उद्धार गरिएको युवती भागेको प्रकरण
नयाँ दिल्ली, चैत्र २० – नेपाली दुतावासमा आश्रित युवतीहरु आइतबार बिहानबाट एकाएक बेपत्ता बनेपछि सुरक्षा कमजोरीको कारण जनाउँदै राति चौकिदारीमा खटिएका दुई स्थानीय कर्मचारी निलम्बनमा परेका छन् ।युवती बेपत्ता प्रकरण पछि बुधबार भएको प्रारम्भिक छानबिनमा राति १० देखि बिहान ६ बजेसम्म चौकिदार जिम्मेवारीमा खटिएका गणेश पौडेल र रघु ज्ञवालीलाई तत्कालका लागि निलम्बन गरिएको दुतावासका एक अधिकारीले बताए ।
दिल्लीको कोठीमा बेच्न ल्याइएका दुई तामाङ किशोरीलाई स्थानीय नेपाली समाजका प्रतिनिधिले उद्धार गरेर गत शुक्रबार दिउँसो दुतावासको जिम्मा लगाएका थिए ।
यी किशोरीका साथमा यी दुईलाई ४ लाख रुपैयाँमा बिक्री गर्न दिल्ली ल्याउने सिन्धु पाल्चोककै एजेन्ट फूलमाया तामाङलाई पनि दुतावासको जिम्मा लगाइएको थियो । दुतावासको आश्रयस्थलमा रहेका तीनैजना युवती आइतबार बिहानबाट बेपत्ता बनेपछि मात्रै दुतावासका जिम्मेवार अधिकारीले पत्तो पाएका थिए ।
यो घटनाको प्रारम्भिक बयान तथा छानबिन क्रममा प्रहरी सेवाका तर्फबाट काउन्सेलर एसएसपी राजेन्द्रमान श्रेष्ठ, अनुसन्धानका तर्फबाट काउन्सेलर यदुलाल खरेलसहित दुतावास सम्बद्ध काउन्सेलर र सहचारीहरु संलग्न थिए । ‘यो घटनामा युवती भगाउने काममा जो कोही परेको भएपनि कारबाही हुनेछ, एक–दुई दिनमा सबै जानकारी बाहिर आउनेछ,’एक काउन्सेलरले भने । तर जानकारीमा आए अनुसार दुतावासबाट बेपत्ता भएका तीनैजना युवती मंगलबार काठमाडौं पुगिसकेका छन् ।
– See more at: http://www.ekantipur.com/np/2070/12/20/full-story/386803.html#sthash.wnpYtfiv.dpuf