अतुल मिश्र
काठमाडौ, वैशाख ६ – जाजरकोटमा शनिबारसम्म उपचारका लागि आएकामध्ये करिब एक चौथाइमा रुघाखोकी जस्तो इन्फ्लुएन्जाको लक्षण देखिएको छ । त्यहाँबाट एक साताअघि ल्याइएको थुकको नमुनामध्ये एक चौथाइमा यसअघि नै स्वाइन फ्लुको संक्रमण पाइएको थियो ।
शनिबारसम्म जाजरकोटमा विभिन्न शिविरहरूमार्फत ३ हजार ८८ जनाको स्वास्थ्य परीक्षण गरिएको हो । तीमध्ये करिब एक चौथाइमा इन्फ्लुएन्जाको लक्षण देखिएको हो । ‘२५ प्रतिशतमा इन्फ्लुएन्जा र बाँकी ७५ प्रतिशत बिरामीमा अन्य रोगको लक्षण देखिएको छ’, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले भने ।
स्थानीय स्वास्थ्यकर्मीहरूले चाहिँ सबभन्दा बढी श्वासप्रश्वासकै बिरामी रहेको जनाएका छन् ।
‘शनिबार उपचारका लागि आएका ६७ जनामध्ये करिब ४५ जना श्वासप्रश्वासका रोगी थिए,’ टालेगाउँ स्वास्थ्य चौकीका इञ्चार्ज पेम्वा दोर्जे लामाले टेलिफोनमा भने, ‘उनीहरूमा रुघाखोकी, ज्वरो, हात, खुट्टा र टाउको दुख्ने, कसैकसैमा वाकवाकी लाग्नेसमेत लक्षण देखियो ।’
स्वाइनमा रुघाखोकीजस्तै नाकबाट पानी बग्नु, हाच्छिउँ आउनु, खोकी लाग्नु, तीव्र ज्वरो देखिनु, औषधि खाँदासमेत ज्वरो नघट्नुलगायत लक्षण देखिने गर्छ । यस्तै पखाला लाग्नु, बान्ता हुनु, घाँटीमा खसखस लाग्नु र यो बढदै जानु, तीव्र टाउको दुखाइ, मांसपेसी दुख्नुसहित धेरै बढी थकाइ लाग्नु पनि यो रोगको लक्षण हुन् ।
जाजरकोटका विभिन्न गाविसमा देखिएको स्वाइन फ्लु संक्रमणको लक्षण काठमाडौंवासीले अनुभव गरेका भन्दा अलि फरक छ । डा.मरासिनीका अनुसार स्वाइनबाट संक्रमित जाजरकोटवासीहरूले
जीउ झमझमाउने समस्यासमेत सुनाएका छन् भने काठमाडौंको संक्रमण भएकाहरूमा यो लक्षण देखिएको थिएन ।
काठमाठौंका केही स्वाइन संक्रमितमा पखालाको समस्यासमेत देखिए पनि जाजरकोटमा त्यो छैन । इपिडिमियोलजीले जाजरकोटमा प्रकोप फैलिएका ठाउँहरूमा हालसम्म २४ जनाको मृत्यु भइसकेको जनाएको छ । स्वाइन फ्लुको समयमै उपचार गराएमा निको हुन्छ । लापरबाहीलगायत ढिलो उपचार गर्नाले मृत्यु हुने सम्भावना बढी हुन्छ ।
‘सामान्य रुघाखोकीबाट सुरु हुने स्वाइन फ्लुका बिरामीलाई सास फेर्न असजिलो हुने वा निमोनियासम्मको स्थिति कुनुपर्ने छैन,’ शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले भने । स्वाइनको अति कडा अवस्थामा रोगीहरूलाई भेन्टिलेटरसँगै अन्य जीवनरक्षक चिकित्सकीय उपकरण र उपचार प्रक्रिया आवश्यक हुन्छ । जाजरकोट जस्तो विकट ठाउँमा ती सुविधा उपलब्ध छैनन् ।
कसरी फैलिन्छ
स्वाइन र रुघाखोकी फैलिने
प्रक्रिया एउटै छ । स्वाइन फ्लुको भाइरस मुख्य रूपमा संक्रमित
व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा,
बोल्दा मुखबाट निस्किने पानीका स-साना कणहरूको माध्यमले वातावरणमा फैलिन्छ ।
संक्रमित व्यक्तिको एक मिटर दूरीमा भएका स्वस्थ व्यक्तिले पानीको कणमा भएको भाइरसलाई श्वासप्रश्वासको माध्यमले आफ्नो शरीरभित्र ग्रहण गर्दा संक्रमण हुन्छ ।
संक्रमित व्यक्तिले उपयोग गरेको फोन, कम्प्युटरको किबोर्ड लगायत सरसामान, ढोकाको हयान्डल, बसभित्र समात्ने पाइप आदिलाई स्वस्थ व्यक्तिले छुँदा यो भाइरस सर्छ । स्वाइनको भाइरस शरीरमा गएको एकदेखि सात दिनभित्र शरीरमा यो रोगको लक्षण देखिन सक्छ । (कान्तिपुर अन्लाईन )