ढाका (एएफपी), चैत्र २४ – कुमार संगकराले अविस्मरणीय अर्द्धशतक बनाएपछि श्रीलंकाले ट्वान्टी-ट्वान्टी विश्वकप फाइनलमा भारतलाई आइतबार ६ विकेटले पराजित गर्यो । भेट्रान बायाँ हाते ब्याट्सम्यानले ३५ बलमा नटआउट ५२ रन योगदान गरेपछि १ सय ३१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १७ ओभर पाँच बलमा चार विकेट गुमाएर जित निकाल्यो । रविचन्द्रन आश्विनको बलमा चौका प्रहार गर्दै थिसरा परेराले श्रीलंकाका लागि विजयी रन बटुले । परेराले नटआउट २१ रन योगदान गरे ।
संगकराले चार चौका र एक छक्का प्रहार गरे । श्रीलंकाले विश्व क्रिकेटमा १८ वर्षपछि ठूलो उपाधि चुमेको हो । उसले सन् १९९६ मा विश्वकप (५० ओभर) को उपाधि जितेको थियो ।
ट्वान्टी-ट्वान्टी विश्वकपले श्रीलंकालाई पाँचौं विजेता पायो । सन् २००७ को पहिलो संस्करणमा भारत च्याम्पियन भएको थियो । त्यसपछि २००९ मा पाकिस्तान, २०१० मा इंग्ल्यान्ड र २०१२ मा वेस्ट-इन्डिज विजेता बनेका थिए ।
उपाधि भेट्रान क्रिकेटर महेला जयबर्द्धने र संगकराका लागि अविस्मरणीय बन्यो । दुवैले यो प्रतियोगितापछि ट्वान्टी-ट्वान्टी क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए । श्रीलंकाका प्रारम्भिक ब्याट्सम्यान कुशल परेरा ५ रन जोडेर आउट भए भने तिलकरत्ने दिल्सानले १८ रन
जोडे । संगकराले पाँचौं विकेटका रूपमा थिसरासँग नटआउट ५४ रनको साझेदारी गरे ।
वर्षाका कारण निर्धारित समयभन्दा ४० मिनेट ढिला सुरु भएको खेलमा टस जितेर श्रीलंकाले फिल्डिङ रोजेको थियो । भारतले विराट कोहलीको उत्कृष्ट ब्याटिङमा चार विकेट गुमाएर १ सय ३० रन बनाउन सक्यो । विराटले ५८ बलमा ७७ रन योगदान गरे । कोहलीको ट्वान्टी-ट्वान्टीमा आठौं अर्द्धशतक हो । उनी ‘म्यान अफ द टुर्नामेन्ट’ बने ।
इनिङ्सको दोस्रो ओभरमा एन्जेलो म्याथ्युजले अजिंक्या रहानेलाई ३ रनमा आउट पारेपछि आएका कोहलीले भारतलाई राम्रो सुरुआत दिलाएका थिए । स्पिनर रंगना हेराथको पहिलो बलमा ११ रन जोडेका कोहलीको क्याच लासिथ मालिङ्गाले छाडेका थिए । त्यसपछि कोहलीले पाँच चौका र चार छक्का प्रहार गर्ने अवसर पाए । उनी अन्तिम बलमा रनआउट भएका थिए ।
श्रीलंकाली उत्कृष्ट बलिङ अगाडि कोहलीबाहेक अन्य कुनै भारतीय ब्याट्सम्यानले तीव्र गतिमा रन बटुल्न सकेनन् । कोहलीले दोस्रो विकेटका लागि रोहित शर्मासँग ६० रनको साझेदारी गरे । रोहितले २९ रन बटुले । कोहलीले तेस्रो विकेटका रूपमा युवराज सिंहसँग ५५ रनको साझेदारी गरे । सुस्तगतिमा रन बटुलेका युवराजको ब्याटबाट २१ बलमा ११ रन मात्र बन्यो ।
– See more at: http://www.ekantipur.com/np/2070/12/24/full-story/387080.html#sthash.gxanQXIu.dpuf