३० जेठ, काठमाण्डौं । विदेशी पाहुनाले नेपालमा आएर गर्ने खर्च १६ बर्षयताकै न्यून भएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको २०१२ को पर्यटन क्षेत्रको अध्ययनमा गत बर्ष एक पर्यटकले दैनिक औसत ३४ दशमलब ९३ अमेरिकी डलर (३ हजार रुपैयाँ) खर्चिने गरेका छन् । सन १९९६ यता पर्यटकको खर्च सन् २०१२ भन्दा बढी थियो ।
मन्त्रालयका अनुसार भारतीय धार्मिक पर्यटक बढ्दो आगमन र चिनियाँ पाहुनाको कम बसाइ अवधिकले औसत खर्च घटेको हो । तर व्यवसायी भने सरकारको उक्त तथ्यांकमा विश्वस्त हुन नसकेको कान्तिपुर दैनिकमा खबर छ ।
‘पर्यटन बर्ष घोषणा भएपछि होटलको क्षमता पनि बढेको छ । त्यस्तै, सिजनमा कोठाको मूल्य पनि बढेकै छ,’ नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्सिज (नाटा) का अध्यक्ष पवित्र कार्कीले भने, ‘कुल आगमन केही महिना तल खस्के पनि यसरी प्रभाव पर्नेगरी घटेको छैन् । यस्तोमा खर्च नबढेपनि सन्तुलित रहनुपथ्र्यो ।’
सरकारले २०११ लाई पर्यटन बर्षको घोषणा गर्दा २०१५ सम्म पर्यटकले गर्ने खर्चलाई दैनिक ५० अमेरिकी डलर करिब ४ हजार ५ सय रुपैयाँभन्दा माथि पुर्याउने लक्ष्य लिएको छ ।