मुक काजी गुरुङ,हङकङ
नेपालको गण्डकी अञ्चल,स्याङ्जा जिल्लाको क्षेत्र नम्बर दुई अन्तर्गत पर्ने बाईसे चौबिसे कालको भिरकोट राज्य र त्यस राज्यको सिमानासँग जोडिएको केही छिमेकी गाउँहरुलाई समेटेर सन २००८ सालमा स्थापित भिरकोट आठ्थर तमु समाजले सधैंको बर्षहरुमा झैं यस बर्ष पनि दशैंतिहारको अवसर पारेर वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेका छन।
बिहान १० बजेदेखि नै कार्यक्रम स्थलमा जमघट हुन शुरु भएता पनि मध्य रातको १ बजे सम्म पनि हङकङकै उच्च स्थान ताई मो शान कन्ट्री पार्क गीत संगीतमयले घन्किरहेको थियो। प्रवासमा रहेता पनि गाउंघरकै शैलीमा बिभिन्न टिपीकल खानाका परिकारहरुले उपस्थितजनहरुलाई गाउंघरमै भएको महशुस गर्न सकिन्थ्यो।
बेलुकी ७ बजेतिरा कार्यक्रमलाई केहि क्षणको लागि औपचारिकतिरा मोडेका थिए। समाजका संस्थापक तथा तेस्रो कालसम्म पनि आफ्नो स्थानलाई सुरक्षित राख्न सफल समाजसेवी तथा लामो समय शिक्षण पेशामा समर्पित मन बहादुर गुरुङको अध्यक्षतामा र छिमेकी अकलादेवी समाजका अध्यक्ष भानबिर गुरुङको प्रमुख आतिथ्यमा समाजकै सल्लाहकारहरुलाई यथास्थानमा नै आतिथ्य प्रदान गरिएको थियो भने समाजकै आजीवन सदस्य नरेश गुरुङको पूज्यनिय मातालाई पनि आतिथ्य प्रदान गरिएको थियो। उपाध्यक्ष चौ गुरुङको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमलाई सचिव डिल कुमार गुरुङले सञ्चालन गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि तथा अध्यक्ष द्वयले विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा शुभकामना ब्यक्त गरे भने प्रमुख अतिथिको रुपमा आफुलाई आमन्त्रण गरेकोमा अकला देवी समाजका अध्यक्ष भान बिर गुरुङले धन्यवाद ब्यक्त गरे। यसैगरि कार्यक्रममा उपस्थित सम्पूर्ण भिरकोट आठ्थर बासीहरुलाई उपस्थितिको लागि अध्यक्ष गुरुङले धन्यवाद गरेका थिए।
औपचारिक कार्यक्रमकै सिलसिलामा समाजका आजीवन सदस्य बिशाल गुरुङ र शुष्मा गुरुङलाई ढिलै भएता पनि नयां दाम्पत्य जीवनको सफलताको कामना गर्दै हार्दिक बधाई तथा अध्यक्षद्वारा खादा लगाई सम्मान गरिएको थियो। यसैगरि समाजका अर्का आजीवन सदस्यहरु दीपा गुरुङ र दिक्षा गुरुङको कोखबाट नयां शिशुको जन्म भएको अवसरमा पनि समाजका अध्यक्ष तथा प्रमुख अतिथिले खादा लगाई सम्मान गरेका थिए। यसैगरि नेपालबाट हङकङ भ्रमणमा आउंनु भएका नरेश गुरुङको मातालाई पनि खादा लगाई सम्मान गरिएको थियो भने ल्होसार पर्वलाई प्रायोजक गर्नुहुने समाजकै सल्लाहकार चेत बहादुर गुरुङलाई पनि मायाको चिनो प्रदान गरेका थिए। तर वहांको अनुपस्थितिमा सो मायाको चिनो वहांकै सुपुत्र सिद्धान्त गुरुङलाई प्रदान गरिएको थियो।
कार्यक्रमको अन्तमा आमा समूहले देउसीभैलो कार्यक्रमबाट हङकङ डलर ६,००० संकलन गरेका थिए।