दीपेन्द्र विष्ट
काठमाडौ, असार ८ – नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाले एमाओवादीले भनेजस्तो मधेश स्वायत्त प्रदेश आफ्नो पार्टीलाई मान्य नहुँने धारणा राखेका छन् । एमाओवादीले चुनावी रणनीति अनुरुप मधेस स्वायत्त प्रदेश गठन गर्ने तयारी गरेपछि कोइरालाले यस्तो धारणा राखेका हुन् ।
शनिवार सुन्दरीजलस्थित वीपी संग्रहालयमा कान्तिपुरसंग कुरा गर्दै कोइरालालले मधेश स्वयत्त प्रदेशलाई संबिधानसभाबाट अनुमोदन हुन नदिने दाबी गरे । ‘चुनावी रणनीतिमा उसले जे सुकै प्रदेश बनाओस्’, कोइरालाले भने,’संघीयतामा जाँदा हामी मधेश स्वयत्त प्रदेश बनाउँन दिन्नौँ ।’
आगामी निर्वाचनलाई केन्द्रित गरेर एमाओवादीले मिथिला, भोजपुरा, अवध राज्यलाई गाँभेर मधेश स्वायत्त प्रदेश बनाउने तयारी गरेको हो । यस्तो प्रदेशले मधेशका ११ जिल्ला समेट्छन् । सभापति कोइरालले मधेशमा फरक फरक प्रदेश बनाउनुपर्छ भन्ने पक्षमा आफ्नो पार्टी रहेको प्रष्ट्याए ।
‘बहस र छलफल गरौ ५/६ वटा राज्य हुनसक्छन’, उनले भने,’तराईका साथीहरु नै एक मधेसको पक्षमा छैनन् ।’
उनले आन्दोलनरत दल नेकपा-माओवादी लगायत अन्य साना दलसाग पनि निर्वाचन प्रक्रियामा सहभागिताका लागि छलफल भइरहेको खुलाए । ‘मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको राजिनामा बाहेक सबै बिषयमा सहमति गर्न सकिन्छ’, उनले भने ।