विकासशील राष्ट्रमा उक्लने बजेटको लक्ष्य


कृष्ण आचार्य
image.phpकाठमाडौ, जेष्ठ २९ – अतिकम विकसित राष्ट्रबाट सन् २०२२ भित्र विकासशील राष्ट्रमा उक्लने लक्ष्यलाई प्राथमिकता दिँदै बजेट ल्याउने तयारी सरकारले गरेको छ । अर्थमन्त्री रामशरण महतद्वारा बुधबार व्यवस्थापिका संसद्‌मा पेस गरिएको ‘बजेटका सिद्धान्त र प्राथमिकता’ अनुसार विकासशील राष्ट्रमा उक्लने प्रकृतिका कार्यक्रम ल्याउने तयारी भएको हो । ‘विकासशील मुलुकको स्तरमा उकास्ने आर्थिक विकासको आधारशीला खडा गर्नुपर्ने हामी सबैले महसुस गरेका छौं,’ उनले भने, ‘बजेट यिनै उद्देश्यतर्फ उन्मुख हुनेछ ।’ त्यसका लागि गरिबी न्यूनीकरण गरी नेपाललाई सामाजिक र आर्थिक रूपमा समृद्ध बनाउने जनाइएको छ ।

‘विकास निर्माणका सम्भाव्यताको उपयोग गर्ने र समग्र आर्थिक विकासका लागि उच्च आर्थिक वृद्धिदर हासिल गर्ने दिशामा बजेट आउनेछ,’ उनले भने । त्यसका लागि उनले १५ वटा सिद्धान्त संसद्मा छलफलका लागि पेस गरेका छन् ।

उनले संविधान, शान्ति र सुशासन प्रवर्द्धनलाई पहिलो सिद्धान्तमा राखेका छन् । आर्थिक स्थायित्व, उत्पादन, उत्पादकत्व र आर्थिक वृद्धि त्यसपछिका सिद्धान्त हुन् ।

त्यस्तै सरकारले गरिबी न्यूनीकरण, पुँजी निर्माण र लगानी, विकासमैत्री कानुनी आधार, गुणस्तरीय भौतिक पूर्वाधार, मानव विकास, युवा परिचालन, विकेन्द्रीकरण, सार्वजनिक संस्थान व्यवस्थापन, वैदेशिक सहायताको प्रभावकारी प्रयोगलाई अन्य सिद्धान्तका आधार बनाइएको छ ।

उक्त सिद्धान्तमा आधारित बजेटका लागि ९ शीर्षकलाई प्राथमिकता निर्धारण गरिएको छ । बजेटको पहिलो प्राथमिकतामा ऊर्जा विकासलाई राखिएको छ । कृषिको व्यवसायीकरण, यातायात विस्तार तथा सुधार र सामाजिक क्षेत्रमा बजेट विनियोजन गर्ने त्यसपछिको प्राथमिकता रहेको मन्त्री महतले बताए । पर्यटन विकास, खानेपानी भूउपयोग एवं व्यवस्थित बसोबास, दिगो ग्रामीण विकास, निजी क्षेत्र विकास, शान्ति सुरक्षा एवं विदेश सम्बन्ध बजेट विनियोजनका लागि अन्य प्राथमिकता विषय भएको उनले उल्लेख गरे ।

तीन वर्षभित्र सबै गाउँमा विद्युत् सेवा पुर्‍याउने र लोडसेडिङ अन्त्य गर्ने गरी बजेट विनियोजन गर्ने उनले बताए । कृषि व्यवसायीकरणका लागि युवा पिढीलाई आकषिर्त गर्न बजेटले प्रोत्साहनका कार्यक्रम ल्याउने जनाइएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु, भैरहवा र पोखरा विमानस्थलको निर्माणमा तीव्रता, पर्यटनका आधारभूत पूर्वाधार निर्माण र नयाँ गन्तव्यको पहिचान कार्यक्रम ल्याउने महतले बताए । रणनीतिक सडकहरू बनाउनसमेत बजेटको प्राथमिकता दिने सरकारको तयारी छ ।

‘द्वन्द्वपीडितलाई राहत वितरण गरिने छ । पारदर्शी र उत्तरदायित्व अभिवृद्धि दण्डहीनताको अन्त्य र कानुनी शासनको प्रत्याभूति गरिने छ,’ उनले भने, ‘राष्ट्रिय योजना आयोगबाट उपलब्ध गराइएको सीमा समेतलाई ध्यानमा राखी बजेट निर्माण गरिने छ ।’

अर्थ मन्त्रालयले निजी क्षेत्रको समेत सहयोगमा वस्तु र सेवा वितरणमा एकाधिकारको अन्त्य गरी प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने तयारी गरेको छ । कृषि, उद्योग र सेवा क्षेत्रको उत्पादकत्व र उत्पादकत्व वृद्धिले मात्रै उच्च दरको आर्थिक वृद्धि हुने जनाई त्यसलाई समेत प्रथमिकतामा राखिने मन्त्री महतले बताए ।

‘आर्थिक वृद्धि केन्दि्रत लगानीमा जोड दिइने छ । सबै क्षेत्रको स्वदेशी तथा विदेशी निजी लगानी आकषिर्त गरिने छ,’ उनले भने । निजी, सहकारी, गैरसरकारी, लघु कर्जा र सामुदायिक क्षेत्रलाई गरिबी निवारणका क्षेत्रमा प्रोत्साहन गरिने जनाइएको छ । सार्वजनिक खरिद ऐन लगायत अन्य कानुन परिमार्जन आगामी वर्षको प्राथमिकता हुने उनले बताए । आर्थिक, सामाजिक कार्यक्रमको कार्यान्वयनबाट मानवीय सूचकांकमा सुधार गरिने उल्लेख छ ।

त्यस्तै युवा लक्षित कार्यक्रम आगामी वर्षको बजेटमा ल्याइने जनाइएको छ । ‘तल्लो स्तरका निकायलाई अधिकारसम्पन्न बनाइने छ,’ उनले भने, ‘करका दर वृद्धि गर्नेभन्दा दायरा विस्तार गर्ने नीति लिइने छ ।’ सूचना प्रविधिको प्रयोगमार्फत करसम्बन्धी कार्यलाई सरल गराइनेसमेत उनले बताए । वैदेशिक सहायता परिचालन गर्दा परिमाणात्मकभन्दा गुणात्मक पक्षलाई ध्यान दिने जनाइएको छ । त्यसका लागि नीति घोषणा हुनेछ ।

‘सार्वजनिक निजी साझेदारी वृद्धि गर्ने, विशेष आर्थिक क्षेत्र (सेज) निर्माण र सञ्चालन, निर्यात व्यापारलाई प्रोत्साहन दिने, औद्योगिक पूर्वाधारमा लगानी बढाइने छ,’ उनले भने, ‘कानुनी राज्यको सुनिश्चितताका लागि न्यायपालिकालगायत संवैधानिक निकायको सबलीकरण गर्न स्रोतको व्यवस्था गरिने छ ।’ उक्त आधारमा पेस भएका सिद्धान्त र प्राथमिकतामा महतले सबै सभासदलाई सिर्जनशील सुझाव दिन अनुरोधसमेत गरे । छलफल र थप सुझावका लागि व्यवस्थापिका संसद्को अर्को बैठक शुक्रबारका लागि तोकिएको छ ।
– See more at: http://www.ekantipur.com/np/2071/2/29/full-story/390671.html#sthash.Xtou394c.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.