मुक काजी गुरुङ, हङकङ
२६ अक्टोबर २०१३ का दिन स्याङ्जा जनसेवा समिति हङकङले सेङ्वानस्थित बास्मति रेष्टुरेन्टमा दशैंतिहारको उपलक्ष्यमा शुभ आशिष कार्यक्रम सम्पन्न गरेको छ।
स्थापना कालदेखि बाहिरिया रुपमा आयोजना गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिंदै यस पटक भने भित्री रुपमा सम्पन्न गरिएको थियो।कार्यक्रममा एक औपचारिक कार्यक्रम मार्फत शुभकामना आदान प्रदान गरिएको थियो। समितिका अध्यक्ष कोमल (स्याङ्जाली कान्छा) गुरुङको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा स्याङ्जा जिल्ला भित्रका बिभिन्न समाजका अध्यक्ष तथा प्रतिनिधिहरुलाई अतिथिको रुपमा आसिन गराएका थिए साथै समितिकै सल्लाहकार तथा प्रवक्ता मुक काजी गुरुङ र मेरो स्याङ्जा डट कमका पूर्व नेपाल सम्पादक रत्न काफ्लेलाई पनि अतिथिको रुपमा स्थान दिइएको थियो।
समितिका सह-सचिव रबिन थापाद्वारा सञ्चालन गरिएको कार्यक्रमलाई समितिकै उपाध्यक्ष ईश्वर गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेका थिए।
कार्यक्रममा खेलकुद क्षेत्र तर्फ योग्दान पु-याए वापत केहि स्याङ्जालीहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा मोहन गुरुङ, बिक्रम गुरुङ,अशोक गुरुङ,टेमानसिं थापा,याम गुरुङ,गोपी राना र समितिद्वारा आयोजित बिभिन्न कार्यक्रमहरुमा सक्रिय भई संघलाई योग्दान पु-याए वापत निवर्तमान कोषाध्यक्ष तथा वर्तमान सल्लाहकार श्रीमती रिता गुरुङलाई पनि समितिकै अध्यक्ष कोमल गुरुङद्वारा सम्मान गरिएको थियो।
यसैगरि स्याङ्जा जिल्लाबाट हङकङ आई न्यून स्तरमा बसोबास गरिरहेका क्षेत्र नम्बर ३ स्थित ग्वांर्दी निवासी राजु रानालाई हङकङ डलर १००० सहयोग स्वरुप अध्यक्ष गुरुङले हस्तान्तरण गरे।
कार्यक्रम विजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने अभिप्रायले आयोजना गरिएको हुंदा स्याङ्जा जिल्ला अन्तर्गत रहेका केहि समाजका अध्यक्षहरु अकलादेवी समाजका अध्यक्ष भानबिर गुरुङ, भिरकोट आठ्थर् समाजका अध्यक्ष मन बहादुर गुरुङ यसैगरि राङभाङ समाजका अध्यक्ष प्रेम थापा लगायत सोंपाल समाजका उपाध्यक्ष तथा समितिकै सल्लाहकार याम गुरुङले ढिलै भए पनि नेपाली बर्ष २०७० सालको विजया दशमीको शुभकामना ब्यक्त गरे साथै नजिकै आईरहेको शुभ दिपावलीको पनि शुभकामना ब्यक्त गर्दै स्याङ्जालीहरु फुटेर होइन जुटेर अगाडि बढ्नु पर्ने धारणा ब्यक्त गरेका थिए र समितिले भविष्यमा स्याङ्जा जिल्लाको लागि केहि सामाजिक कार्यको योजना बनाउंनु पर्ने बिचार पनि ब्यक्त गरेका थिए।
शुभकामना आदान प्रदानकै क्रममा अध्यक्ष कोमल कान्छा गुरुङले ढिलै भए पनि नेपालीहरुको महान पर्व विजया दशमीको शुभकामना ब्यक्त गरे भने नजिकै आईरहेको शुभ दिपावलीको पनि शुभकामना ब्यक्त गरे र कार्यक्रमलाई सफल पार्न उपस्थित सम्पूर्ण स्याङ्जाबासीहरुलाई धन्यवाद ब्यक्त गरेका थिए। यसै क्रममा अवश्य पनि आउंने दिनहरुमा समितिले स्याङ्जा जिल्लाको लागि सामाजिक कार्यमा हात अगाडि बढाउंने प्रतिवद्धता ब्यक्त गर्दै सम्पूर्ण स्याङ्जालीहरुलाई हातमा हात र कांधमा कांध मिलाई अगाडि बढ्नु पर्ने बताए।
अन्तमा, बिशेष कारणले कार्यक्रममा उपस्थित जनाउंन नसकेका स्याङ्जाबासीहरुलाई आउंने दिनहरुको कार्यक्रममा उपस्थित हुनको लागि हार्दिक आग्रह गरे भने कार्यक्रममा उपस्थित हुन नसके पनि भित्री हिर्दयबाट जिल्लालाई नैतिक समर्थन गर्नु पर्ने बताए। पुन:उपस्थित सम्पूर्ण जिल्लाबासीहरुलाई उपस्थितिको लागि धन्यवाद ब्यक्त गर्दै कार्यक्रमलाई समापन गरे।
औपचारिक कार्यक्रम पश्चात भने देउसीभैलो कार्यक्रम गर्दै कार्यक्रममा उपस्थित जिल्लाप्रति माया मोह राख्ने महानुभावहरुले स्वेच्छाले दान-दक्षिणा गरेका थिए। केहि समय देउसीभैलोमा नाच्दै रम्दै उक्त देउसीभैलो कार्यक्रमबाट हङकङ डलर २०,००० आर्थिक संकलन गर्न सफल रह्यो।