ओढारमा एक्लै बस्छन् ९८ बर्षीय चेपाङ बृद्ध


प्रताप विष्ट
image.phpभार्ता (मकवानपुर), जेष्ठ १९ – ओडारमा आगो बलिरहेको छ । ढुंगा गाडेर बनाइएको अगेनामा कराही बसालिएको छ । सेतै फुलेका वृद्ध गिट्ठा (लाक) उसिन्ने तरखरमा छन् ।खुर्पाले कनीकुथी तासेर उसिन्न हालेपछि उनी ओडार पुगेको यस संवाददातालाई देखेर आत्तिए ।

‘यिनी को हुन् ?’ छेउमै बसेका गाउँले इन्द्र चेपाङलाई आफ्नै भाषामा सोधे । ‘पत्रकार हुन्, डराउनु पर्दैन,’ इन्द्रले जवाफ दिए । वृद्ध फेरि गिट्ठा तास्न थाले ।

९८ वर्षीय जयपति चेपाङको जिन्दगी जिल्लाको विकट भार्ता ४ सिलौतीको जंगलबीचको यही ठूलो ओडारमा बितिरहेको छ । उनी यहीँ जन्मिए, हुर्के र विवाह गरे । १० वर्षअघि पत्नी बितिन् । छोरा र बुहारीको ५ वर्षअघि निधन भयो । एउटा नाति छन्, जो मनहरी बजारमा बस्छन् । फर्किंदैनन् ।

त्यही भएर यी वृद्धको नियति जीवन शर्माको गीत जस्तै छ— ‘नातिनी र नातिहरू जन्मे भन्छन् कुन्नि, मेरो साथी लौरोबाहेक छैन अर्को सुन्नी ।’ सय वर्ष पुग्नै लाग्दा पनि यिनको साहारा यही ओडार बनेको छ ।

जयपतिले दसैंयता भात खाएका छैनन् । त्यतिबेला इन्द्रले नै ४ माना चामल र आधा केजी भैंसीको मासु दिएका थिए । इन्द्रको घरदेखि ओडार १ किलोमिटर दूरीमा छ । उनैले वृद्धको रेखदेख गर्छन् । ‘दसैंमा भात र मासु खाएको थिएँ,’ सानो स्वरमा जयपतिले भने, ‘त्यसपछि गिट्ठा, भ्याकुर र सागसब्जी खाएर पेट भर्ने गरेको छु ।’ जंगलमा उम्रेका कलिला मुना टिपेर उसिनेर खाने गरेका छन् । हुरी-बतास र झरीमा उनी ओडारमा बस्छन् । ‘देवताले बनाएको घर मान्छेको भन्दा पक्का हुन्छ,’ उनले भने । उनलाई छिमेकीले घर बनाइदिन्छौं पनि भनेका थिए । तर अस्वीकार गर्दै आएका छन् । ‘पत्नी मरेपछि एक्लै ओडारमा नबस, घर बनाइदिन्छौं भनेको तर मानेनन्,’ स्थानीय महेश चेपाङले भने, ‘ओडारमै मर्छु भनेर जिद्दी गरे ।’

जयपति ओडारमा भोर्लाको पात ओछ्याएर सुत्छन् । ननुहाएको वषौर्ं भइसक्यो । कमिज र लगौटी मयललेे काती परेको छ, रंगै चिन्न मुस्किल पर्ने गरी । ‘कपडा लगाएदेखि धोएको र नुहाएको देखेका छैनौं,’ इन्द्रले भने, ‘नुहाउनु पर्‍यो भन्दा ओडारबाट निस्केर जंगलतिर भाग्छन् ।’ भोर्लाको मान्द्रोमा घोप्टो परेर उनी अगेनो छेउमा सुत्ने गर्छन् । घोप्टो परेर सुत्दा कानमा जाडो हुने गरेको उनले सुनाए । उनको अगेंनामा सधैं आगो भइरहन्छ । हुन त, चेपाङ र आगोको विशेष सम्बन्ध छ । आगो नभएको स्थानमा चेपाङ बस्दैनन् ।

जयपतिलाई २०९० को भुइँचालोको स्मरण छ । झन्डै साढे ५ फिट अग्ला जयपति लट्ठीको सहारामा कुप्रेर हिँड्छन् । भिरपाखामा कुप्रेर हिँड्दा पनि उनलाई अरूले भेट्न मुस्किल पर्छ । समथर भने छिटो हिँड्न सक्तैनन् । उनी अहिलेसम्म हेटौंडा त कुरै छोडौं, मनहरी बजारै पुगेका छैनन् । भार्ता गाविसमा गत साता सञ्चालित एकीकृत घुम्ती शिविरमा नाति र छिमेकीले फकाएर लगी नागरिकता बनाइदिएका थिए । ‘राजा (सरकार) लाई ऋण लागेको छ, मर्ने बेलामा मैले वृद्धभत्ता लिन हुँदैन,’ उनले

भने । त्यही नागरिकतामा उनको जन्म साल १९७२ छ ।

नेपाल चेपाङ संघ जिल्ला सचिव महेश चेपाङका अनुसार ओडारमा बस्ने चेपाङ उनी मात्र हुन् । ‘अधिकांश चेपाङको अवस्था भने अझै जंगली छ,’ महेशले सुनाए । भार्तामा ७ सय ८ परिवार छन् । तीमध्ये ६ सय ३ चेपाङको छ । २० प्रतिशत जनसंख्यामात्रै साक्षर छन् । २०६८ को जनगणना अनुसार मुलुकमा ६८ हजार ३ सय ९९  चेपाङ छन् ।

Source: ekantipuronline

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.