अमन कोइराला
सर्लाही, जेष्ठ ३० – नेकपा-माओवादीका नेता नेत्रविक्रम चन्दले आफ्नो पार्टीको सहभागिता विना निर्वाचन संभव नहुने वताएका छन् । चार दलले गर्ने चुनाव पूर्व राजाले गरेको जस्तै हुने उनको दावी थियो । चार दलले मुलुकलाई प्रतिगमन तर्फ धकेलेको बताउँदै चन्दले बिहीवार सर्लाहीको हरिवनमा पत्रकारसंग कुरा गर्दै भने, ‘यस्तो अबस्थामा हामी निर्वाचनमा जान्नौं, माओवादी विनाको निर्वाचन कल्पना सम्म गर्न सकिन्न् ।’
अन्तरीम संविधानले कल्पनै नगरेको न्यायाधीशको नेतृत्वसमा सरकार गठन, जनआन्दोलन दवाउने लोकमान कार्की जस्ता ब्यक्ति अख्तियार प्रमुखमा नियुक्त हुनुले चारदल प्रतिगमन ल्याउन उद्यत रहेको स्पष्ट भएको उनले उल्लेख गरे ।
‘हाम्रो पार्टीको मात्र कुरा हैन,’ उनले भने, ‘चारदलले गरेका यस्ता निर्णयवाट कुनै जनतापनि सन्तुष्ट छैनन् । जनता असन्तुष्ट हुनु भनेको राम्रो लक्षण हैन् ।
प्रतिगमन संस्थागत गर्न हुन थालेको निर्वाचनमा आफ्नो पार्टी कुनै हालतमा सहभागी नहुने उनले स्पष्ट पारे । प्रतिगमन बिरुद्ध जनता जागरुक बनाउने अभियान पार्टीले थालेको उनले वताए । असन्तुष्ट जनताले जे पनि गर्न सक्ने उनले चेतावनी दिए ।
चुनाव हुनुमात्र प्रजातन्त्रको पर्याय नभएको औंल्याउँदै उनले प्रक्रिया र जनभावनाको कदर गर्न सक्नु पर्ने उल्लेख गरे ।
अर्काे प्रसंगमा उनले जनता आक्रोसित पार्ने काम गरे बिद्रोह स्वभाविक रुपमा हुने भन्दै हतियार सहायक मात्र भएको वताए । ‘जनतामा असन्तुष्टी बढेपछि जे पनि हुन सक्छ,’ उनले भने, ‘हतियार भनेको त सहायक मात्र हो ।’