जनकपुरधाम- व्यापारीले काँचो आँप कार्बाइड नामक रसायन हालेर पकाउने तथा बजारमा बेच्ने गरेकाले यसबाट जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ।महङ्गोमा बेचेर बढी आर्थिक लाभ लिने लोभमा व्यापारीले काँचो आँपमा क्याल्सियम कार्बाइडजस्ता अखाद्य वस्तु मिसाएर पकाउने र बजारमा बेच्ने गरेकाले यस्ता फलको सेवन मन्द विष सरह हुने विज्ञहरू बताउँछन्।
कार्बाइडको प्रयोगले श्वासनली, घाँटी, आँखा, छालामा नकारात्मक प्रभाव पार्नाका साथै मस्तिष्कमा अक्सिजनको मात्रामा कमी भइटाउको दुख्ने, आँखा धमिलो देख्ने, रिङ्गटा लाग्ने, बोली लरबराउने, श्वास फेर्न समस्या हुने, पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने, फोक्सो, मुटु, मिर्गौलामा समेत घातक असर पार्छ।
चिकित्सक डा सुरेन्द्रकुमार कर्ण भने, ‘कार्बाइड हालेको आँप खानाले गर्भवती महिलाको गर्भ तुहिने र अर्बुद रोग समेत हुने सम्भावना रहन्छ।’ ‘अहिले दैनिक १५ टन जति आँप भारतको दिल्ली, कोलकाता, मद्रास, सहारनपुरबाट जनकपुर आउँछ,’ फलफूल व्यावसायी सङ्घ जनकपुरका महासचिव भूवनेश्वर पूर्वे भने, ‘भारतीय आँप वैशाखको सुरुदेखि ने आउने गर्छ।’
व्यापारीहरूले फलफूललाई छिट्टै पकाउन क्याल्सियम कार्बाइडजस्ता रसायन हालेर पकाउँदा आँप छिट्टै पाक्छ। जनकपुरमा ठेलामा आँपको व्यापार गर्दै आएका भारत सोनवर्षाका शिवशङ्कर यादवले भने, ‘खासगरी आँप प्राकृतिकरूपमा पाक्ने समय असार अन्तिमदेखि हो तर अहिले काँचो आँपमा रसायन हालेर पकाउने र बजारमा बिक्री गर्ने गरिन्छ जुन स्वास्थ्यका लागि हानिकारक छ।
यस वर्ष धनुषामा दुई हजार ९४५ मेटि्रक टन आँप फल्ने अनुमान गरिएको छ।कार्बाइड हालेर पकाइएको बम्बई आँप अहिले बजारमा प्रतिकिलो रु ६० देखि ८० मा बिक्री भइरहेको छ।
पहेँलो पाकेको र खाउँखाउँ लाग्नेजस्तो देखिने आँप माथिबाट राम्रो देखिएपनि यसले स्वास्थ्यलाई बिगार्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।काँचो आँपमा कार्बाइड राख्दा २४ घण्टाभित्र पाक्छ। गुणस्तर विभागले यस्ता मन्द विष हालेर पकाइएको आँप बिक्री गर्न रोक लगाउनुपर्ने माग जनकपुरवासीको छ।