एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित


माधव ढुङ्गेल
get_img (1)पदाधिकारीमा दुवै प्‍यानलका बराबरी विजयी
काठमाडौं : एमाले अध्यक्षमा पार्टी संसदीय दलका नेता केपी शर्मा ओली प्रतिद्वन्द्वी वरिष्ठ नेता माधवकुमार नेपाललाई ४४ मत अन्तरले पराजित गर्दै विजयी भएका छन्। अध्यक्षलगायत १४ पदाधिकारीका लागि भएको निर्वाचनमा दुवै प्यानलबाट सातसातजना निर्वाचित भए। ओली पार्टीभित्र तेस्रो मर्यादामा थिए। उनी पहिलोपटक पार्टी प्रमुख भएका हुन्। एमालेको मतपत्रमै प्यानल छुट्ट्याएर चुनाव गरिए पनि प्रतिनिधिहरूले मिश्रित परिणाम आउने गरी मत दिएका छन्। निवर्तमान अध्यक्ष झलनाथ खनालले नेतृत्वका लागि भएको निर्वाचन परिणामले पार्टी झन् एकताबद्ध र सुदृढ बनाउने बताए। अध्यक्षका प्रतिद्वन्द्वी नेपालले मत परिणाम आएलगत्तै बालकोटस्थित निवासमा रहेका ओलीलाई टेलिफोन गरी बधाई दिएका थिए।

एमाले संस्थापकमध्येका एक स्वतन्त्र वामपन्थी राधाकृष्ण मैनालीले भने एमालेको यो महाधिवेशनले विभाजनको रेखा कोरेको बताए। ‘एमालेको पाँचौं महाधिवेशनदेखि अहिलेसम्म हेर्दा सबैले पार्टी विभाजनको रेखा कोर्ने काम गरेको छ। अब पनि ९० प्रतिशत सम्भावना त्यस्तै छ’, उनले भने, ‘यसअघि संसदीय निर्वाचनसम्ममा बागी देखिन्थे, अब स्थानीय निर्वाचनमा वडा अध्यक्षसम्ममा बागी हुनेछन्।’

एमाले निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीले घोषणा गरेको मतपरिणामअनुसार महासचिवमा ओली प्यानलका ईश्वर पोखरेलले प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेलाई ६ मत अन्तरले हराएका छन्। नेपाल प्यानलका तीन उपाध्यक्ष, एक उपमहासचिव र तीन सचिव विजयी भएका छन्।

उपाध्यक्षमा सबैभन्दा बढी मत नेपाल प्यानलका भीम रावलले ११ सय ४३ ल्याए भने उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम उनीभन्दा १९ मत कम पाएर दोस्रो भए। त्यसपछि क्रमश: विद्या भण्डारी, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य विजयी भए। गौतम र भण्डारी ओली पक्षका हुन्।

get_imgदुई उपमहासचिवका लागि भएको चुनावमा घनश्याम भुसाल सबैभन्दा बढी मत एक हजार ९७ पाएर विजयी भए। उनले अघि सारेको विचार महाधिवेशनले पारित गरेको थियो। अर्का उपमहासचिवमा विजयी विष्णु पौडेलले भुसालभन्दा १५ मत कम पाएका थिए। भुसाल यसअघि केन्द्रीय सदस्य थिए भने पौडेल सचिव थिए। यसअघिका अर्का सचिव शंकर पोखरेल भने उपमहासचिवमा पराजित भएका छन्।

पाँच सचिवमा तीनजना नेपाल प्यानलका विजयी भए। सचिवमा नेपाल प्यानलका गोकर्ण बिष्ट पदाधिकारीमध्ये सबैभन्दा बढी १२ सय ७० मतसहित विजयी भए। सोही प्यानलका योगेश भट्टराई र भीम आचार्य पनि विजयी भए। यी तीनैजना यसअघि केन्द्रीय सदस्य थिए। ओली प्यानलबाट पूर्वपोलिटब्युरो सदस्यद्वय प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ पनि सचिव चुनिए।

एमालेका २२ सय ५४ प्रतिनिधिले मतदान गरेका थिए। तीमध्ये ५७ वटा मतपत्रमा अध्यक्ष पदमा कुनै पनि उम्मेदारलाई मत नहाली खाली छाडेको पाइएको थियो।

केन्द्रीय सदस्य, अनुशासन आयोग र निर्वाचन आयोगको मतगणना भने मंगलबार रातभरि जारी थियो। बुधबार बिहानसम्ममा सबै परिणाम आइसक्ने प्रमुख आयुक्त प्यासीले बताए।

मतगणनामा त्रिशूली नदीभन्दा पूर्व र कर्णाली नदीभन्दा पश्चिमको भूभागमा नेपाल पक्षको बहुमत आएको थियो। त्रिशूली पश्चिम कर्णाली पूर्वको भूगोलमा भने ओली पक्षको बहुमत देखिएको थियो।

एमाले विधानअनुसार निवर्तमान अध्यक्ष झलनाथ खनाल स्वत: वरिष्ठ नेता भएका छन् भने एकजना कोषाध्यक्षको मनोनयन केन्द्रीय कमिटीले गर्नेछ।

वामपन्थी नेता मैनालीले एमालेमा राम्रा युवा नेताहरू विजयी भएको देख्दा आशावादी हुने ठाउँ रहेको बताए। उनले युवाहरूलाई पनि बूढा पुस्ताले गलत बाटो हिँडाउने खतरा पनि बताए। ‘अब कि अमेरिकी शैलीमा सबैले जितेकालाई स्वीकारेर अघि बढ्नुपर्छ कि चिनियाँजस्तो पारित नीति मानेर सबै एकताबद्ध भएर अघि बढ्नुपर्छ’, मैनालीले भने, ‘नेपालमा यी दुवै शैली अपनाइँदैन। चुनिएको नेतृत्वलाई काम गर्न नदिने एमालेको परम्परा नै बनिसकेको छ।’

ओली पाँच वर्षअघि भएको आठौं महाधिवेशनमा अध्यक्षमा खनालसँग एक सय ४६ मत अन्तरले पराजित भएका थिए। २०२७ सालमा कम्युनिस्ट पार्टीको सदस्य भएका ओली पञ्चायतकालमा १४ वर्ष जेल बसेका थिए। २०४४ सालमा पार्टी केन्द्रीय कमिटी सदस्य भएका ओली गृहमन्त्री र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भइसकेका छन्। उनी २०४८ सालको पाँचौं महाधिवेशनदेखि लगातार स्थायी समिति सदस्य छन्। ६३ वर्षीय ओली झापा-७ का सभासद् हुन्।

– See more at: http://www.annapurnapost.com/en/news/political/10487/%E0%A4%8F%E0%A4%AE%E0%A4%BE%E0%A4%B2%E0%A5%87-%E0%A4%85%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%AE%E0%A4%BE-%E0%A4%95%E0%A5%87%E0%A4%AA%E0%A5%80-%E0%A4%B6%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%BE-%E0%A4%93%E0%A4%B2%E0%A5%80-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%9A%E0%A4%BF%E0%A4%A4.htm#sthash.yWH8SJRB.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.