गास हैन बास भए पुग्छ


कञ्चन अधिकारी
relief_material_Maidi_Dhading_2_20150520091252काठमाडौ, जेष्ठ ६ – बैशाख १८ गते बेलुकी धादिङ मैदी-१ का मुरलीमोहन अधिकारीको घरमा चुलो बलेन । साँझ मैदीकोटबाट घामले नेटो काटिसकेको थियो । पश्चिमतिर कालो बादल मडिरिँदै थियो। बादलसँगै हुरीबतास र चड्कने (चट्याङ) पनि सँगै पर्न थालेको थियो । बैशाख १२ गते गएको भूकम्पले घर भत्कएपछि त्रिपालमुनि बसेका उनको परिवारको साँच्चै विजोग त्यो बेला भयो, जतिबेला डाँडामा साइसाइ र सुइँसुइँ गर्दै हुरीबतास चल्न थाल्यो । उनको त्रिपाल उडाएर लैजाउँला जस्तै गरि धूलो उडाउँदै हुरी आयो । एकातिर उनका छोरा त्रिपाल समाउँथे । अर्कोतिर नाति, तेस्रो छेउमा आफू । उडाएर लैजाउँला जसरी आएको हुरीले उनको परिवारको भूकम्पले भन्दा झन् कन्तविजोग बनायो ।

साँझ सात बजिसकेको थियो। हुरिबतास अझै रोकिने छाँटकाँट नै भएन । हुरिबताससँगै पानी पर्न पनि थाल्यो । उनी भन्छन्, ‘घर त भूइँचालोले लग्यो नै बल्लतल्ल पाएको त्रिपाल पनि हुरीबतासले उडाउँला भन्ने सधैँ त्रास नै त्रास भयो। आगो त के सलाइसमेत कोर्न सकिएनँ ।’ हुरिबतासले आकासमुनिको भान्सामा आगो बाल्न नसकेपछि त्यो रात चिउरा खाएर उनको परिवार त्यसै सुते ।

मुरलीमोहनलाई जस्तै हुरीबतास र असिनापानीले गाउँलेलाई पिरोल्न थालेको छ । अधिकारी भन्छन्, ‘एक दिन मात्रै होइन । आकाशमा गड्याङ गुडुङ गरेर मेघ गर्जन थाल्छ । मनमा चिसो पसेर आइहाल्छ । कहिले हुरीले त्रिपाल उडाउँला भन्ने चिन्ता कहिले असिनाले त्रिपाल प्वाल पार्ला भन्ने ।’

गाउँमा राहातका नाममा दिनैजसो चामल, चाउचाउ, दाल, तेल, त्रिपाल आइरहन्छ । तर बस्नको लागि बलियो केही सामाग्री नआउँदा गाउँलेहरुमा वर्षा कसरी काट्ने भन्ने पिरलो थपिएको छ ।

अर्का स्थानीय दिलबहादुर खुलाल खाने रासन भन्दा पनि लाग्दै गरेको बर्खालाई लक्षित गरेर केही राहात ल्याइदिए हुने बताउँछन् ।

मैदीमा धनको क्षति भएको छ, तर ज्यानको क्षति भएको छैन । करिब २३ सय घरधुरी रहेको मैदीमा करिब एकसय घर मात्रै बस्न योग्य छन् । ‘भत्किएका छैनन् तर बस्न हुँदैनन् । चर्किएर भित्र जानै हुँदैन,’ उखुबारीमा पसल गर्दै आएका ठाकुरप्रसाद लम्साल भन्छन् ।

गाउँलेहरुलाई सबैभन्दा ठूलो चिन्ता बर्खाको छ । घर बनाउँ सामान किन्न पैसा छैन । पैसा छ, सामान पाइँदैन । पैसा पनि छ, सामान पनि छ, तर बनाइदिने मजदुर छैनन् ।

टन्टलापुर घाम लागेर अहिले पालभित्रै बस्न सकिन्छ भन्ने मानसिकता भएपनि बर्खा लागेपछि आउने झरी, जुका, सर्प, लामखुट्टेको भय उत्तिकै छ ।

घर भत्केर पालभित्रै सुतिरहेका दलबहादुर विक भन्छन्, ‘अहिले त घाम लागेको छ । तर रातदिनै पानी पर्न थालेपछि कसरी बस्ने भन्ने कुराले सताउन थालेको छ ।’

खाने कुरा सबैको घरमा छ । घर भत्कएकाले जसोतसो धान र मकै निकालिसके । नभत्किएकाले घरमै सुरक्षित ठानेर राखेका छन् । उनीहरु भन्छन्, ‘चाउचाउको पोका हैन हामीलाई जस्ता, ब्लक, डन्डी लगायतका घर बनाउन चाहिने सामाग्री चाहिएको छ ।’

राहत सकैले पाए कसैले पाएनन् राहत सबैलाई सामान वितरण तथा पीडितलाई पुगोस् भनेर मैदीमा तीनदलीय संयन्त्रका सदस्य बनाएर बाँडिरहेका छन् । तर स्थानीयले भने गुनासो गरिरहेका छन्- पार्टीगत हिसाबले तीनदलीय संयन्त्रका सदस्यले आफ्ना र पार्टीको नजिकका व्यक्तिलाई राहत बाँडिरहेका छन् । तर संयोजकहरु भने अरु पार्टीका मान्छेले दोष थुपारेको बताउँदै आएका छन् ।

दिनकै राहत लिन दौडेको दौड्यै गाउँमा अहिले दोहोरो मकै गोड्ने बेला भएको छ, कोदोको बीउराख्ने बेला भएको छ, धानको बीउ राख्ने समय भएको छ । तर गाउँलेहरु मकै नगोडी, बीउ नराखी राहत लिन भन्दै दिनकै गाविस कार्यालय सातदोबाटोमा धाउने गरेका छन् । अधिकांश पुरुष रोजगारीका लागि देश र विदेश पसेकाले अहिले गाउँमा बुढाबुढी र महिलाहरु बढी छन् । उनीहरु नै राहत भन्दै दौडिरहेका छन् । एकजनाले त यस्तोसम्म भन्न भ्याए कि- राहत भनेर दौडदा दौडदै भैसीको दूध नै सुकिसक्यो। उनी भन्दै थिए, ‘राहत लिन भन्दै दौडेपछि घाँस नै खान पाएन । त्यसैले दूध नै सुक्यो ।’

यसरी हिँडेर जाँदैमा सबैले राहत भने पाउँदैनन् । सोमबार एड्रा नामक गैर सरकारी संस्थाले चार ट्रक त्रिपालसहित आवश्यक सामाग्री बाँड्न लगेको थियो। उनीहरुले पहिला त्रिपाल पाइसकेकालई नदिने र एकचोटी पनि नपाएकालाई दिने भनेर लगेका थिए । एड्राका कर्मचारीका अनुसार मंगलबार १, २, ४, ५ र ६ वडाका ५ सय ४४ घर धुरीलाई दिन लगेका भए पनि त्रिपाल पाउने आशमा सबै वडाका गाउँले पुगेका थिए ।

दिएको त्रिपाल पाएर कोही मख्ख थिए भने कोही नपाएको झोकमा वडा संयोजकलाई ‘कारबाही गर्ने’ भन्दै कराइरहेका थिए ।

त्रिपाल धान सुकाउन पनि काम लाग्छ त्रिपाल लिन गएका कतिपय स्थानीयले एउटा मात्रै किन ? दुइवटा भए हामीलाई काम लाग्छ भन्दै त्रिपाल लिन पुगेका थिए । धान, मकै लगायतका अन्नबाली सुकाउन हुन्छ भन्दै त्रिपाल लिन स्थानीय पुगेका थिए । एउटा पाइसकेपछि पनि गाउँमा ‘अरु’ कामको लागि पनि त्रिपाल काम लाग्छ भन्दै लिन जानेको ओइरो नै लागेको थियो ।

यसैगरी खाद्यन्न पनि यो बर्खामा रोपाइँ गर्दा खाजा हुन्छ भन्दै लिन जाने पनि भेटिए । घर नलडेका तर खाद्यन्न केही नभएकाहरु पनि घन्टौं लाइन बसेर चामलको बोरा बुझिरहेका छन् ।

धेरै गाउँलेहरुले बर्खामा खाजा हुन्छ भन्दै खाद्यान्न सामाग्री लिन गएका थिए । एड्राले बाँडेको रारा चाउचाउ’bout एकजना स्थानीयले भने, ‘अहिले चाउचाउ कस्ले खाने ? बरु बर्खामा काम गर्दा खेतालालाई खाजा दियो आनन्द !’

दसैंमा जस्तो माहोल वर्षमा एकचोटी मात्रै घर पुग्ने धेरै परिवार भूकम्प गएपछि गाउँमा भेटिन्छन् । पढाइ, व्यापार तथा रोजगारको सिलसिलामा गाउँ छाडेकाहरु अहिले गाउँमा भेटिन्छन् । ‘अहिले दसैं जस्तै भएको छ । दसैं बेगर अरुबेला नआउने आका छन्,’ स्थानीय खुलाल भन्छन् ।

भूकम्पको जोखम सहरमा भन्दा गाउँमा कम हुने तथा सहरका स्कुलहरु बन्द भएपछि परिवार नै लिएर गाउँ पुगेका हुन् । दसैंमात्रै छोराबुहारी, नातिनातिका मुख देख्ने बुबाआमाले अहिले नै देख्न पाउँदा घरमा खुशी छाएको छ ।

छुट्टिएर बसेका छोराबुहारी सँगै भूकम्पले गाउँमा एकता पनि ल्याएको छ । आमाबुबा, दाजुभाइसँग बस्न नसकेर २० औं वर्ष पहिले छुट्टिएर बसेकाहरु अहिले एउटै त्रिपाल मुनी बस्न थालेका छन् ।

खान आफ्नै भन्सामा खाए पनि बस्न एकै ठाउँमा बस्दा सबै खुशी देखिन्छन् । ‘आखिरमा बाआमाको काख भनेको काख नै हो,’ १० वर्षअघि छुट्टिएर बसेका छोरासँगै बसेपछि खुशी हुँदै जीवनाथ अधिकारीले भने ।(कान्तिपुर अन्लाईन )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.