बालकृष्ण बस्नेत
काठमाडौ, असार १३ – चुनावमा सहभागिताका लागि नेकपा-माओवादीले राजनीतिक सहमति गरी संविधानसभाको नयाँ मिति घोषणा गर्नुपर्ने र राष्ट्रियताको मुद्दा सम्बोधन गर्नुपर्ने नयाँ सर्त राख्ने भएको छ । ती दुई माग सम्बोधन भए एमाओवादीसँग चुनावी एकताका लागि समेत आफूहरू सकारात्मक हुने निष्कर्षमा माओवादी पुगेको छ ।
उक्त निष्कर्षसहितको सन्देश माओवादीले एमाओवादी नेतृत्वसमक्ष चाँडै राख्ने जनाएको छ । ‘एकताको प्रस्ताव राखेकाले पहिले एमाओवादी र यही सर्त हामी ४ दलको संयन्त्रलाई समेत राख्ने भएका छौं,’ माओवादीका एक पोलिटब्युरो सदस्यले कान्तिपुरलाई बताए ।
अघिल्लो दिन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी अध्यक्ष मोहन वैद्यलाई भेटी पार्टी एकीकरण र चुनावमा सहभागिता’bout प्रस्ताव राखेका थिए । दाहालको प्रस्तावलाई पार्टीमा छलफलपछि टुंगो लगाउने जवाफ दिएका वैद्यले पदाधिकारीसँगको छलफलपछि दुई सर्तहरू अघि बढाउने टुंगो लगाएका हुन् ।
चार दलको एकल निर्णयका आधारमा सरकारले चुनाव घोषणा गरेको र त्यसअघि टुंग्याउनुपर्ने विषयका लागि समय अभाव हुने भन्दै उसले मिति सार्नुपर्ने निर्णय गरेको हो । संविधानसभामा जानुअघि संघीयता, शासकीय स्वरूपसहित विवादका मुख्य विषयलाई राजनीतिक गोलमेच सम्मेलनबाट टुंगो लगाउनुपर्ने, विदेशी हस्तक्षेपका भरमा भएका नियुक्ति खारेज हुनुपर्ने र परिणाममुखी संविधानसभाका लागि सबै दललाई सहभागी गराउने वातावरण बन्नुपर्ने भन्ने अडानलाई कुनै हालतमा छाड्न नहुने सुझाव केन्द्रीय पदाधिकारीहरूले अध्यक्ष वैद्यलाई दिएका थिए ।
राष्ट्रियताका मुद्दाअन्तर्गत नागरिकता विधेयकमार्फत खासगरी मधेसमा बाँडिएको नागरिकताको विरोधलाई माओवादीले प्रमुखताका साथ उठाउने भएको छ । यी समस्यालाई सम्बोधन नगरी आफ्नो पार्टी कुनै हालतमा चुनावमा सहभागी नहुने माओवादी प्रवक्ता पम्फा भुसालले बताइन् ।
‘मधेसमा भएका नेपालीलाई नागरिकता नदिने भन्ने होइन । तर, गैरनेपालीलाई नागरिकता दिन जारी भएको अध्यादेश मुलुकको हितविपरीत छ,’ भुसालले भनिन् । ‘त्यही कारण हामी मंसिर ४ को निर्वाचन मिति खारेज गरी नयाँ प्रक्रियामा जानुपर्छ भन्ने टुंगोमा पुगेका हौं,’ उनले भनिन् । दुई पार्टी एकीकरणको पक्षमा सक्रिय एमाओवादी सचिव कृष्णबहादुर महराको धोबिघाटस्थित निवासमा मंगलबार दाहालले माओवादी अध्यक्ष वैद्यसामु पार्टी एकीकरण र चुनावमा सहभागिताका लागि औपचारिक प्रस्ताव राखेका थिए । दाहालले पार्टी एकीकरण गरी चुनावमा भाग लिनुपर्ने, दोस्रो एकीकरण सम्भव नभए पनि चुनावी तालमेल गर्नुपर्ने प्रस्ताव वैद्यलाई राखेका थिए । त्यसका लागि अहिले क्रियाशील दलहरूको उच्चस्तरीय समिति र मन्त्रिमण्डलमा समेत सहभागी हुन वैद्यलाई आग्रह गरेका थिए ।
जवाफमा वैद्यले दुवै प्रस्तावलाई आफूले तत्काल स्वीकार्न नसक्ने बताएका थिए । अध्यक्ष दाहालले फुटको औचित्य सावित नभएकाले मिल्नुपर्ने आवश्यकतालाई पटक-पटक राखेका थिए ।
वैद्यको भनाइ राख्दै माओवादीका एक पदाधिकारीले कान्तिपुरलाई भने, फुटले हामीलाई राष्ट्रिय राजनीतिमा कमजोर बनाएको छ भनेर दाहालले स्वीकार्नु भएको छ । फुटको औचित्यताको कुरामा दुवै पार्टीले गम्भीरता देखाई अघि बढ्ने हो भने त्यसको आधार खोजौं । अहिले नै चुनावको कुरा नगरौं भनी मैले जवाफ दिए ।’
Baidya jasto ghamad neta ani ghamandi aru kohi nai chhain kin ki barha barsa dhunroma rakhe pani bango vane jai kahilai budhdhi naauni vayo. Kin ki ab baihya neta giri gerne jamana gayo.