कर्मचारी शिष्ट नभएको र सुरक्षाकर्मीले नमस्कार नगरेको गुनासो
काठमाडौं, असार २२ – परराष्ट्र सेवाका कर्मचारीले आफूहरूलाई सम्मान नगरेको भन्दै सभासदले गुनासो गरेका छन् । कर्मचारीले शिष्ट र त्यहाँका सुरक्षाकर्मीले नमस्कार समेत नगरेको भन्दै संसदका दुई मुख्य समितिमा सभासदले गुनासो गरेका हुन् ।समितिमै सभासदहरुले आफ्ना कर्मचारीको व्यवहारमाथि प्रश्न चिन्ह खडा गरेपछि परराष्ट्र मन्त्रालयले शिष्टता सम्बन्धी एक पत्र नै आफू मातहतको कार्यालयमा पठाएपछि कूटनीतिक सेवाका कर्मचारी आश्चर्य चकित भएका छन् ।
राज्य व्यवस्था र अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा सभासदले ‘जनताको प्रतिनिधिलाई समेत सम्मान नगर्नेले कर्मचारीले जनतालाई के गर्लान् ?’ भन्दै आलोचना गरेपछि परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले ‘कर्मचारीबाट कतै भुल’ भएको भएभन्दै उनीहरुको तर्फबाट माफ मागेका थिए । मन्त्री पाण्डे समितिको बैंठक सके लगतै मन्त्रालय पुगेपछि सबै मातहतलाई पत्राचार गरेका हुन् ।
नेपालको कूटनीति सञ्चालनको मियो हो- परराष्ट्र मन्त्रालय । अब्बल र खारिएका व्यक्तिमात्र उक्त मन्त्रालयमा आउँछन् भन्ने विश्वास गरिन्छ । निजामतिका अन्य सेवाकाले भन्दा थप दुईवटा परीक्षा (कूटनीति र अंग्रेजी) उत्तीर्ण गरेरमात्र यो सेवामा प्रवेश गर्न पाइन्छ । यस्तो सेवामा रहेका कर्मचारीहरुलाई कूटनीतिक प्रशिक्षण पनि हुने गर्छ । तर, सेवा र यसको कामको प्रकृतिमा तालमेल नहुँदा केही कर्मचारी रुष्ट हुनु स्वभाविक मानिन्छ । ‘कूटनीति भनेको कसैलाई हाँसी–खुशी बनाएर नर्क लैजान पनि तयार पार्नु हो ।’ यस्तो सेवामा रहेका कर्मचारी रुष्ट र रुखो भएको भन्दै परराष्ट्र नेतृत्वले लिखित पत्राचार गर्दै शिष्ट हुन निर्देशनमात्र गरेको छैन कार्यसम्पादनमा शिष्टताको समेत मुल्यांकन हुने उल्लेख गरेको छ ।
परराष्ट्र मन्त्रालय अन्तर्गत रहेका सबै नियोग (विदेश स्थित २९ राजदूतावास सहित ३५ नियोग), कन्सुलर विभाग, राहदानी विभाग र मन्त्रालयको महाशाखा अन्तर्गतका सबै कूटनीतिक कर्मचारीहरुलाई शिष्ट र मर्यादित हुन मन्त्रालयले आइतबार लिखित पत्राचार नै गरेको हो । मन्त्रालयले पठाएको पत्रमा भनिएको छ, ‘यस मन्त्रालय अन्तर्गतका निकायमा कार्यरत कर्मचारीहरुबाट सेवाग्राहीप्रति शिष्ट व्यवहार प्रदर्शन हुने नगरेको एवं सांसद लगायत संवेधानिक निकायका पदाधिकारीहरु, नेपाल सरकारका विशिष्ट एवं उच्चपदस्थ अधिकारी कार्यालय आउँदा तथा अन्य समारोहमा भेटघाट गर्दा उनीहरुप्रति सम्मान प्रकट हुने नगरेको सम्बन्धमा व्यवस्थापिका संसदको समितिमा नै कुरा उठेको हुँदा सेवाग्राही प्रति संयमित, अनुशासित एवं मर्यादित भएर शिष्ट व्यवहार गर्न तथा माननिय सांसद तथा उच्चअधिकारी भेट हुँदा सम्मान प्रकट गर्ने व्यवस्थाका लागि निर्देशन गरिएको छ ।’
शिष्ट र मर्यादित व्यवहार गरे नगरेको सम्वन्धमा मन्त्रालयबाट अनुगमन समेत गरिने तथा सोको आधारमा कर्मचारीको कार्यसम्पादन मुल्यांकन समेत गरिने व्यहोरा निर्देशन अनुसार गरिएको प्रशासन प्रमुख दुर्गाबहादुर क्षेत्रीद्धारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
अशिष्ठ रहेकालाई मन्त्रालयले कारबाही गर्न पर्नेमा सबैलाई यस्तो निर्देशन गरेको भन्दै मन्त्रालय कर्मचारीले मन्त्रालय नेतृत्वबाट सबै कर्मचारीको मानमर्दन गरेको भन्दै यस्तो निर्देशनले काममा निरुत्साहित बनाएको बताएका छन् ।
यसरी सबै कर्मचारीलाई एउटै बास्केटमा रोखेर दिइएको यो निर्देशन प्रति कर्मचारीहरुले मन्त्रालय नेतृत्वले आफ्नो मानमर्दन गरेको भन्दै शिष्ट नरहेका कर्मचारीलाई कारबाही गर्न आग्रह गरेका छन् ।
यस्तो निर्देशनले आफूहरु मात्र नभएर समग्र कूटनीतिक सेवा लज्जित भएको र अनुगमनको नाममा भ्रमण बढाउने र साना कर्मचारीलाई थप दुख दिने योजना बनाएको हुनसक्ने अधिकारीले उल्लेख गरे ।
मन्त्रालयले अशिष्ट रहेको कैयन उदाहरणहरु हुँदा र पत्रपत्रिमा त्यस्ता व्यक्तिको समाचार आउँदा समेत कारबाही नगरेको तर अहिले सबैलाई त्यस्ता संरक्षित व्यक्तिहरुसँग नै दाजेर पत्राचार गर्नुले सेवा नै लज्जित भएको छ ।
Source : ekantipur.com/np