द्वन्द्वग्रस्त यमनबाट नेपालीको उद्धार गरिँदै


सुरेन्द्र पौडेल
काठमाडौं-सरकारले द्वन्द्वग्रस्त मध्यपूर्वी राष्ट्र यमनमा रहेका नेपालीको खोजी तथा उद्धार कार्य सुरु गरेको छ। द्वन्द्व चर्कंदै गएर त्यहाँको सुरक्षा स्थिति नाजुक बनेपछि अन्य देशसँगै नेपालले पनि आफ्ना नागरिकको खोजी र उद्धार थालेको हो। यमन हेर्ने जिम्मेवारी पाएका साउदी अरबस्थित नेपाली दूतावासका अनुसार सोमबार साँझसम्म यमनमा रहेका ११ नेपाली सम्पर्कमा आएका छन्। ‘सम्पर्कमा आएका ११ नेपालीलाई उद्धार गरी नेपाल पठाउन पहल सुरु गरिसकेका छौं,’ साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले नागरिकसँग टेलिफोनमा भने, ‘विभिन्न माध्यममार्फत अरू नेपालीको पनि खोजी गरिरहेका छौं।’

यमनमा हाउथी विद्रोहीले राष्ट्रपति अब्दुल्लाह मन्सुर हादीविरुद्ध आक्रमण गरेका थिए। आक्रमणपछि राष्ट्रपति हादी भागेर साउदी अरब पुगेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। द्वन्द्व चर्किएर राष्ट्रपति नै भाग्नुपर्ने अवस्था आएपछि केही दिनयता साउदी अरबले यमनमा हवाई आक्रमण गरिरहेको छ। यमनका राष्ट्रति हादीकै अनुरोधमा साउदीले हाउथी विद्रोहीमाथि आक्रमण गरेको जनाइएको छ।
द्वन्द्वका कारण संयुक्त राष्ट्रसंघले पनि त्यहाँ रहेका आफ्ना कर्मचारीलाई अन्यत्र सारेको छ भने छिमेकी राष्ट्र भारत र पाकिस्तानले पनि आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सारी स्वदेश फर्काउन थालेका छन्।
राजदूत पाण्डेका अनुसार राजधानी साना र अर्को ठूलो सहर एजेन्टमा रहेका नेपाली मात्र सम्पर्कमा आएका छन्। यमनको लुलु हाइपर मार्केटमा एकै ठाउँ रहेका अनिल विश्वकर्मा, मनोज भट्टराई, लोकबहादुर गोदार लगायत पाँच जना सम्पर्कमा आएका छन्।
उनीहरूलाई भारत हुँदै नेपाल पठाउन लागेको राजदूत पाण्डेले जनाए। ‘हाइपर कम्पनीको म्यानेजर भारतीय नागरिक रहेछन्, उनले त्यहाँ कार्यरत अन्य भारतीयसँगै नेपालीलाई पनि उद्धार गर्ने जानकारी आएको छ,’ पाण्डेले भने।
यमनस्थित प्रोग्रेसो नामक बेलायती गैरसरकारी संस्थामा कार्यरत प्रचण्डमान श्रेष्ठ र उनकी पत्नी जानकी पनि साउदीस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन्। उनीहरूलाई बेलायतले नै उद्धार गर्ने प्रक्रिया सुरु गरेको छ।
यमनको एक सिमेन्ट उद्योगमा कार्यरत खुमानन्द पौडेल भने आफू सुरक्षित रहेको बताउँदै स्वदेश फर्कन मानेका छैनन्। उनले सिमेन्ट उद्योगमा आँफूसँगै ८९ जना भारतीय कामदार रहेको जानकारी गराएका छन्। अप्ठेरो परे भारतीय कामदारसँगै आफ्नो पनि उद्धार हुने जानकारी दूतावासलाई गराएका छन्।
यमनस्थित ग्रान्ड होटलमा कार्यरत भगवानदास श्रेष्ठ र गुणराज श्रेष्ठ नेपाली दूतावासको सम्पर्कमा आएका छन्। उनीहरूले आफ्नो उद्धार गर्न दूतावासलाई आग्रह गरेका छन्। दूतावासले उनीहरूलाई लुलुमा रहेका अन्य नेपालीसँग सम्पर्क गराएको छ।
यमन वैदेशिक रोजगारका लागि नेपालले खुला गरेको राष्ट्र भए पनि त्यहाँ अन्य मध्यपूर्वी राष्ट्रमा जस्तो नेपाली नपुगेको राजदूत पाण्डेले जनाए। ‘तर, यमनमा कति नेपाली छन् भन्ने आधिकारिक तथ्यांक छैन,’ उनले भने, ‘यमनमा ठूलो संख्यामा नेपाली छैनन्।’
भारतले सोमबार आफ्ना नागरिकको उद्वारमा १ सय ८० सिट क्षमताको एयरबस ए–३२० विमान मस्कट हुँदै यमनको राजधानी साना पठाएको छ। साउदीले यमनमाथि हवाई आक्रमण सुरु गरेपछि त्यहाँका धेरै विमानस्थल बन्द गरिएको छ। यमनमा भारतीय मात्र ३ हजार ५ सय भन्दा बढी रहेका छन्। यमनका अधिकांश ठाउँ सिया हाउथी विद्रोही तथा पूर्वराष्ट्रपति अली अब्दुल्ला सालेहका वफादार सेनाको कब्जामा छन्। उनीहरूले राष्ट्रपति हादीलाई यमनबाट लखेटेका हुन्। हादीले विद्रोहीलाई इरानले सहयोग गरिरहेको आरोप लगाएका छन्।(नागरिक न्युज )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.