गाँजा खाएर शिवजी बन्ने भए मसानघाटमा सुतौं


आचार्य लक्ष्मण भण्डारी

Sangaहिन्दु धर्मदर्शनअनुसार भगवत् शक्तिका प्रमुख तीन आयाम छन् । ती आयाम हुन्-सृजन शक्ति, पालन शक्ति र संहार शक्ति ।संसारमा जति पनि विषय, प्राणी, जीव, कीटपतङ्ग आदि जन्मन्छन् ती सबै सृजन शक्तिका परिणाम हुन् । संसारमा जन्मिएर हुर्कने, बढ्ने र पालित-पोषित हुने काम हामी पालन शक्तिका माध्यमले गर्दछौँ । त्यस्तै, समय पुगेपछि समाप्त भएर जाने काम संहार शक्तिको प्रभाव हो ।

सृजनशक्तिलाई ब्रहृमशक्ति पनि भनिन्छ । ब्रहृमशक्तिका देवता ब्रहृमाजी हुन् । त्यस्तै पालनशक्तिका देवता भगवान् विष्णु हुन् । त्यसैअनुुुुरूप संहार वा विनाश शक्तिको नाम शिव हो । अनि संहार वा विनाश शक्तिका देवता भगवान् शिव हुन् ।यसप्रकार ब्रहृमा, विष्णु र महेश क्रमशः सृजन्, पालन र संहार शक्तिदेवका रूपमा सदा आराध्य र पूज्य रहेका छन् ।

शिवको अर्थ कल्याण हो । त्यसैले भगवान् शिव कल्याणका प्रतिमूर्ति हुनुहुन्छ । अब प्रश्न उठ्न सक्छ, के विनाश वा संहार गर्ने पनि भगवान् हुन सक्छ ? कसैलाई वा कुनै वस्तुलाई नाश गरेर पनि कल्याण हुन्छ त ? वा विनाश वा संहार पनि कुनै शक्ति हुन सक्छ ? यी प्रश्नहरूमाथि एकछिन विचार गरौँ ।

संसार परमात्माको अस्तित्वले व्याप्त छ । भगवान् सर्वत्र व्याप्त हुनुहुन्छ । दिनरात, असल-खराब, कीट-मनुष्य, पशु-वनस्पति सबै भगवद्शक्तिकै परिणाम हुन् । त्यसैले, परमात्मा जीवनमा हुनुहुन्छ भने मृत्युमा पनि हुनुहुन्छ, सिर्जनामा हुनुहुन्छ भने विनाशमा पनि हुनुहुन्छ ।

दोस्रो, संसारमा मानिसको यदि जन्म मात्रै हुन्थ्यो र कसैको मृत्यु हुँदैनथ्यो भने के हुन्थ्यो होला ? बोटबाट समय पुगेका र पहेँला भएका पातहरू नझर्ने हो भने नयाँ पालुवाले कहिले र कहाँ स्थान पाउन सक्छन् त ? नयाँको आगमनका लागि पनि पुराना र समय पुगेकाको विनाश वा समाप्ति अनिवार्य आवश्यकता हो ।

यसरी समय पुगेपछि पनि जबर्जस्ती बोझको जीवन बाँचिरहेकालाई मृत्यु वा विनाशको अस्त्र प्रयोग गरी बोझमुक्त गर्नु अनि नयाँ र सुनौला जीवनका लागि मार्गप्रशस्त गर्नु के कल्याणको कुरा होइन र ?

हामी कति सजिलै भनिदिन्छौँ- शिवजी भगवान् भएर त गाँजा, भाङ र धतुरो खान्छन् भने हामीले किन नहुने ? त्यसो भए हामी मसानघाटमा गएर सुतौँ न त ! गोरूमा चढेर, सर्पको माला लगाएर, बाघको छाला ओढेर बाँच्न हामी किन सक्दैनौँ ?

तेस्रो, विनाश पनि एउटा विशुद्ध शक्ति हो । कुनै पनि कुरा समाप्त गर्न शक्ति चाहिन्छ, साहस र हिम्मत चाहिन्छ । संसारका सबै कामहरू विनाशक्ति सम्पन्न हुन सक्दैनन् । यदि सबै क्रियाका लागि शक्तिको आवश्यकता हुन्छ भने संहारका लागि पनि त शक्ति चाहियो । त्यसैले, संहार शक्तिका रूपमा भगवान् शिव पूज्य र वन्दनीय हुनुभयो ।

भगवान्को उद्देश्य केवल कल्याण हो । जगतको मङ्गल र सहज सञ्चालनबाहेक परमात्मा शक्तिको अर्को कुनै स्वार्थ देखिँदैन । यस्तो किसिमको पवित्रतम प्रयत्न गर्ने भएर नै हामी यी शक्तिलाई भगवान्का नामले सम्बोधन गर्दछौँ, पुज्दछौँ र वन्दना गर्दछौँ । जोसँग दोषहरूलाई पनि खारेर गुणमा बदल्ने शक्ति छ, ऊ नै कल्याणका लागि योग्य बन्न सक्छ ।

उसका अगाडि सबै दोष, पीडा, भय, असुरक्षा, तनाव र विसङ्गतिहरू पनि कमजोर हुन्छन् । ती सम्पूर्ण नराम्रा शक्तिलाई दास बनाएर तिनको प्रभावबाट मुक्त रहन सक्ने क्षमता भएर नै भगवान् शिव कल्याणका देवता बन्न सक्नुभयो । भगवान् शिवको स्वरूप पनि निकै अर्थपूर्ण छ । उहाँ विचित्र नकारात्मक विषयका समन्वयकर्ता हुनुहुन्छ ।

जो स्वयम् पीडा र कष्टहरूबाट पीडित हुन्छ, उसले कसरी अरुलाई दुःख पीडामुक्त गर्न सक्छ ? किमार्थ गर्न सक्दैन । अरुलाई नकारात्मक विषयको प्रभावबाट मुक्त गर्नका लागि उसले सबैभन्दा पहिले समस्त नकारात्मक विषयहरूलाई प्रभावहीन तुल्याउन सक्नुपर्दछ ।शिवजीको रहस्यभगवान् शिव सर्पको माला लगाउनुहु्न्छ, त्रिशूल हातमा लिनुहुन्छ, बाघको छाला लगाउनुहुन्छ, मसानघाटमा बस्नुहुन्छ, चिताको भष्म लेपन गर्नुहुन्छ र गोरूमाथि सवार गर्नुहुन्छ । यी सबै गर्नुपछाडिको रहस्य के हो ?

सर्प समय अर्थात् कालको सूचक हो । समयले शिवलाई कहिल्यै डस्न सक्दैन । भूत, भविष्यत् र वर्तमानको सीमारेखादेखि माथि भगवान् शिव निवास गर्नुहुन्छ । यसरी काल अर्थात् जन्म-मरणको चक्रलाई पनि जितेर त्यसलाई आफ्नो शरीरको गहनाका रूपमा प्रयोग गर्न सक्नुपर्दछ भन्नु भगवान् शिवको सन्देश हो ।

त्रिशूल अर्थात् भौतिक, आध्यात्मिक र दैविक तापबाट मुक्त हुनुपर्ने शिवको अर्को सन्देश हो ।
भय अर्थात् बाघले शिवलाई हानी गर्न सक्दैन, सेवा गर्छ । बाघलाई अर्थात् भयलाई जितेर त्यसमाथि शासन गर्न सक्ने हो भने मात्र जीवन सुखमय हुनसक्छ भन्नु भगवान् शिवले बाघको छाला धारण गर्नुको अर्को अर्थ हो ।

शिव मसानघाटमा बस्नुहुुन्छ । मसानघाट सबै सांसारिक वा भौतिक आग्रह, अस्तित्व र अहङ्कार सामाप्त पार्ने ठाउँ हो । मसानघाटमै संसार खरानीमा परिणत हुन्छ र त्यहाँबाट वैराग्यमार्फत् आध्यात्मिक जीवनको आरम्भ हुन्छ । त्यही वैराग्यले नै शिव अर्थात् कल्याणको प्राप्ति सम्भव छ । भौतिक नश्वरताको बोध नभएसम्म ईश्वरीय चैतन्यको उदय हुन सक्दैन । त्यसैले, आऊ, सबै सांसारिक अहम्लाई समाप्त गर र त्यसमार्फत् प्राप्त वैराग्यका बलले दैवी शक्तिको दर्शन गर भन्नु शिवको श्मसान बासको अर्थ हो ।

सांसारिक भ्रम अर्थात् मायालाई जलाएर नै बचेको खरानी अर्थात् वैराग्यको प्रयोग गरी शिव सुन्दर देखिनुहुन्छ । यसप्रकार उहाँले लेपन गर्ने भष्म सुन्दरताको सामाग्री हो ।

हाम्रो सुन्दरताको कारण वैराग्य हो । भौतिक नश्वरतापछि उपलब्ध हुने क्षणभङ्गुरताप्रतिको आसक्ति नाश हुनु हो । यसपछि नै आध्यात्मिक शान्ति प्राप्त गरी हामी सुन्दर विचार, व्यवहार र प्रवृत्तिका हिमायती बन्न सक्दछौँ । यही शिवले भष्मलेपन गर्नुको महाविज्ञान हो । शिवले प्रयोग गर्ने त्यही खरानी अर्थात् वैराग्य नै भौतिक जीवनको अन्तिम प्राप्ति हो ।

शिव धर्मपरायण महापुरूष हुनुहुन्छ । वृषभ् अर्थात् गोरू धर्म, न्याय र नैतिकताको प्रतीक हो । धर्म शिवको आधार हो । धर्मको सहारा लिएर नै हामी जगतको कल्याण गर्ने महाअभियानका अभियन्ता बन्न सफल हुन्छौँ । धर्म त्यसैले हरेकको साधन, माध्यम वा वाहन बन्नुपर्छ भन्नु शिवको अर्को चरित्र हो । समुद्र मन्थनबाट उपलब्ध हलाहल विष धारण गरेर भगवान् शिव नीलकण्ठ बन्नुहुन्छ । यो पनि उहाँको कल्याणको विशेष लीला हो, विशेष प्रयत्न हो । जसरी समुद्रमा सबै फोहरहरू धारण गरेर पनि तिनलाई हिरामोती र सुनचाँदी बनाउने शक्ति छ, भगवान् शिव पनि हलाहल विष पान गरी सबैको दुःख हरण गर्ने सामथ्र्य राख्नुहुन्छ । यो कल्याणको भावना र दयाको दिव्य गुण नै भगवान् शिवको भगवत्ताको विशेष निधि हो ।

महापुरूषहरू अपार दयालु हुन्छन् । अर्काका दुःख, पीर र कष्टरूपी हलाहल स्वयम्ले पान गरी उनीहरूलाई दुःखमुक्त गर्नुपर्छ भन्नु शिवको विषपानको रहस्य हो । उहाँको यही अपार दयाको यश क्षितिज पारिपारि पुगेर नीलकण्ठका नाममा उहाँ सर्वव्यापक र सर्वपूज्य बन्नुहुन्छ .
गाँजा भाङ र विषको रहस्य

भगवान् शिव विष, भाङ, गाँजा, चरेस र धतुरो सेवन गर्नुहुन्छ । सामान्य मान्छेका लागि यी कुरा असामान्य लाग्छन् । विष, भाङ, धतुरो खानेलाई कसरी देवता स्वीकार गर्न सकिन्छ र ? भन्ने मूर्ख प्रश्नहरू पनि गरिन्छन् ।

भगवानले नै यी विष, भाङ र धतुरोलाई सेवन गर्न सक्छन् । ’cause, उनी नै यी विषहरू पनि पचाउन सक्ने सामर्थ्य राख्दछन् । जसलाई यी विषले कुनै प्रभाव पार्न सक्दैनन्, ती नै भगवान् हुन् धर्तीलाई पनि भगवान् मानिन्छ किनकि यही धर्तीमा नै यी समस्त विष र भाङहरू फुल्छन्, फक्रन्छन् र फल्छन् ।

शिवले ती समस्त विषहरूलाई पचाइदिनुहुन्छ, किनकि उहाँसँग त्यो सामर्थ्य छ । अमृत र विषको विभेद धर्तीले कहिल्यै गर्दैन । भगवान् शिवलाई विषको कुनै प्रभाव पर्दैन ।भूत, प्रेत, पिशाच शिवका गण हुन् । तर, भगवान् शिव यी सबै अमङ्गलहरूलाई दास बनाएर तिनलाई पनि कल्याणकै लागि प्रयोगमा ल्याउने हैसियत राख्नुहुन्छ ।

सच्चा पुरूष त्यो हो, जसले फोहोरलाई पनि मोहोर बनाउन सक्छ, विषलाई पनि अमृत बनाउन सक्छ । भगवान् शिवले सबै अमङ्गल, विष, भय र असुरक्षाका बीचमा पनि आफ्नो शौर्य, शक्ति, सेवा र सहयोगजस्ता अनमोल गुणहरूलाई नगुमाई सबैको कल्याणमा नित्य लीन हुनुहुन्छ । उहाँको यही त्याग, बलिदान र कल्याणको उच्च बन्दनास्वरूप नै उहाँको पूजा गरिएको हो, प्रार्थना गरिएको हो ।

हामीले एकपटक सोच्ने कि ?शिवरात्रीका बेलामा गाँजा, चरेस, भाङ र धतुरो खाएर हामीले सबैको कल्याण गरेका छौँ कि छैनौँ ? एकछिन सोचौँ ।
भगवान् शिवसँग स्वयम्लाई तुलना गरेर विष, भाङ र धतुरोमा लीन भएकाहरूले जीवन बरबाद गरी आफ्नै अकल्याण र अहित गरिरहेका छन् भने उनीहरूबाट जगत्को कल्याण कसरी सम्भव होला ?

शिवको स्थान ग्रहण गर्नका लागि त त्यसैअनुसारको प्रयत्न, साधना, शक्ति र श्रमको आवश्यकता पर्छ । आफ्ना दुःख र पीडाबाट भाग्न गाँजा, चरेस, रक्सी र भाङको सहारा लिनेहरू कहिल्यै शिव बन्न सक्दैनन् । शिवलाई भजाएर आफ्नो दूर्व्यसनीपूर्ती गर्न खोज्नेहरू मात्र शिवरात्रीमा गाँजा र भाङ सेवन गर्दछन् ।

हामी सामान्य मनुष्य हौँ । त्यसैले, हामी शिवले गरेका असाधारण कामका लायक छैनौँ । हाम्रो शरीर, शौर्य र शक्ति नै ती तमाम कृत्यका लायक छैनन् । भगवान् शिवका चरित्रले दिने सन्देशलाई प्रतीकरूपमा ग्रहण गर्नु नै हाम्रो एक मात्र कर्तव्य हो ।शिवलाई प्रसन्न बनाउन गाँजा र भाङ खानेहरूले कहिल्यै आफूलाई प्रशन्न राख्न सक्दैनन् । यदि हामी स्वयम् प्रसन्न छौँ भने शिव कहिल्यै दुःखी हुन सक्नुहुन्न ।

हामी कति सजिलै भनिदिन्छौँ- शिवजी भगवान् भएर त गाँजा, भाङ र धतुरो खान्छन् भने हामीले किन नहुने ? त्यसो भए हामी मसानघाटमा गएर सुतौँ न त ! गोरूमा चढेर, सर्पको माला लगाएर, बाघको छाला ओढेर बाँच्न हामी किन सक्दैनौँ ?
शिवले गरेका सबै काम हामीले पनि जस्ताको त्यस्तै अनुकरण गर्नुपर्छ भन्ने हो भने त यी सबै काम गर्नुपर्दैन र !

शिवरात्रीको अर्थ कल्याणको उपासना हो । सबै दोष, भय, असुरक्षा र विपत्तिहरूलाई जितेर तिनको सारथी बन्ने सङ्कल्प गर्नु नै शिवरात्री मनाउनुको विज्ञान हो । हामीभित्र पनि वासना, भय, आसक्ति, अहङ्कार र दुव्र्यसनीजस्ता चरित्रहरू छन् । ती चरित्रलाई जहिलेसम्म हामीले जित्न सक्दैनौँ र दास बनिरहन्छौँ निरन्तर, तबसम्म हामी कसैको कल्याण गर्न सक्दैनौँ ।
जगतको कल्याणका लागि त विशेष योग्यता चाहिन्छ । काम, वासना, लोभ, अहङ्कार र भयलाई गुडियाजस्तै खेलाउन र दबाउन सक्ने पुरूष नै शिव बन्न सक्दछ । अनि त्यही महापुरूषबाट नै समग्र अस्तित्वको मङ्गल हुन सक्छ भन्नु शिवरात्रीको एक मात्र दर्शन हो ।

तर, हामी शिवरात्रीलाई दुर्व्यसनको पर्वबाहेक केही बनाउन सकेनौँ । शिवरात्रीमा खाएको गाँजा र चरेसको नशामा सम्पूर्ण चैतन्य गुमाएर हामीले शिवको पूजा होइन, अपमान गरिरहेका छौँ ।शिवरात्री त चैतन्यको विशेष पर्व हो, कल्याण र आध्यात्मिक मूल्यको खोजी गर्ने पर्व हो । आफूलाई भगवान् शिवको समकक्षमा राखेर गाँजा र भाङ खाँदै जथाभावी गर्ने पर्व होइन ।

संसारमा फोहोरलाई ग्रहण गर्ने कोही त हुनु पर्‍यो नि ! हामी पो फोहोरलाई केवल फोहोर देख्छौँ, दोषलाई दोषसिवाय केही देख्दैनौँ । तर, प्रकृति नित्य दोषहरूलाई पनि गुण बनाउने महाअभियानमा मस्त छ । हामी पो अरुको दुःखमा खुसी र प्रसन्न हुन्छौँ । तर, प्रकृति त सबैका लागि बाँच्नु छ । किन हामी विषलाई पनि जगतको कल्याणका निम्ति स्वीकार्ने शिवसँग दुव्र्यसनको लतमा जीवनलाई बर्बाद गर्ने आफूसँग तुलना गर्न लाज मान्दैनौँ ? मान्छे त परमको एउटा अंश हो, तर शिव सृष्टि र विनाशका मूल हुन् ।तर, आजको मान्छे खान, बस्न, शौचालय जान, बोल्न र हिँड्न पनि राम्ररी जान्दैन । जीवनयापनका यी सामान्य नियममा समेत नियमित हुन नसक्ने र अनुशासनको निरन्तर उल्लङ्घन गर्ने लत बसेका हामीले सृष्टिका मूल शिवसँग आफूलाई दाँज्नुदैवीशक्तिको अवमूल्यन् र आफ्नो कमजोर अहम्को प्रदर्शनसिवाय अरु केही हुन सक्दैन ।

यसर्थ, भगवान् शिवको जीवनलीला र त्यसको महारहस्यको बोध गरौँ । भगवान् शिवको चरित्रमा देखिएका प्रतीक र सन्देशलाई प्रत्यक्ष आत्मसात् गरी कल्याणको दुर्लभतम् जीवन बाँच्ने प्रयत्न गरौँ ।भगवान् शिवको स्मरणको अर्थ सानातिना गल्तीलाई सजिलै भुलेर केटाकेटीजस्तै प्रशन्न रहनु, दोषहरूलाई जित्नु र तिनलाई पनि जगत् कल्याणका लागि प्रयोगमा ल्याउन प्रयत्नरत रहुनु हो । यसो भयो भने सम्भवतः शिवरात्री मनाउनु र भगवान् शिवको स्मरण गर्नुको औचित्य पुष्टि हुन सक्दछ ।
(लेखक ‘जीवन दर्शन’मासिकका सम्पादक/प्रकाशक हुन् )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.