मतदाता र उम्मेद्वार दुबैले शहर छाड्न थाले
ज्ञानेन्द्र खड्का
२१ असोज, काठमाडौं । मंसिर ४ को संविधासनभा चुनावमा टिकट पाएपछि उम्मेदवारहरु चुनाव जितेको मिठो सपना देख्दै जिल्ला र्फकन थालेका छन् । चुनावी टिकट हात लागेपछि मख्ख परेका उम्मेदवारहरु अहिले यतिबेला आफ्नो घरमा दसैं भित्र्याउन व्यस्त छन् ।
शरद ऋतुमा दसैंसहितका ठूला चाडपर्वहरु तिहार, छठ पनि पर्ने भएकाले योबेला देश परदेशमा रहेका नेपाली धमाधम घर फर्किरहेका छन् । हिन्दूदेखि मुस्लिमसम्मको चाड यही बेला परेकाले उम्मदेवारहरु चाड मनाउन गाउँ फर्केकाहरुलाई फकाउन व्यस्त हुन थालेका हुन् ।
टिकट लिएर गाउँ फर्केका उम्मेद्वारहरुसँगै मतदाताहरु पनि चाड मनाउन शहरबाट गाउँ जाने क्रम शुरु भइसकेको छ । गाउँ पसेका मतदातालाई फकाउन यतिबेला सबैजसो दलका नेताहरु घर दैलो अभियानमा लागेका छन् । ‘टिकट लिएर गाउँ पसेपछि हामी सिधै जनताको घर दैलोमा पुगेका छौं । यो दसहरा जनातकै घरमा मनाउने योनजामा छौं ।’, कांग्रेसका रौतहट क्षेत्र नं. २ का उम्मेदवार मोहमद अफताव आलमले भन्नुभयो, ‘देशविदेशबाट आउने दाजुभाइ दिदिवहिनालाई आफ्ना कुरा राख्न चाडपर्व उपयुक्त हुने भएकाले दसैंभरि आफ्नो चुनाव क्षेत्र घुम्ने योजनामा छु ।’
दसैंको नवरात्रभरि कतिपय उम्मेदवारहरु नवदुर्गाको पूजा गरेर चुनाव जित्ने शक्ति मागिरहेका छन् । पार्टीले टिकट दिए पनि जनताको भोट नपाएसम्म विजय सुनिश्चित नहुने भएकाले उम्मेदवारहरु नवदूर्गाको पूजा गरेर शक्ति आर्जनमा लागेका हुन् ।
‘अहिले पनि म घरदैलो अभियानमै छु । दसैंमा पनि त्यो कामलाई जारी राख्छु । जनतासँग शुभकामना लिंदैदिंदै प्रचार अभियान जारी राख्छु ।’, सुर्खेत ३ का एकिकृत माओवादीका उम्मेदवार नरबहादुर विष्टले भन्नुभयो, ‘दसैंको बीचमा वुथसम्म पुगेर प्रशिक्षण दिने र मतदातालाई भोट हाल्ने ज्ञानसम्वन्धी प्रशिक्षण पनि चलाउँदैछौ । राजनीतिक अभियानमै यो पटकको दसैं मनाइन्छ ।’
उम्मेद्वार विष्टले टिकट लिएर गाउँ पुगेपछि आफ्नो क्षेत्र नं. का ९ वटा गाविस घुमिसक्नु भएको छ । दसैं र तिहारमा थप ५ वटा गाविसमा पुगेर मतदातालाई भेट्ने योजनामा हुनुहुन्छ उम्मेदवार विष्ट । ‘दसैं र तिहार हाम्रा लागि मतदातासँग भलाकुसारी गर्ने गतिलो अवसर हो । त्यसैले यो अवसरको म भरपूर उपयोग गरेर मतदातालाई आफ्नो पक्षमा तान्ने तयारीमा छु ।’ विष्टले भन्नुभयो ।
०६४ सालको संविधानसभाको चुनावमा माओवादीका उम्मेदवारसँग पराजित हुनु भएका भोजपुर क्षेत्र नं. २ का एमालेका उम्मेदवार शेरधन राईलाई दसैं र चुनाव एकैचोटि लागेको छ । पार्टीले दिएको टिकटको पत्र बोकेर जिल्ला पुग्नु भएका उम्मेदवार राई दसैंमा पनि गाउँ घुम्ने योजना बनाउदैहुनुहुन्छ ।
‘मंसीरको चुनावका लागि हामीले भदौ देखि नै चुनावी प्रचार सुरु गरेका हौं । यो पटकको दसैं र तिहारमा पनि पार्टीले अभियान जारी राख्ने निर्णय गरेको छ ।’, भोजपुर क्षेत्र नं. २ का एमालेका उम्मेदवार शेरधन राईले भन्नुभयो, ‘दसैंमा हामी जिल्लाका दुवै क्षेत्र घुम्दैछौं । देश विदेशमा रहनुभएका हाम्रा शुभेच्छुक र कार्यकर्ताहरु गाउँ र्फकनुभएकाले वहाँहरुसम्म चुनावी अभियान पुर्याउन पनि घुम्नु जरुरी छ । यो पटकको दसैं वहाँहरुसँगै मनाउने योजना बनेको छ ।’
झापा क्षेत्र नं. २ का एमाओवादीका उम्मेदवार पूर्णसिंह राजवंशी दसैंको बीचमा पार्टीका भातृ संगठन र मोर्चाका सदस्यहरुसँग भेट गर्ने तयारीमा हुनुहुन्छ । ‘दसैंभरी शुभकामना आदानप्रदान र चियापान कार्यक्रमबाट मतदाता र कार्यकर्तासँग भेट हुने छ ।’, झापा २ का एमाओवादीका उम्मेदवार पूर्णसिंह राजवंशीले भन्नुभयो, ‘कातिक ९ गतेदेखि हामी घर दैलो अभियानमा जाँदैछौं । तिहारमा पनि घरदैलो अभियान जारी हुने छ ।’