यसरी बित्यो मेरो कमलरी जीवन


aaaaaaa२०३७ सालमा जन्मेकी म ८ वर्षकै उमेरमा कमलरी बस्न बाध्य हुनुप¥यो । यसबीच सातजनाको घरमा कमलरी बसेँ।सबभन्दा पहिले २०४५ मा डाँडागाउँका खेतुलाल अधिकारीको घरबाट मेरो कमलरी यात्रा सुरु भएको थियो । त्यहाँ मैले ५ वर्ष बिताएँ । त्यसपछि बलदेव अधिकारीको घरमा ४ वर्ष बसेँ । रोमहर्ष अधिकारी, बोधीलाल अधिकारी, पदम अधिकारी र विष्णुप्रसाद अधिकारीको घरमा २/२ वर्ष र रेवतीरमण देवकोटाको घरमा १ वर्ष कमलरी बसेँ । यी सबैको घर मेरो घर नजिकैको डाडाँगाउँमै थियो।

यसरी जमिनदार फेरिरहने आवश्यकता त थिएन, तर एउटाभन्दा अर्काको घरमा केही सुख होला कि, बढी पैसा पाइएला कि, थोत्रै भए पनि कपडा दिइहाल्छ कि भन्ने आसले साहु फेर्ने गरिन्थ्यो । हरेक माघी (माघे सङ्क्रान्तीका बेला मनाइने थारू समुदायको सबैभन्दा ठूलो पर्व) का बेला साहु फेर्ने स्वतन्त्रता पाइन्थ्यो।

कमैयाजस्तै कमलरी बस्ने/राख्ने प्रथा जमिनसँग जोडिएकाले विष्णुप्रसादको घरमा बाहेक अन्यत्र सबै ठाउँमा जग्गा कमाउन लिएबापत कमलरी बस्नुपरेको थियो । विष्णुप्रसादकहाँ भने २०६३ सालसम्मै कमलरी बसेकी थिएँ । सरकारले कमैया मुक्तिको घोषणा गरिसकेको भए पनि विकल्प अभावमा उनैकहाँ काम गर्नुपर्ने बाध्यता आइलागेको थियो । कहाँ जाने, के गर्ने, के खाने जस्ता प्रश्नको अभावमा उनकै घरमा ज्याला मजदूरी गर्नुको विकल्प थिएन । ममात्रै हैन, धेरै कमलरीको हालत मुक्ति घोषणापछि पनि यस्तै रह्यो । सरकारले कमैया मुक्तिसँगै कमलरी पनि राख्न नपाउने भनेकाले कमलरी राख्नेहरू केही कदम पछि हच्केका थिए तर पनि विना विकल्प यस्तो घोषणा गरेकाले हामी झनै अलमलमा परेका थियौं।

रेवतीरमणको घरमा कमलरी बस्नुको कारण भने फरक छ । उक्त घरमा मेरी नन्द कमलरी बसेकी थिइन् । सोही घरका एक पुरुषको यौन दुव्र्यवहारका कारण उनी गर्भवती भइन् । केही समय काम गर्न सकिनन् । कुनै कमलरी कुनै पनि कारणले अशक्त भइन् र काम गर्न सकिनन् भने कमलरीको घरबाट कोही मानिस काम गर्न सट्टाभर्ना पठाइदिनुपर्ने नियम थियो । त्यही नियमका कारण उनी काम गर्न नसक्ने भएपछि म एक वर्ष सट्टा कामका लागि गएकी थिएँ।

घरमा काम गर्न राखिएकी नन्दमाथि यौन शोषण गरेर उनीहरूले अपराध गरेका थिए । यसका लागि उनीहरूले सजाय पाउनुपथ्र्यो । उल्टै नन्दको सट्टा म काम गर्न गइदिनुप¥यो । न कतै उजुरबाजुर गर्ने हाम्रो हैसियत थियो, न यस्तो गर्नु अपराध हो भन्ने ज्ञान नै । उजुर गर्न कहाँ जाने र कसरी जाने भन्ने जानकारी पनि थिएन । यही कारण कारबाहीको दायरामा ल्याउनुपर्ने व्यक्तिकै सहयोगका लागि थप पीडित हुन बाध्य भएकी थिएँ म।

मैले थेगेका सबै जमिनदार एकैखाले थिएनन् । कोही साह्रै दयालु थिए भने कोही असाध्यै दुष्ट । कसैका बाबुआमा अलि माया गर्थे भने कसैका छोराछोरी राम्रो व्यवहार गर्थे । छोराको तुलनामा छोरीको केही सहानभूति रहन्थ्यो हामीमाथि । आफ्नै उमेरको छोरी भएका घरमा कमलरी बस्दा केही राहत महसुस हुन्थ्यो । महिलै भए पनि उनीहरूका आमा वा सासूको व्यवहार भने रुष्ट हुने गथ्र्यो । म पनि महिला, उनीहरू पनि महिला । एउटी महिलाले अर्की महिलाको पीडा किन बुझ्दैनन् ? झन् उनीहरू नै हामीमाथि किन यति खनिन्छन् ? मैले कहिल्यै बुझ्न सकिनँ । बरु कतिपय सवालमा घरका पुरुष हामीमाथि नरम र उदार देखिन्थे । महिला भने निकै कडा।

म कमलरी बसेकोमध्ये बलदेव र बोधीलालको व्यवहार तुलनात्मक रूपमा राम्रो थियो । बलदेव शिक्षक थिए । उनका दुई छोरी थिए । जेठी बबिताचाहिँ मेरै उमेरकी थिइन् । यही भएर होला, उनी मलाई असाध्यै माया गर्थिन् । लुकाइलुकाइ खानेकुरा दिन्थिन् । आफ्ना कपडा पनि लगाउन दिन्थिन् । यो परिवारले गर्ने व्यवहार पनि अरूको भन्दा राम्रो थियो । साह्रै दयालु स्वभावकी बबिताकै कारण मैले धेरै कुरा सिक्ने अवसर पाएकी छु । मनोरञ्जनको अवसर पाएकी छु । खबर र सूचना थाहा पाउन सकेकी छु । उनको व्यवहारप्रति त्यसैले अहिले पनि आभारी छु म।

खेतुलालकी छोरी भने बदमास थिइन् । थुक्ने, पिट्ने गर्थिन् । मुखैमा थरुनी थियो उनको । मानौं, थरुनीलाई जे गरे पनि हुन्छ । उनकी आमा र हजुरआमा पनि उस्तै हेप्ने । देखिनसहने । कुनै पनि कामको जसै नदिने । फुर्सदै नदिने । बसेको देखिनसहने । बरु यो घरका महिलाभन्दा घरमूली खेतुलाल नै ठीक थिए तुलना गरेर हेर्दा।

हामीमाथि यस्तो व्यवहार हुनुमा थारुलाई काम गर्ने मेसिनमात्र ठानिनु प्रमुख कारण थियो । जब मानिसको मान्यता नै दिइन्न भने त्यसमाथि सहानुभूति राखिएन भन्नुको अर्थ के हुन्छ र ! हामीले पैसा दिएर, ऋण दिएर ल्याएको हो, जे गरे पनि हुन्छ भन्ने मानसिकताका कारण कमलरीहरू हेपिनुसम्म हेपिन्थे । सताउने ठाउँ बाँकी रहेसम्म सताइन्थे।

म पनि त्यसरी सताइनेमध्येकी एक थिएँ।

सबै जमिनदार यस्तै कहाँ हुन्थे र ? धेरैजसोले चाहिनेभन्दा बढी नै सताए । धेरै जमिनदारनी पानी परेका बेला छाता ओढेर भए पनि फूलमा पानी हाल्नुपर्छ भन्नेखालका थिए । यिनीहरूलाई बस्न दिनै हुन्न, काममा जोताइरहनुपर्छ भन्ने मानसिकताले उनीहरूको दिमागमा गहिरो घर गरेको थियो।

मेरा साहुमध्ये विष्णुप्रसाद र रेवतीको घरमा निकै नराम्रो व्यवहार सहनुप¥यो । खासगरी विष्णुप्रसादकी साहिँली बुहारीले असाध्यै नराम्रो व्यवहार गर्थिन् । खाली गाली गरिरहने । तँ त मरिगए पनि हुन्थ्यो भन्ने गर्थिन् । थारु भन्नेबित्तिकै तल्लो व्यवहार गर्नुपर्छ भन्ने उनीहरूलाई लाग्दोरहेछ । थाहा छैन, किन उनीहरू म जस्तो एउटी गरिब असहायविरुद्ध यति कठोर व्यवहार गर्थे भन्ने ।
कसैको परिवार नै नराम्रो व्यवहार गर्ने गर्थे भने कसैको चाहिँ परिवारमा कोही न कोही अलि दयालु व्यवहार गर्थे । जस्तो– रेवतीरमण साह्रै हप्काउँथे । असाध्यै नराम्रो व्यवहार गर्थे । तर उनकी बूढीचाहिँ अलि नम्र थिइन् । राम्रो व्यवहार गर्थिन् । कतिपय सन्दर्भमा घरका एक जना सदस्यमात्र राम्रो भइदिँदा पनि हामीलाई निकै राहत महसुस हुन्थ्यो । मन बुझाउने बाटो प्राप्त हुन्थ्यो तर सबै घरमा यस्तो अवस्था थिएन । त्यसैले कमलरी बसेको धेरै समय दुःख र वेदनाकै बीच बित्यो । अझ अचम्मको कुरा त यो थियो, घरका कुनै सदस्यले हामीमाथि अलि सदासय देखाए भने अरुले उसलाई ख्याउँख्याउँ गर्थे । यसलाई किन पुल्पुल्याउने हँ भनेर उल्टै हकार्थे । त्यसैले हामीप्रति अलि नरम हुनेले पनि यस्तो व्यवहार लुकेरमात्र प्रदर्शन गर्नुपर्ने अवस्था थियो।

बिहे गर्नुअघिसम्म त यौन दुव्र्यवहारको दृष्टिले हेरे, हेरे । कतिपय घरमा त बिहे गरिसकेपछि पनि यस्तो दृष्टिले हेर्ने क्रम रोकिएन । रेवती यस्तो मामलामा कमजोर थिए । उनकी श्रीमतीलाई यस’bout बताएँ पनि । यस्तो व्यवहार अन्यत्र पनि भएको छ । श्रीमतीहरूलाई भनेपछि उनीहरू श्रीमानलाई हप्काउन त हप्काउँथे तर किन कुरा लाइस् भनेर फेरि उल्टै हामीले नै गाली र धम्की खानुपथ्र्यो । ‘दुव्र्यवहार सहन तयार रहनुपर्ने तर कसैलाई भन्न नपाइने’ गजबको चलन थियो कमलरी प्रथाभित्र । धान निफन्न बस्दा होस् वा घाँस ल्याइरहेका बेला, मेलापात जाँदा होस् वा भाँडा माझिरहेका बेला, यस्तो दुव्र्यवहारका थुप्रै प्रयास भए । तर कुनैलाई पनि सफल हुन दिइन । जुन मेरा लागि निकै ठूलो सफलता हो।

कमलरीका लागि छुट्टै कोठा वा सुरक्षित स्थान हुँदैनथ्यो । प्रायः सबै ठाउँमा हामीलाई भर्‍याङमुनि सुताइन्थ्यो । कि त सामान राखेको ठाउँ (स्टोर) मा सुत्न लगाइन्थ्यो । कहीँकहीँ भने गोठमा पनि सुतियो । यस्ता कुनै पनि ठाउँ सुरक्षित नहुने भएकाले उमेर बढ्दै जाँदा झन् झन् डर लाग्दै जान्थ्यो । घरकै मानिसबाट खतरा त छ नै, साथै यस्ता ठाउँमा बाहिरी मान्छे पनि सहजै आउन सक्ने भएकाले त्यसको जोखिम पनि उत्तिकै हुने गर्छ । धन्न, मेरा थुप्रै कमलरी साथीलाई यस्तो बेला समस्या आइपरे पनि मलाई भने त्यस्तो सामना गर्नुपरेन।

खानेकुरामा पनि विभेद हुन्थ्यो । कोहीकोहीले मात्र आफ्नै भान्साको खानेकुरा दिन्थे । धेरैले चाहिँ हामी कमलरीका लागि खाना नै छुट्टै पकाउँथे । मानौं, हामीले गतिलो र मीठो खान हुँदैन । चामल पखालिदिने, मसला पिँधिदिने, तरकारी केलाइदिने, पानी ठीक पारिदिनेजस्ता सबै काम मैले गरिदिनुपथ्र्यो । यसरी सबै ठीकठाक पारिदिए पनि पकाउन भने उनीहरू आफैं अघि सर्थे । किनकि हामी थारु जातका भएकाले उनीहरू छोएको खाँदैनथे । तर अचम्म, गाउँमा यसरी हामीले पकाएको नखाए पनि बजारमा भने चल्थ्यो । खेतुलालको घर बजारमा थियो, त्यसैले त्यहाँ भने पकाएको पनि चल्थ्यो । गाउँमा नचल्ने, अरुले देख्नेगरी खान नहुने तर बजारमा चाहिँ कसैले नदेख्ने भएकाले चल्ने, गजबकै बानीबेहोरा थियो जमिनदारहरूको।

२०६० सालमा बल्ल कमैयाबाट मुक्त भएपछि श्रीमानले बालुवा, गिटी बोक्ने, घर बनाउने क्रममा मजदूरी गर्ने काम गर्नुभयो । एकातर्फ ज्याला नै निकै कम दिन्थे । दिनभरको ८० देखि १०० रुपैयाँसम्म दिन्थे, त्यो पनि काम गरेको धेरै समयपछि । अर्कोतर्फ कतिले त काम गरेको पैसै नदिने । यो तालले खानै पनि पुगेन । बडो मुस्किल भयो जिन्दगी । खानै नपुग्ने भएपछि यसरी काम गर्नुको औचित्यमाथि नै प्रश्न खडा भयो । यो अवस्थाले हामी दुवैलाई निकै चिन्तित पनि बनायो । के गर्ने, के गर्ने भन्ने दोधार उत्पन्न भयो।

अब बूढाबूढी नै कमैया÷कमलरी नबस्ने त भनियो तर गरिखाने जग्गा नभएकाले साह्रै गाह्रो भयो । मलाई त कसैले काम पनि दिएन । पहिलो कुरा म हकी स्वभावकी र विरोध नसहनेखालकी थिएँ, अर्कोतर्फ महिलाले धेरै काम गर्न सक्दैनन् भन्ने भेदभावपूर्ण सोच । यही कारण मलाई मजदूरी कामसमेत दिँदैनथे गाउँमा । एकातिर श्रीमानको कमाइले खानै नपुग्ने, अर्कोतर्फ आफूचाहिँ त्यत्तिकै बस्नुपर्ने अवस्थाले झन् पीडामाथि पीडा थप्यो । त्यसैले मुक्त भइसकेपछि पनि जमिनदारकै घरमा काम गर्नुको विकल्प नै भएन । बिनायोजना हचुवा भरमा कमैया मुक्तिको घोषणा गरिएकाले यो अवस्था आइलागेको थियो । म पनि त्यसैको सिकार भइरहेँ । २०६३ सालसम्म अर्थात् कमैया मुक्तिको सरकारी घोषणापछि पनि ६ वर्ष कमलरी बस्न बाध्य हुनुको प्रमुख कारण यही थियो।

मलाई गाना सुन्न खुब मन पथ्र्यो तर के गर्ने ? आफूसँग रेडियो पनि थिएन । साहुको घरमा भए पनि कसले सुन्न दिन्थ्यो र ? बलदेवकी छोरी बबिता फिल्मका कहानी खुब सुनाउँथिन । म त्यही सुनेर पनि निकै मनोरञ्जन महसुस गर्थें । मलाई गाना मन पर्ने भएकै कारण काम गर्ने ठाउँमा उनी रेडियो ल्याएर राखिदिन्थिन् । अनि मसँग गफ गरेर बस्थिन् । घरमा भने मसँग गफ गर्दा मैले काम कम गर्छु भनेर उनलाई गाली गर्थे । उनलाई मसँग गफिएर नबरालिन बाबुआमा सुझाउँथे । उनीहरूको घर गाउँको एकान्तमा थियो । त्यसैले अरु साथी नभएर पनि हुन सक्छ, बबिता मलाई निकै पछ्याउँथिन् । हाम्रो सम्बन्ध यही कारण एकदमै राम्रो थियो । जुन अझैसम्म पनि कायम छ।

सभासद् भएपछि निकै पटक गाउँ गइयो । यसबीच मैले गाडी पनि चलाउन सिकेकी थिएँ । संसदको प्राकृतिक स्रोत साधन समितिको सभापति भएकाले मलाई सरकारी तवरबाट गाडी सुविधा पनि उपलब्ध गराइएको थियो । त्यही गाडी चढ्ने क्रममा मैले ड्राइभर भाइसँग सिकाइ मागेकी थिएँ । म राम्रैसँग गाडी चलाउन सक्छु अहिले । एक दिन गाउँबाट घोराही (दाङ सदरमुकाम) आउँदै थिएँ । बाटोमा मेरा पहिलेका जमिनदार पदम अधिकारी गाडी कुरेर बसेका रहेछन् । मैले आफैं चलाएर आएको गाडी उनको अगाडि रोकेँ र कहाँ जान लागेको बाजे भनेर सोधेँ । उनले दोहोर्‍याई तेहेर्‍याई हात थाप्लोमा राखेर मेरो अनुहार नियाले । अर्थात् गाडी चलाउने मान्छे उनकै घरमा पहिले कमलरी बसेकी शान्ता नै हो भनेर पत्याउन हम्मेहम्मे पर्‍यो उनलाई।

त्यसपछि उनले ‘ए… शान्ता पो रहिछ’ भनेर अचम्म माने । बस्नूस्, म पुर्‍याइदिन्छु भनेँ । निकै अप्ठ्यारो मानेर बसे । ओहो गाडी पनि चलाउने भइसकिस् भनेर फेरि अचम्म मान्दै सोधे । ‘नसकिने भो बा…’ भनेर सुस्केरा पनि हाले एकपटक मजैले।

गाडीमा पुराना कुरा पनि भए । बाजेले मेरो प्रगति देखेर निकै खुसी लागेको बताए । भने– पत्याउँदिनस् होला, तर म तेरो प्रगति देखेर कम्ता खुसी छैन है शान्ता । अनि उनले ‘जतिसुकै ठूलो भए पनि म त तँ नै भन्छु’ नरिसा है पनि भने । मैले पनि बाजेले तपाईं भन्नुपर्दैन, म पनि तपाईंहरूकै छोरी हुँ भन्ने जवाफ दिएँ । मैले गाडी चलाएको, बोलेको जस्ता सबै कुरा राम्रैसँग नियाले उनले । एउटै घरमा लामो समय बसेपछि माया त लागिहाल्छ । सायद बाजेले त्यही माया प्रदर्शन गरे ममाथि पनि।

म जस–जसको घरमा बसेकी थिएँ, ती घरका छोरीहरू फोन गर्छन् अहिले पनि । अनि ‘अब त तपाईं भन्नुपर्ला हैन ?’ भनेर जिस्कन्छन् पनि । तँ त निकै व्यस्त भइस्, हामीलाई मतलब पनि गर्दैनस् भन्छन् । कतिपयले खाना खानेगरी घरमा आउने निम्तो पनि दिन्छन् । गएको तिहारमा जमिनदारका छोरीहरूसँग मिलेर भैली खेलियो । जब उनीहरूसँग भेट हुन्छ, निकैबेर गफिन्छौं हामी । त्यतिबेलाका कुरा आपसमा उक्काउँछौं । अनि त्यसलाई रमाइलोमा ढाल्छौं । विगतका नराम्रा कुरा कोट्याएर फाइदै पनि के छ र?

मैले टेलिभिजन वा कुनै सभा वा कार्यक्रममा बोलेको देखेर जमिनदारका छोरीहरूलाई अचम्म लाग्दोरहेछ । त्यसैले उनीहरूमध्ये धेरैले भन्ने गर्छन्– सांसद त अचेल जो पनि हुन्छ, ठूलो कुरा भएन, तर तँ यति राम्रो बोल्ने कसरी भइस् ? तँलाई कसले सिकायो यसरी बोल्न ? अनि प्रश्नका बाढी तेस्र्याउँछन्– कम्प्युटर कसरी सिकिस् ? गाडी कसरी चलाउँछेस् ? त्यतिमात्र हैन, उनीहरू हामीलाई पनि तँ जस्तै बनाइदे न भन्छन् र क्लास लिन आइज पनि भनेर जिस्कन्छन्।

जब म टेलिभिजनमा अन्तर्वार्ता दिइरहेकी हुन्छु, उनीहरू सबैलाई मेरो’bout बताउँछन् र मेरो साथी हो भनेर गर्व गर्छन् रे । उनीहरूका यस्ता प्रश्न तथा प्रतिक्रियाले मलाई झनै हौसला दिइरहेको छ, निरन्तर अघि बढ्न।

जमिनदारका छोरी–बुहारीमात्र हैन, जमिनदार पनि आउँछन् मकहाँ । एक दिन खेतुलाल आफैं आए । उनकी छोरी हराइछन् । केही गर्दा पनि पत्तो नलागेको सुनाए । अनि खोजीकार्यका लागि सहयोग गरिदिन पनि अनुरोध गरे । मैले पनि सकेको सहयोग गर्ने बचन दिएँ । गृह सचिव गोविन्द कुसुम थिए । उनलाई आफ्नै गाडीमा हालेर लगेँ र भेटाइदिएँ । बेपत्ता छोरीको खोजीमा सहयोग पुर्‍याइदिन अनुरोध पनि गरेँ । बुहारीहरू पनि आउँछन् । कतै जागिर मिल्दैन ? ल न सहयोग गर भन्छन् । म पनि सकेसम्म प्रयास गर्छु।

जमिनदारका छोरी–बुहारी हामीलाई पनि तँ जस्तै बनाइदे न भनेर जिस्कन्छन् । हामी पनि संघर्ष गर्न तयार छौं भनेर सुनाउँछन् । म भने म जस्तो बन्न सहज छैन, सबैथरी त्याग्न सक्नुपर्छ भनिदिन्छु । अनि उनीहरू ‘कमलरी बस्नुपर्छ हो ?’ भनेर सोध्छन् । मैले पर्दैन भन्ने गरेकी छु । यसैगरी थुप्रै वार्ता हुने गरेका छन् हामीबीच । एकापसमा सम्बन्ध राम्रै छ । बिहे र अन्य कार्यक्रममा पनि एकअर्कालाई निम्ता गर्ने, सम्झने क्रम कायमै छ । उनीहरूले अहिले मलाई जागिर लगाउन सक्ने व्यक्तिका रूपमा स्वीकार गर्नु नै पनि मेरा लागि निकै ठूलो उपलब्धि हो जस्तो लाग्छ।

मेरो अहिले पनि जमिनदार, उनीहरूका छोराछोरी र बुहारीहरूसँग राम्रो सम्बन्ध छ । उनीहरू पनि मलाई राम्रो दृष्टिले हेर्छन् । मैले पनि पूर्वाग्रह राखेर बस्नुपर्ने आवश्यकता ठानेकी छैन । किनकि त्यतिबेला हाम्रो गाउँठाउँमा गरिब थारुका छोरीलाई कमलरीका रूपमा राख्ने र काम लगाउने चलन नै थियो । सोझो अर्थमा भन्दा त्यो प्रथाका रूपमा थियो । यसमा कुनै एकाध जमिनदारलाई मात्र दोष दिँदा उनीहरूमाथि अन्याय हुन जान्छ । जहाँसम्म पीडा दिने, दुःख दिने कार्य छ, त्यसमा भने धेरथोर कमजोरी, गल्ती अवश्य छ । हामीले मूल्यांकन गर्नुपर्ने पनि त्यही पक्षमा हो जस्तो लाग्छ । यसैले मैले कुनै जमिनदारमाथि पनि बदलाको भावना लिने वा त्यतिबेलाको सम्झेर आक्रोश लिएर बस्नुपर्ने ठानेकी छैन।

सायद, मेरो यही बुझाइका कारण हुन सक्छ, सबैसँग मेरो सम्बन्ध अहिले पनि उत्तिकै गाढा छ । छरछिमेक र आफन्तको सम्बन्ध जस्तो छ, मेरो पनि त्यस्तै छ उनीहरूसँग । त्यसैले त उनीहरू पनि मसँग टाढा हैन, नजिक हुन चाहन्छन् । बोलचाल गर्न चाहन्छन् । घुलमिल हुन खोज्छन् । सम्बन्ध बनाइरहन चाहन्छन् । मेरो पनि सोच यही हो।

मेरो भावना यस्तो छ तर पनि गाउँमा अनौठा दृश्य आइलाग्छन् कहिलेकाहीँ । विष्णुकी बुहारीसँग म आफैं बोल्न खोज्छु विगत बिर्सेर । तर उनी मेरो अनुहारमा सिधै हेर्न पनि सक्दिनन् । सायद, पहिलेको व्यवहारले पश्चाताप हुन्छ होला । गएको तिहारमा पनि भैली खेल्ने क्रममा बोल्न खोजेँ । तर बोल्नै चाहिनन् । मलाई पहिले नराम्रो व्यवहार गर्ने अरुसँग पनि बोल्न खोज्छु । ‘सञ्चै हुनुहुन्छ’ भनेर आफैं कुरा सुरु गर्न चाहन्छु । तर उनीहरू आफैं बोल्न रुचाउँदैनन् । ‘अँ’ भन्छन् र पन्छिन् खोजिहाल्छन् । आफैं टाढिन चाहन्छन् । नजिक आउन, बोलचाल गर्न निकै अप्ठ्यारो मान्छन्।

यस्ता दृश्य गाउँ जाँदा वा बाटोघाटोमा भेट हुँदा धेरै पटक दोहोरिएका छन् । एकातिर रमाइलो लाग्छ यस्तो दृश्य देखेर भने अर्कोतिर उनीहरूले अझै पनि ती कुरा मनमा राखेर बसेको देख्दा नमजा पनि लाग्छ । आखिर एउटै कुरा वर्षौंसम्म मनमा राखेर फाइदै पनि के हुन्छ र ? मान्छे त समयअनुसार चल्न पो जान्नुपर्छ त!

तस्बिर सौजन्यः शान्ता चौधरी

Source: setopati

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.