काठमाडौ, असार ५ – यता नेपालले सगरमाथा आरोहणको हीरक महोत्सव कार्यक्रम गररिहँदा उता, बेलायतमा चाहिँ महारानी एलिजावेथ द्वितीयाले पनि प्रथम आरोहीका सन्तानलाई अतिथि बनाएर आफूले गद्दी सम्हालेको ६०औँ वर्षगाँठ मनाइन् । प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पाका छोरा जाम्लिङ र सर एडमन्ड हिलारीका छोरा पिटर हिलारी सहभागी भएको रानी एलिजावेथको उक्त कार्यक्रमलाई विश्वभरका मिडियाले भव्य ‘कभरेज’ गरे ।
त्यो समाचारको चर्चा र ग्ल्यामर सेलाउन नपाउँदै विदेशी आरोहीलाई सगरमाथा आधार शिविर पुर्याएर फर्केको शेर्पा सहयोगीहरूको एउटा समूह काठमाडौँमा ‘सगरमाथा कहिल्यै पनि नेपालीको हुन नसकेको’ भन्दै बिलौना गररिहेको थियो। नेपाल पर्वतारोहण संघको कार्यालय नक्सालमा अध्यक्ष जिङवा जाङबु शेर्पासँग उनीहरू सगरमाथाबाट नेपालले खास लाभ लिन नसकेको बताइरहेका थिए ।
हुन पनि हो, भौतिक रूपमा विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा नेपालमा रहे पनि यससँग गाँसिएका भावना, सौन्दर्य, अर्थतन्त्र र मिथकहरू हाम्रा आफ्नै हुन सकेका छैनन्। सगरमाथाको देश भनेर गर्वले छाती फुलाए पनि या सगरमाथा विम्ब बनाएर अनेकन् गीत र कविता लेखिए पनि पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पा नै सधैँका लागि नेपाली भइरहन सकेनन् । अरू त के कुरा भयो र !