने नामबाट नामांकित त्यस्ता रेष्टुराँका आडैमा केही युवतीहरु रहने गर्छन्। उनीहरुका अगाडि पर्ने युवाहरुले उनीहरुको आँखाको नशालु हेराइ खानुपर्छ। आफ्नो वक्षस्थल सकेसम्म देखाउने उनीहरुको कोसिस हुन्छ। अनुहार भने ठीकठीकैका। रुपले पुरुषहरुको मनमा आगो बाल्न सक्ने क्षमता नभएपनि ठूला वक्षस्थल र भावभंगीमा पोख्त ती युवतीहरुको ‘खास कर्म’ कस्तो होला भन्ने जान्न एकदिन ती रेष्टुराँमा छिर्ने निधो गरेँ। अफिसबाट फर्किँदै गर्दा म झोला बोकेर भित्र छिरेँ। पहिलोपटक छिरेकले पनि हुन सक्छ, माहोल भिन्नै लाग्दै थियो, कुनै नौलो ठाउँमा पुगेजस्तो।

तर, खास भन्नु केही थिएन। जस्तो भट्टी त्यस्तै ति रेष्टुराँ। तर, ति रेष्टुराँले आफ्नो धमास भने बेग्लै देखाउने रहेछन्।

भित्र छिर्ने बित्तिकै केही युवतीहरु भगवान आएझैं सत्कार गर्न मतिर तम्सिए। चारजनाको सिट क्षमता दरले कोठाकोठा बनाइको एक कोठामा मलाई केही युवतीहरुले पुर्‍याए। पुग्नेबित्तिकै लेमिनेसन गरिएको दुई ताउको थोत्रिएको मेनुसहित एउटटी युवती हाजिर भई र बनावटी आतिथ्यताको संवाद फाली, ‘हजुर के लिनुहुन्छ?’

मैले एउटा मिल्क टि र लाईट चुरोटको अर्डर गरेपछि मेरो आर्थिक हैसियत शंका लागेछ क्यारे। उसले भनी, ‘ एउटा चियाको एक सय पचहत्तर पर्छ।’

मेरो मनमा एक्कासी झस्का पस्यो। कारण, मैले त्यस्तो मूल्य कल्पना पनि गरेको थिइनँ।

‘किन यति धेरै?’ मैले सोधेँ।

‘किनकी यो रेष्टुरेण्ट हो।’ उसले सम्झाई, ‘चिन्ता नलिनुस् केटीसँग बस्न पाइन्छ। रमाइलो हुन्छ। पैसा तिरेकोमा पछुताउनु पर्दैन।’

म जुन कामको लागि भित्रिएको थिएँ, त्यो काम हुने भो भन्ने ठानेर मन भने अलि पुलकित हुँदै थियो। ‘अनि, बस्न मात्र कि लैजान पनि पाइन्छ?’ त्यस युवतीलाई  जिस्क्याएँ।

मेरो ठाडो प्रश्न सुनेर आँखा तरेजस्तै गरी ऊ बोली,’त्यो त जानेलाई मात्र थाहा होला।’

सायद उसलाई शंका लाग्यो, म ग्राहक होइन, बकम्फुसे बटुवा हूँ र म निशुल्क स्त्रीस्वादन गर्न आएको छु।

मैले आफ्नो उत्सुकता बढाउँदै भनेँ,’त्यसो भए जानेलाई नै पठाइदिनुहोस् न त।’

ऊ त्यहाँबाट निस्किई। केहीबेरमा एउटी भर्खरकी श्याम वर्णकी अर्की युवती आईपुगी। आउँदा उसको हातमा पनि उही थोत्रो मेनु थियो। र, मुखमा सलबलाइरहेको चुईंगम। शैली, कुनै र्‍याम्पमा क्याटवाकमा हिँड्ने मोडलको जस्तो।

‘भूकम्पपछि यीनीहरु भोकाएका छन्। त्यसैले सम्झौता गर्न ठूलो पापड बेल्नुपर्ने छैन।’

मेरो दिमागमा यस्तै विचार चल्मलाउँदै गर्दा ऊ आइपुगी र म छेउको कुर्सीमा ज्यानलाई टेको लगाउँदै पहिलाकै युवतीको शैलीमा केही खानका लागि दवाब दिन थालि।

मैले पनि खानमा अरुचीको शैलीमा भनें, ‘लाइट सिग्रेट खोजेको तपाईंकोमा रैन्छ। फेरी मलाई चुरोट नखाई केही खानै मन लाग्दैन।’

उसले केही त खानैपर्ने दवाब दिन थाली,’बियर खानुहुन्छ कि रेडबुल?’

‘मलाई चिसो खान मन छैन। घाँटी दुखिराछ।’ मैले अरुची देखाएँ।

उसले ज्यान तताउन ‘रम विथ हनी’ को अप्ठ्यारो सुझाव दिई।

‘मलाई अचेल हार्ड ड्रिंक्स नै फाप्दैन’ फेरि अर्को बहाना गरेँ।

सायद उनीहरुलाई ग्राहकको यस्तो किचकिचमा झिँजो लाग्छ। त्यसैले ऊ मलाई यत्तिकै बस्न दिने पक्षमा थिइन।  भनी, ‘जे खाएपनि खानुस्। यहाँ यत्तिकै बस्दा हामीलाई साहुले कराउँछ।’

उनीहरु सोच्दा हुन् साहु भनेपछि ग्राहक कातर हुन्छन्। तर, उनीहरुको सोचलाई ‘फ्लप’ खुवाउने सोचेर मैले सोधेँ,’साहु कहाँ छन्?’

साहु बाहिर गएको र केही बेरमा नै आउने बताएपछि ऊ केही बेर मौन भई। म मौनतालाई चिरेर अलि अघि बढ्न चाहेँ, ‘बाहिर पनि जानि गर्‍या छ?’

‘अहँ छैन।’ जवाफ तुरुन्तै आयो।

‘बाहिर नजाने भए म केही पनि खाँदिन।’ मैले अड्डी लिएँ।

‘कति दिनुहुन्छ?’

त्यतिबेला शरिर लत्रक्क भएर कुर्सीमा पसारिएको थियो। उनको प्रश्न सुनेपछि ज्यानै हलुंगो भयो र म ढाड सिधा पारेर बसेँ अनि भाउ सोधेँ।

‘पाँच हजार’ मैले सोचेभन्दा छिट्टै उत्तर आयो।

‘एकै पटकको पनि?’ मैले आश्चर्यभावमा सोधेँ।

‘तपाईंले एक घण्टाको कुरा गर्नुभा होला! एक घण्टाका लागि त जाँदैनौं। फुल नाइटको लागि पाँच हजार लाग्छ।’ सायद उनीहरुको स्वाभिमान यस्तै हुन्छ।

म् यस्तोबेला त्यस्ता युवतीहरुसँग कस्तो कुरा गर्ने भन्ने सिलसिला जान्दिनँ। ‘त्यसोभए ल ठीक छ’ भन्दै म त्यहाँबाट उठेँ।

बाहिर निस्कँदा शरिर हलंगो र मन फुरुंग थियो। केही पाएझैं मष्तिस्क पनि छटपटिइरहेको थियो। तर, दुई काँधका बीच झोला झुण्डिरहेकाले ज्यान अलि भारी पनि लाग्दै थियो। तुरुन्त जुक्ति पनि फुर्‍यो,’झोला कोठामा राखेर आउँछु र अन्य रेष्टुराँमा पनि हेर्छु।’

कोठामा पुगेँ र झोला बिसाएर आफ्नो परिचय खुल्ने कार्डलाई पर्सको एक कुनामा घुसारेँ र फर्किएँ।

अघिको रेष्टुरेण्ट वरिपरी जानु जोखिम हुन्थ्यो त्यसैले अघिका युवतीले नदेख्ने अलि परको रेष्टुरेण्टमा छिरेँ।

वातावरण त्यहाँको पनि केही फरक थिएन। भित्र छिर्दा केही केटीहरुको सल्याङमल्याङ व्याप्त थियो।

मैले त्यस रेष्टुरेण्टको एउटा सानो कोठा ओगटेँ र केही बेर यताउती हेरेँ। एउटी युवतीको हातमा उस्तै थोत्रो मेनु थियो। अनुहार भने ठीकठीकैको। श्याम वर्णकी। ऊ म भएको ठाउँमा आउने बित्तिकै बाहिरबाट कोठाको पर्दा बन्द भयो।

त्यसपछि उसको केरकार आउन थाल्यो,’हजुरलाई के मन पर्छ? हजुर के लिनुहुन्छ?’ स्वरमा अकमकाई थियो, लाज भरिएजस्तो।

मैले मेरो च्यापुलाई टेबलमा टेको लगाएर उतिर हेर्दै मलाई शान्ति देउ भनेँ।

उनले खै के बुझिन्? बाहिर जान खोजेजस्तो गरेपछि मैले एकछिन मसँग बस न भनेँ।

उसले कुर्सीको बिटमा ज्यान टेकाई। सायद मसँग टाँसिनु उसका लागि जोखिम थियो।

त्यसपछि मैले सोधेँ, ‘किन केही खानैपर्ने हो र?’

उसको जवाफबाट थाहा पाएँ  ऊ रेष्टुराँमा काम गर्न आएको पहिलो दिन थियो।  साहुले भने बमोजिम गर्नैपर्ने नियम हुँदो रहेछ त्यहाँ।

मैले उसलाई धेरै प्रश्नहरु एकैपटक गरेपछि उसले वास्तविकता खोली, ऊ चितवनबाट त्यसदिन मात्र आएकी थिई। गाउँकी एकजना दिदीले पैसा राम्रै दिन्छ भनेर रेष्टुराँमा काम लगाइदिएकी थिई। तलबका ’boutमा भने बताउन चाहिन। सायद, साहुले कसैलाई नभन्नु भनेको छ।

उसको कुरा यत्तिकैमा रोकिएपछि सोधेँ,’बाहिर जाने हो त?’

‘कहाँ?’ भर्खरै काम गर्न थालेकाले उसलाई यस्ता प्रश्नमा कसरी ‘ड्रिल गर्ने’ भन्ने सायद थाहा भएकै थिएन।

मेरो भनें,’मेरो पनि एउटा रेष्टुराँ छ काम गर्छौ? पैसा यहाँ भन्दा बढी दिन्छु।’

उनले मुण्टो हल्लाएर नजाने संकेत गरिन्।

केहीबेर सन्नाटा छायो। त्यसबीचमा मलाई तुरुन्तै सोध्न मन थियो, केही छिनका लागि बाहिर जाने हो? तर एकछिनपछि मात्र सोधेँ।

उसले प्रतिप्रश्न गरी, ‘कहाँ?’

‘मैले जहाँ भन्छु त्यहीँ’, मैले भनेँ।

बाहिरबाट नारीस्वर गुजुल्टिँदै हामीसम्म आयो,’तीन नम्बरबाट अर्डर भएन?’

उसमा छटपटी बढ्यो र त्यो छटपटीले मलाई पनि छटपटाउन थाल्यो। खानै पर्ने करबलले। मेरो पूर्ववत अडानपछि उसले नखाने भए बाहिर जानुस् भन्दै निस्किई।

‘केही खान नमिल्ने भए जान्छु’ भन्दै  म रिसेप्सननिर पुग्दै गर्दा सोफामा बसिरहेकी युवतीले केही खाएर जानुस् न भन्दै चेपारे घसी। म उसको कुरालाई वास्ता नगरी अघि बढेँ।

त्यहाँबाट निस्केर सडक पारीको रेष्टुराँ जानका लागि बाटो पार गर्दैगर्दा सोचेँ, ‘उनीहरुसँग घुलमिल हुने शैली थाहा नभएकाले म धेरैबेर टिक्न सकिरहेको छैन्।’

सडक पार गरेपछि चुराको आवाज गुञ्जियो। मैले परवाह नद्रिइ हिँडिरहेँ। अर्कोमा पुग्नै लाग्दा थाहा भयो चुरा बजाइरहेको मान्छेले मलाई पछ्याइरहेको छ। एकछिन रोकिएर हेरेँ, एउटा युवतीको शरिर छ।

‘नाटकबाट आउनुभाको रे!’ मतलब कस्तो?’ पछ्याउने युवतीले सोधी। मैले केही झुट र केही सत्य बेलिबिस्तार लगाएपछि हामी सँगै अर्को रेष्टुराँमा छिर्‍यौं। तर पहिले नै मैले त्यस केटीलाई एउटा सर्त राखेको थिएँ,’त्यो रेष्टुराँमा म यसरी आएको भन्ने थाहा नहोस् है।’ मैले भने मुताबिक उसले त्यहाँ गएर सर्त पालना गर्ने बाचा गरी।

त्यहाँ पुगेपछि मलाई लाग्यो, यस्ता रेष्टुराँका डिजाइनर एउटै हो। किनकी त्यो रेष्टुराँका बनावट, साजसज्जा, वातावरण एक–आपसमा मिल्थे। म त्यस रेष्टुराँमा पनि पहिलेकै शैलीमा सानो कोठाभित्र पुगेँ। तर, यसमा भने कोही युवती झुल्केनन्।

मलाई पट्यार लाग्न सुरु भइसकेको थियो। तर, केही बेरमा एक कुनाबाट भित्र पसेकी अधबैंसे महिलाले  लुगा मिलाउँदै सोधी, ‘मेनु लेराउँ?’ मैले दुई हातका बीच ख्याप्प बसेको मुण्टो हल्लाएर हुन्छको संकेत मात्र दिएँ।

मेनु ल्याँउँदै गर्दा मैले उसलाई भनेँ, ‘खोइ त, अरु छैनन्?’

‘छ’ भन्दै काउण्टरतिर लम्कीई । तर, लामोसमयसम्म कोही पनि आएनन्।

मलाई ‘हाई’ लाग्यो। हात बीच नै मुख बाउँदै गर्दा एउटा युवतीको चेपारे स्वर मपट्टी आउँदै थियो, ‘साउजी भको बेला मिसकल नगरिस्यो न।’ मेरो ध्यान उतै मोडियो र केहीबेर ध्यान दिएर कुरा सुनिरहेँ। ‘हाई’ पनि नसकिँदै रोकिइसकेको थियो।

स्वर झन् बढ्दै गएपछि मैले ढोकातिर आँखा फालेँ। थाहा भयो, यो त्यही युवती थिई  जो मसँगै रेष्टुरेण्मा छिरेकी थिई र मेरो सर्त पुरा गर्ने कसम खाएकी थिई।

फोनमा बोल्दै उसले हातले ठीक छ हैन? को इशारा गरी।

म प्रतिक्रियाविहिन बसिरहेँ। उसको स्वरको आयतन घट्दै गयो र एकछिनमा बिलायो। त्यसपछि रेष्टुराँ पनि शुन्य भयो। पट्यार झनै बढेपछि म निस्केँ। निस्कँदा कोही पुरुष आवाजमा सोध्दै थियो,’किन तरुनी नै चाहिने हो र?’ म नसुनिकनै हिडेँ। बोल्नेको अनुहार पनि हेरिनँ।

कोठाबाट निस्कँदा त्यस्तो ठाउँ चाहार्न भनेर मैले लामै समय दिने पूर्वयोजना बनाइसकेको थिएँ।  मेरो समय सकिएको थिएन। न, त्यहाँबाट मैले निकाल्न खोजेको कुरा नै निस्केका थिए।

त्यसैले त्यही किनाराको तर, अलि परको रेष्टुराँमा रोजेँ। अनि, भित्र छिरेँ।

काउण्टर छेउमा सोफा राखिएकाले पनि त्यहाँको वातावरण अरु भन्दा भव्य लाग्थ्यो। केटी पनि अरुमा भन्दा धेरै। अलिपरको टेबल ओगटेँ। एउटी अलि मोटीमोटी युवती आई।उसको अनुहार भने निकै राम्रो थियो।

ऊ म बसेको टेबुलको अगाडि आइन् र मेनु देखाई। मेनु देखाउने उसको शैली भने ताज्जुब थियो। टेबलमा कुहिनाले टेक्दा उनका सम्पति प्रष्ट देखिन्थे। गोप्य त के भन्नु? छोपेको भए पो गोप्य भन्नु!

उसलाई त्यत्तिकै राख्ने हो भने मेरो ध्यान त्यही सम्पतिमा मात्र केन्द्रित हुन सक्थ्यो त्यसैले मैले आफू भएतिर आएर बस्न भनें।

ऊ म नजिकै आएर बसी, झण्डै टाँसिएर।

त्यतिबेला स्पर्शको मज्जा लिने सोच पनि नपलाएको होइन! दिमागमा यस्तै विचार चल्दै गर्दा उसले ‘के खाने भन्नुस्’ संवादलले झट्का हान्यो।

मैले लाइट सिग्रेटकै अडान लिएँ।

उनले नभएको संकेत गर्दै मुण्टो हल्लाई मात्र। बोलिन। मलाई सजिलै भयो।

फेरि के खाने जस्ता केरकार गर्दै गर्दा एउटी अर्की युवती आई। रुप राम्रै थियो, आर्यन अनुहारकी। हामी बसेको क्याबिनमा छिर्दै गर्दा उसको आवाज आयो,’भिनाजु!’

 मैले यताउती हेरेँ कोही भिनाजु छ कि भन्दै। उसको दृष्टी मैतिर भएकाले मलाई नै भनेको भन्ने मैले ठम्याएँ। र, सोधेँ,’भिनाजु! कसरी?’ म सँगै भएकी मोटी युवतीप्रति इंगित गर्दै उसले भनी,…उ दिदी भएपछि हजुर भिनाजु भएन त?’

म एकछिन उनीहरुको चालामाला हेर्नतिर लागें। सायद यस्तो रेष्टुराँमा काम गर्नेहरुलाई एउटै तालिम दिइएको हुन्छ। आर्यन  अनुहार भएकी युवतीले पनि मेरो आँखा जाने ठाउँमा कुइना टेकाएर सम्पति देखाउन थाली। उनीहरुले लगाउने कपडाको बनोटमा पनि सायद तालिम दिइएको हुन्छ। सकेसम्म अलिकति निहुरिने बित्तिकै देखियोस्।

यो बिल उठाउने विज्ञापन हो यहाँको।

कुइनो टेबलमै छ। मेरो आँखा पनि सायद उतैतिर हेर्दै केही सोच्दैछन्। प्रश्नले झस्कायो, ‘बियर खानुहुन्छ कि रेडबुल?’

मैले आफूलाई चिसो नफाप्ने बहाना पारेँ र यिनीहरु चैं बाहिर जान मान्छन् कि भन्ने लागेर बाहिर जाने हो भनेर सोधेँ।

पहिला केही खानुस् न अनि कुरा गरौंला नि भन्दै एउटीले फ्रिजबाहिरकै रेडबुल खान कर गरी।

‘यो खाँदा इमोसन पनि बढ्छ।’ मोटी युवतीले तुरुन्तै थपी,’आज हजुर घर जान सक्नुहुँदैन, त्यसैले हामी पनि हजुरले जहाँ भन्नुहुन्छ जान्छौं।’

अलि राम्रीचैंले थपी,’उसले एउटा खान्छ, हजुरलाई एउटा ल्याइदिन्छु। मलाई चैं दिए खाइदिउँला नदिए …………..।’

मैले प्रसंग मोड्न खोजेँ,’तिमी पनि यता आएर बस न।’

बस्न त बस्ने तर, केही चैं खानै पर्ने उनको अडान थियो।

मैले रेडबुलबाहेक यो होटलमा चल्ने के छ भनेर सोधेँ।

मैले सोचेभन्दा बेगर उत्तर आयो,’उसोभए गु………..खाने त?’

मेरो दिमागले तत्कालका लागि दिने उत्तर पाएन। शब्द सम्झनका लागि मैले त्यसबेला टाउको दुखेको बहाना बनाएँ र घोप्टो परेँ। त्यसपछि मेरो टाउकोमा उनको हात दौडिइरहेको चाल पाएँ। मैले टाउको उठाएर दीदी या बहिनी एकजना मात्र बस्न भनेँ। राम्री युवती बाहिर लागी। त्यसपछि मेरो पु्रै टाउको उठ्यो र ज्यान पनि तनक्क सिधा भयो। शरिरमा जोश भरिएको जस्तो भयो। त्यही मौकामा सोधेँ,’बाहिर जाने हो?’

उसले नजानेको संकेत गरी र भनी,’केही लिनुस् नत्र हाम्लाई कराउँछन्।’ (बाहिर के अर्डर भयो भन्दै कराएको सुनिँदै थियो।)

मलाई अझै समय बिताउनु थियो। त्यसैले मेनु हेर्दै बोलेँ,’सप्पै महँगो रैछ।’

मसँग भएकीलाई रिस उठेछ। ऊ फन्किँदै बाहिर निस्किई। मैले एकछिन भन्दा पनि रोकिइन।

त्यसपछि त्यो कोठामा म एक्लै भएँ। च्यापुलाई हातमा अड्याएँ। त्यत्तिकैमा वनपिस पहिरिएकी यवुती भित्र पसेर सोधी,’के भयो?’

मैले टाउको दुख्यो भनेँ। उनले अर्को मसाला थपी। टाउको सुमसुम्याउँदै भनी,’के भयो मेरो सोल्टालाई?’

मेरो आँखा उनको अनुहारतिर पुग्यो। अनुहार कालो थियो। शरिरमा लगाएको रातो वनपिस फिटिक्कै सुहाएजस्तो लागेन। तै पनि सोधिहालेँ,’बाहिर जाने हो?’ सायद उनलाई पनि लाग्यो, यो सोल्टा पनि खिच्चा’ रैछ। त्यसपछि केहीबेरमा कुरा गर्ने भन्दै बाहिर निस्किई।

ऊ बाहिर पुगेपछि अघिकी राम्री तर अश्लिल बोल्ने केटी आई र ‘के खाने छिटो भन्नुस्’ भन्दै धम्कीको स्वरमा बोली।

मैले सिधा जवाफ दिएँ, ‘बाहिर लैजान पाइन्छ कि पाईंदैन? त्यसो हो भने केही खाउँला नत्र नखाने।’

उनले पनि सिधै जवाफ दिई,’यहाँ सप्पै प्याक छन्!’

‘तिमी पनि?’ मैले सोधेँ।

‘मेरो आफ्नै बुढो छ यहीँ।’ उसले मलाई धपाउने सजिलो उपाय त्यही थियो। किनकी मलाई ऊ अविवाहित छे भन्ने लाग्दै थियो।

त्यसो भए म बाहिर निस्कन्छु  भन्दै म त्यहाँबाट जुरुक्क उठेँ। मेरो मनमा कता कता विजयको भाव आइरहे जस्तो लाग्दै थियो र कतै लाज!

बाहिर निस्कने बाटोमा किचन थियो। मैले किचनको छेउको एउटा मुढामा बसेकी आमाको दूध भर्खरको कलिलो बच्चाले चुसिरहेको देखेँ। तत्कालका लागि म भावशुन्य भएँ। बाहिर निस्कँदा यतिबेलासम्म त्यत्रा रेष्टुराँ चाहार्दा भेटेका केही कुरा दिमागमा चलेनन्। बच्चा मात्र दिमागमा आइरह्यो। र, उसले चुसिरहेको स्तन दिमागमा घुमिरह्यो।

बाहिर गाडीका हर्नहरुसँगै मेरा दिमागमा दर्जन प्रश्न तेर्सिए,’के मैले चुसेको आमाको दूध पनि त्यो बच्चाले चुसेजस्तै होइन? के मैले जानेको सभ्यता त्यही स्तनबाट पग्रिने दूधसँगै भित्रेका होइनन्?’

यो उमेरमा म केही खोज्न जाँदा जुन बच्चालाई देखेँ, त्यो बच्चा मेरो उमेरमा पुग्दा के गर्दो होला?

Source:Setopati

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.