नेपाल-भारतबीच १० सम्झौता


रोशन अधिकारी
1काठमाडौ, मंसिर १० –
१. अरुण तेस्रोको पीडीए
२. नेपाल प्रहरी प्रतिष्ठान
३. पर्यटन
४. परम्परागत औषधि
५. युवा मामिला
६. सहुलियतपूर्ण ऋण
७. यात्रुवाहक सवारी
८. जनकपुर-अयोध्या भगिनी
९. काठमाडौं-बनारस भगिनी
१०. लुम्बिनी-बोधगया भगिनी
सार्क शिखर सम्मेलनको अवसर पारेर नेपाल र भारतबीच बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको विकाससहित १० विषयमा सम्झौता भएको छ। प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा मंगलबार ऊर्जा, पर्यटन, यातायात, स्वास्थ्य, सुरक्षा, युवा आदानप्रदानलगायत विषयमा दुई देशबीच सम्झौता भएको हो।

सम्झौतापछि भारत सरकार र त्यहाँको निजी क्षेत्रबाट करिब २ खर्ब ९ अर्ब रुपैयाँ लगानी भित्रिने भएको छ। अरुण तेस्रोको आयोजना विकास सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त र सतलजका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भयो। यो आयोजना विकासका लागि १ खर्ब ४ अर्ब रुपैयाँको अनुमानित लगानी भारतीय सरकारी कम्पनी सतलजले गर्दै छ।

दुई देशबीच भारतीय एक्जिम बैंकले करिब १ खर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिने सम्झौतामा हस्ताक्षर भएको छ। यससम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव मधु मरासिनी र भारतीय राजदूत रणजित रायले हस्ताक्षर गरेका थिए। उक्त सहयोगबाट ने पालले ९ सय मेगावाटको जलाशययुक्त बुढीगण्डक जलविद्युत् आयोजना, महाकाली तेस्रो सिँचाइ परियोजनाको निर्माण र कोसी पम्प सिँचाइ आयोजनाको पुनर्निर्माण गर्ने भएको छ।

काभ्रेको पनौतीमा प्रहरी प्रतिष्ठान निर्माणका लागि भारतले ८ अर्ब ७९ करोड रुपैयाँ उपलब्ध गराएको छ। यीबाहेक अन्य सम्झौतामा दुवै मुलुकले सहकार्य अघि बढाउने उल्लेख छ।

नेपाल-भारत यात्रुवाहक सवारी साधन सञ्चालन गर्ने सम्झौतासमेत भएको छ। जसअनुसार तोकिएका क्षेत्रबाट अनुमति लिएर एक-अर्को मुलुकमा सवारी साधन आवतजावत गर्न दिइनेछ।

त्यसमा राजस्व तिर्नुपर्ने छैन। सैद्धान्तिक रूपमा एक-अर्को मुलुकमा सवारी साधन प्रवेश सहज बनाउने र अन्य सर्त आफैं निर्धारण गर्ने सहमति दुवै मुलुकबीच भएको छ। यसै क्रममा मंगलबारदेखि नै काठमाडौं र नयाँ दिल्लीबीच बस सेवा सुरु भएको छ। दुई प्रधानमन्त्रीले संयुक्त रूपमा यसको शुभारम्भ गरे। पर्यटन विकासमा सहकार्य गर्ने’bout पनि सम्झौता भएको छ। पर्यटन सचिव सुरेशमान श्रेष्ठ र भारतीय राजदूत रणजित रायबीच सम्झौतामा हस्ताक्षर भएको हो।

‘सम्झौतापछि दुई मुलुकबीच पर्यटनसम्बन्धी सहयोग अघि बढाउने ढोका खुलेको छ,’ पर्यटन मन्त्रालयका सहसचिव उमाकान्त पराजुलीले भने। सम्झौतामा विस्तृत कार्यक्रम नभई खाकामात्र रहेको उनले बताए।

त्यस्तै, परम्परागत उपचार पद्धति विकाससम्बन्धी सम्झौता भएको छ। अब दुवै मुलुकले आयुर्वेद चिकित्साको अध्ययन, अनुसन्धान, तालिमलगायतमा सहकार्य बढाउने भएका छन्।

विशेषगरी आयुर्वेदसम्बन्धी प्रविधि हस्तान्तरण पनि हुने सम्झौतामा छ। युवा विकासका लागि पनि सहकार्य गर्ने सम्झौता भएको छ। दुवै मुलुकका तीन/तीन सहरलाई भगिनीका रूपमा विकास गर्ने सम्झौता भएको छ। जसअनुसार जनकपुर र अयोध्या, काठमाडौं र बनारसका साथै लुम्बिनी र बोधगयालाई भगिनी सहर बनाउने सम्झाैता भएको हो।

एक-अर्को सहरले संस्कृति, सहकार्य र सहयोग बढाउने उल्लेख छ। भारतले माटो परीक्षणका लागि मोबाइल टेस्टिङ भ्यान उपलब्ध गराएको छ। माटो परीक्षण गर्ने सवारीले कृषि विकासमा सहयोग पुर्‍याउने उल्लेख छ। कृषि सचिव जयमुकुन्द खनाललाई प्रदीप फोस्पेट्सका अध्यक्ष सरोजकुमार पोदारले भ्यान हस्तान्तरण गरेका थिए। मोदीले पहिलो भ्रमणमा उल्लेख गरेअनुरूप विभिन्न योजना अघि बढेका छन्। उनले पर्यटन विकास, ऊर्जा, यातायात लगायतका विषयमा दुवै मुलुकले सहकार्य अघि बढाउनुपर्ने यसअघि बताएका थिए।

मोदीले आफ्नो पहिलो र दोस्रो नेपाल भ्रमणको एक सय दिनको अन्तरालमा दुई देशबीच धेरै उपलब्धिमूलक काम भएको उल्लेख गर्दै दुई देशबीचको आपसी विश्वासबाट त्यसले ठूलो परिमाण दिने विश्वास व्यक्त गरेका छन्।

राजधानीमा ट्रमा सेन्टर उद्घाटन गर्दै उनले यस अवधिमा लामो समयदेखि रोकिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउन प्राधिकरण बनेको, नौ/नौ सय मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्न आयोजना विकास सम्झौता -पीडीए) भएको र अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणको काममा समेत तीव्रता आएको बताए।

‘आज नेपालमा दोस्रोपटक आएको छु, सय दिन पनि भएको छैन। तर जब विश्वासको इन्जिन कुनै काममा लाग्छ, तब काम कति तीव्र गतिमा हुन सक्छ, कति राम्रो हुन सक्छ, यसको म आज अनुभव गरिरहेको छु। आज नेपाल र भारतबीच, भरोसा, विश्वासको एक धेरै ठूलो ‘हर्सपावर’ वाला इन्जिन लागिसकेको छ। यो विश्वास र भरोसाको इन्जिन हो। यसैका कारण एक सय दिनभित्र जुन प्रकारले नेपाल र भारतले एक पछि एक निर्णय लिएका छन्, काम सुरु गरेका छन्। २५-३० वर्षदेखि रोकिएका काम अघि बढेका छन ्,’ उनले भने।

उनले अन्तरदेशीय प्रसारण लाइन छिटो बनेर नेपालले लोडसेडिङ घटाउन भारतबाट बढी बिजुली पाओस् भन्ने आफूले चाहेको उल्लेख गर्दै भएका प्रसारण लाइनको क्षमता बढाउन सके छिटै नेपाललाई थप १ सय २५ मेगावाट बिजुली दिन सकिने बताए। हजार मेगावाटको अन्तरदेशीय प्रसारण लाइन निर्माण भइरहेको उल्लेख गर्दै यस्ता पूर्वाधार निर्माण हुँदै गएपछि नेपाल जगमगाउने विश्वास व्यक्त गरे। आफ्नो पहिलो भ्रमणमा दिने घोषणा गरेको एक बिलियन डलर -करिब १ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण सहयोग कार्यान्वयन गर्न मंगलबार अन्तिम सम्झौता हुन लागेकामा समेत सन्तोष प्रकट गरेका थिए।

भारतीय प्रधानमन्त्री मोदीले नेपाली सेनालाई आफ्नो सरकारका तर्फबाट अत्याधुनिक हेलिकप्टर उपहार दिएका छन्। ‘आज मेरा लागि खुसीको कुरा छ कि हामीले हेलिकप्टर नेपाली सेनालाई समर्पित गरिरहेका छौं। मलाई विश्वास छ, नेपाललाई यो एउटा राम्रो रक्षाकवच मिल्नेछ। यो एउटा नयाँ तागत बन्नेछ,’ उनले भने।

उनले नेपाल र भारतबीच पर्यटन पवर्द्धन गर्न काठमाडौं र दिल्लीबीच यात्रु बस सेवा सुरु गरिएको बताए। ‘स्वदेशी तथा विदेशी पर्यटकहरू प्राकृतिक सौन्दर्यको फाइदा उठाउन बसबाटै यात्रा गर्न रुचाउँछन्। म चाहन्छु, नेपालको पर्यटन पनि बढोस्। तर पर्यटन बढाउन केही सुविधा चाहिन्छ, त्यसमा महत्त्वपूर्ण सुविधा हुन्छ ‘कनेक्टिभिटि’ को। मैले हाम्रो देशका अधिकारीहरूलाई भनेको छु कि, दिल्ली र काठमाडौं चल्ने बस सेवा ‘वाइफाई’ सुविधायुक्त होस्। वाइफाईसहितको सेवा हुन्छ भने पर्यटकले अवश्य रुचाउनेछन्,’ मोदीले भने।

मोदीले नेपालमा कृषि उत्पादकत्व बढाउन र लागत घटाउन नेपाललाई मोबाइल स्वाइल टेस्ट लेब्रोटरी सहयोग प्रदान गरेका छन्। उनले नेपालमा कस्तो माटोमा कुन खेती हुन्छ र कुन औषधि उपयुक्त हुन्छ भनेर माटोको जाँच गरी उत्पादकत्व बढाउन र अन्न उत्पादनको लागत घटाउन आफ्ना तर्फबाट मोबाइल स्वाइल टेस्ट लेब्रोटरी नेपाललाई उपहार दिएको बताएका छन्। यसबाट प्रतिएकड जमिनमा १५/२० हजार फाइदा पुग्ने विश्वास उनको छ।(कान्तिपुर अन्लाईन )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.