जिपमा क्षति
तनहुँ, कार्तिक १४ – कांग्रेस उपसभापति तथा क्षेत्र नम्वर २ का उम्मेदवार रामचन्द्र पौडेल बुधबार राति सुतेको राम्जाकोट २ रुपटार स्थित गोविन्द गिरीको घरमा मध्यरातमा अज्ञात समुहले पेट्रोल बम विष्फोट गराएको छ ।
बम विष्फोटबाट पौडेलले चढ्ने बा ६ च ७५५५ नम्बरको स्कारपियो जिपको केही भाग मा क्षति पुगेको र सिसा चर्किएको प्रहरीले जनाएको छ । अज्ञात समूहले ४ वटा पेट्रोल बम प्रहार गरेको पौडेलको सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक अमृतबहादुर लामिछानेले बताए ।
‘हामी जनपथ र सशस्त्र प्रहरीहरु भिआईपी सुत्नु भएको कोठाबाट करिव ५ मिटर नजिकै सेन्टि्रमा खटिएका थियौं,’ प्रनानि लामिछानेले भने, ‘अन्धकार रातमा एक्कासि पेट्रोल बम हानिएपछि तुरुन्तै सवैलाई फायर खोल्न भनेपछि उनीहरु भागे ।’ तुरुन्तै प्रतिकारमा उत्रिएपछि उनीहरुले ५ बटा पेट्रोल बम छाडेर गएको प्रनानी लामिछानेले बताए । उपसभापति पौडेलको सुरक्षामा ७ जना जनपथ, ७ जना शसस्त्र र एक जना व्यक्तिगत अंगरक्षक गरी १५ जना खटिएका छन् ।
उपसभापति पौडेलसँगै चुनावी प्रचारमा रहेका क्षेत्र नम्वर २ का कांग्रेस सभापति झुलबहादुर आलेमगरले अराजकता मच्चाउन चाहने शक्तिले अवरोध पुर्याएको बताए । कांग्रेसको पक्षमा जनलहर भएकाले जनतालाई तर्साएर निर्वाचनमा अवरोध पुर्याउन खोजिएको उनले जनाए ।
वम प्रहारको जिम्मा कसैले पनि लिएका छैनन् । नेकपा – माओवादीका जिल्ला सेक्रेटरी अतिन्द्रकेशरी न्यौपानेले उपसभापति पौडेललाई लक्षित गरी आफूहरुबाट बम प्रहार नगरिएको बताए ।
तनहुँको भिमादबाट उक्त क्षेत्रमा पुग्न कच्चि मोटरमार्गमा करिव ३ घण्टा यात्रा गर्नु पर्छ । सदरमुकाम दमौलीकाट भिमाद २८ किलोमिटर पश्चिमतर्फ पर्छ ।
– See more at: http://www.ekantipur.com/np/2070/7/14/full-story/378381.html#sthash.UaXLECrt.dpuf