जसलाई हेर्न मान्छेको धुइरो लाग्थ्यो, आज एक्लै


timthumb‘२४ वर्षकी थिएँ, दुब्ली पातली। विराटनगर मालअड्डामा खरदार हुँदा मान्छेहरु मलाई हेर्न आउँथे। अहिले ७६ वर्षकी बुढी भएँ, थला परेकी छु, कोही भेट्नसम्म आउँदैन, पहिलो चोटी बाबुहरु आउनुभयो‘ उनको कुराले मन भारी भयो। हामी पुग्दा पुसको कठ्याङ्ग्रिदो जाडो छल्न सिरक ओडेर उनी ओछ्यानमा बसेकी थिइँन्।
त्यसो त उनको जीवनमा भेट्नै आउने कोही रगतको साइनो भएको मान्छे यो दुनियाँमा छैन। यायावर बुवाकी यी जेठी छोरीले अभाव र लक्ष्यसँग पौंठेजोरी खेल्दा खेल्दै सामान्य जीवनलाई लत्याइदिइन्।

१९९५ मा राजविराजमा जन्मिएकी इन्दिरा उपाध्यायका बुवा मधुकरप्रसाद उपाध्याय फकिर जस्तै थिए। उनका पुर्खा प्युठान छाडेर काठमाडौंको सुन्दरीजलमा बसाइ सरे। मधुकर सुन्दरीजलबाट राजविराज हुँदै बनारस पुगे। उनले न कहीं घर बनाए, न भविष्यका लागि सम्पत्ति जोगाए। बनारस पुगेरै सुन्दरीजलस्थित उनको नामको अंश भाइहरुले आफ्नो नाममा गरे।
वनारसमा मधुकर पण्डित थिए। चार छोरी दुई छोरालाई भाडामा राखेका थिए, पढाएका थिए। इन्दिराले वनारस वुमन कलेजबाट आइए गरिन्। तर २०१५ सालमा मधुकर हृदयघातले बिते। छोराछोरीको जिम्मेवारी पत्नी मिनादेवी उपाध्यायलाई आयो। पतिको निधनपछि उनी पराइ भूमिमा बस्न सकिनन्, नेपाल फर्किइन्। विराटनगरमा बहिनीको घरमा बसेर छोराछोरी पढाउन थालिन्।
पतिसँगको विछोड र छोराछोरीको चिन्ताले मिनाको मानसिक सन्तुलन बिग्रदै थियो। इन्दिरा घरकी जेठी छोरी थिइन्। भाइबहिनीको रेखदेख गर्ने जिम्मा उनैलाई थियो। मुख्य कुरो हात मुख जोर्नु थियो अनि पढनु लेख्नु। काँधमा आएको जिम्मेवारीबाट इन्दिरा भागिनन्। आमा र भाइबहिनीप्रति यति समर्पित भइन कि आफ्ना जिन्दगीका सामान्य सुख सयल उनका लागि गौण बने।
 २०१७ साल तिरको कुरा हो रेडियो नेपालमा हिन्दी भाषाको समाचार पढने मान्छे चाहिएको थियो । बनारसमा पढेकाले इन्दिरा हिन्दी राम्रो बोल्थिन्, स्वर पनि सुरिलो। उनले आवेदन दिइन्। प्रतिस्पर्धामा छानिइन् पनि।
रेडियो नेपालमा आठ बजे राति हिन्दी समाचार पढन थालिन्। दुई वर्ष रेडियोमा काम गरेपछि विराटनगर गइँन्, मालपोतमा पहिलो महिला खरदार बनेर। निजामती सेवामा त्यतिबेला अरु महिला थिएनन्। जागिरले उनलाई भाइबहिनी पढाउन र बिरामी आमाको औषधीमुलो गर्न राहत भयो। जिन्दगीले काँचुली फेरे जस्तो लाग्यो।
तर समय सधैँ उनकै पक्षमा बगेन। इन्दिराका हाकिमलाई जग्गा पास गर्दा घूस खाएको आरोप लाग्यो। हाकिम मातहतका सबै कर्मचारीलाई निलम्बन गरियो। इन्दिराको निजामती यात्रामा त्यही पूर्णविराम लाग्यो। पछि अदालतले सफाइ दिएपछि उनले केही रकम उपदान पाइँन्।
त्यसपछि अर्धसरकारी निकाय राष्ट्रिय निर्माण कम्पनीको हेटौंडा शाखामा काम थालिन्। केही वर्ष हेटौंडा बसेपछि केन्द्रीय कार्यालय हल्चोकमा सरुवा मिलाइन। हल्चोकमा काम गर्दा उनलाई सुगर भएको थाहा पाइन्। सुगरका बिरामीको स्मरण क्षमता कम हुँदो रै’छ। अफिसमा हाकिमले अह्राएका काम पनि बिर्सन थालेपछि जागिर छोडनुपर्ने बाध्यता उनलाई भयो। त्यसपछि उनी जागिर गर्न नसक्ने भइँन्।
 परिवारको तालमेल मिलाउँदा मिलाउँदै उनको जोवनले नेटो काट्यो। बिहे र घरबार गर्ने समय उनले काम र परिवारलाई दिइन। ‘विधवा आमा र बेसहारा भाइबहिनीलाई छोडेर जाने कुरा मनमा कहिल्यै आएन,’ इन्दिराले भनिन्। विवाह विरोधी भएर होइन न त सृष्टिको निरन्तरतालाई हाँक दिन चेष्टा गरेकी थिइन्। तर परिस्थितिसँग तालमेल मिलाउँदा मिलाउँदै धेरैका जीवनको एक अध्याय विहे उनको जीवनमा लेखिदै लेखिएन।
उमेरले चालिस काटेपछि उनी सुगरसँग लडन थालिन्। यसैबीच आमा बितिन्। भाइ टिवी भएर बिते। दुई बहिनीले पनि बिहे नगरेरै संसार छोडे। फिल्मको रिल जस्तै जिन्दगीमा घटनाहरु घुमिरहे। उनले यो, त्यो धेरै  खाना बार्दै सुगरसँग लडेर जिन्दगी धानिरहिन्।
सुगर बिरामीमध्ये धेरैको मृगौला काम नलाग्ने हुँदोरहेछ। उनका दुवै मृर्गौलाले काम गर्न छोडे। अनि उनी माहिली बहिनी कमला उपाध्यायको सहारामा आइन्। ‘यो नै अहिले मेरो बुढेसकालमा साहारा बनेकी छ,’ इन्दिराले छेउमा बसेकी बहिनीको मुखमा पुलुक्क हेरिन्।
‘तर अब त म पनि ७२ वर्षकी बुढी भइसकें,’ कमला हाँसिन्। साठी वर्ष पार गरेपछि उनीहरु उसै गरी बस्न थाले जसरी ६/७ वर्षमा बस्थे। उतिबेला बहिनीलाई दिदीको भर लाग्थ्यो। अहिले दिदीलाई बहिनीको।
पकाउने, खुवाउनेमात्र होइन अस्पताल बस्दा कुर्ने पनि कमला एक्लै हुन्। पालो दिने पनि कोही हुँदैन। जहाँ जाँदापनि उनीहरु दुई दिदी बहिनीमात्र हुन्छन। अरु बिरामीका आफन्त फलफूल, जुस लिएर अस्पतालमा भेटन आउँछन। इन्दिरालाई भेटन जाने कमला सिवाय अरु कुनै आफन्त छैन।
दिदीलाईजस्तै कमलालाई पनि जीवनमा विहे गर्ने फुर्सद भएन वा उनले नै विहेका लागि फुर्सद निकालिनन्। रातो पुल छेउको कञ्चनजंघा गल्लीमा उनीहरुको घर छ। पहिलो तला भाडामा दिएका छन। माथि टिनले छाएर तीन कोठा बनाएका छन्। एउटा दिदीको एउटा बहिनीको अनि एउटा भान्सा।
घरभाडा महिनाको १० हजार आउँछ। इन्दिराको औषधी/उपचार खर्च त्यो भन्दा धेरै हुन्छ। काम गरुञ्जेल कमाएको पैसा त केही वर्षमै सकिइहाल्यो। कमलाले पनि भारतीय राजदूतावासमा काम गरेकी हुन्। अहिले उनको पनि बैंक खातामा तीन हजारभन्दा बढी रुपैयाँ छैन।
 टिभीमा इन्दिरा समाचार हेर्छिन्। नेताहरु स्वास्थ्य परीक्षण गर्न दिल्लीदेखि अमेरिकासम्म पुग्छन्। सामान्य रोगका लागि धेरै पैसा खर्च गर्छन्। सक्ने बेलामा देशको सेवा त उनले पनि गरेकी थिइँन् तर बुढेसकालमा उपचार गर्न नसकेर थला पर्दा सहयोग गर्ने कल्याणकारी राज्य कहाँ छ र हाम्रो देशमा?
देशका दूरदराजबाट राजधानीमा उपचार गर्न आउने देखेर उनलाई आफ्नो समस्या सानै जस्तो लाग्छ। उनी डायलासिस गर्न जाने राष्ट्रिय मृर्गौला केन्द्रमा १० जना बिरामीले संसार छोडेको देखेकी छन्। उपचार त नेता, जनता सबैले पाउनुपर्ने हो। ‘विदेश जाने पैसाले नेपालमै सुविधासम्पन्न अस्पताल बनाई निःशुल्क उपचार दिए नेतालाई पनि हुने जनतालाई पनि हुने,’ उनी भन्छिन्। तर सरकारले असहाय जनतालाई सहयोग गर्ला भन्ने उनलाई लाग्दैन। बरु दिल ठूलो भएकाहरुले उनलाई सक्दो सहयोग गरेका छन्। केही वर्षदेखि उनको उपचार खर्च ‘ठूला दिल‘ भएकाहरुको सहयोगले धानेको छ। ‘उनीहरुले सहयोग नगरेको भए मेरो के हालत हुन्थ्यो होला‘ इन्दिराले भनिन्।
पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईकी भान्जी शारदा रिमाल र इन्दिरा वनारसमा पढ्दा ताकाका संगी हुन्। रिमालले आर्थिक र भौतिक सहयोग गरेर इन्दिरालाई तिर्नै नसक्ने गुन लगाएकी छिन्। अमेरिकामा बस्ने रेखा थापाले पनि बेलाबेलामा सकेको पैसा पठाइदिन्छन्। वीरगञ्जका अमरराज भण्डारी, कमलाकी विराटनगरकी साथी रेणु शर्मा तेह्रथुमका किशोर कार्कीले पनि दिल खोलेर इन्दिरालाई सहयोग गरेका छन्। ती सबसँग रगतको साइनो होइन मानवताको नाताले इन्दिरा जोडिएका छन। तिनको विशाल हृदयले उनको ढुकढुकीलाई धानेको छ।
‘सबैले सहयोग गरेका छन। तर, बाँचेर अरुलाई भार भए जस्तो लाग्छ,’ इन्दिरा गम्भीर बनिन्। फर्केर हेर्दा उनलाई जिन्दगी नाटक जस्तो लाग्छ। तर, जिन्दगीको नाटकमा कथा जसरी सुरु भयो त्यसरी नै सकिने क्रममा छ, उनी अभावमै जन्मिइन, अभावसँगै पौठेजोरी खेलेर बाँचिन र बाँचिरहेकी छन्। ‘बाँच्न गाह्रो छ, मर्न झनै गाह्रो रै’छ, बाबु,’ इन्दिराका आँखामा आँसु टलपलाए। बग्न नपाउँदै हत्केलाले पुछिन्।
छुट्टिने बेलामा उनले फेरि सम्झिइन्ः दुब्ली पातली थिएँ, भर्खर २४ वर्षकी। विराटनगरको माल अड्डामा खरदार हुँदा मान्छेहरु मलाई हेर्न मात्र आउँथे। अहिले ७६ वर्षकी बुढी भएँ, थला परेकी छु, कोही भेटनसम्म आउँदैन, आज बाबुहरु आउनुभयो,’ उनले थपिन ‘मौका मिले फेरि पनि आउनुहोला।’
तस्विरहरूः प्रकाश लामा/सेतोपाटी

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.