काठमाडौँ – मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग उनको निवास बालुवाटारमा आज बिहान एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका टोलीले आउँदो संविधानसभाको निर्वाचनको मिति घोषणा, संविधानसभासम्बन्धी अध्यादेश, समानुपातिक निर्वाचन सिट सङ्ख्या कति कायम गर्ने भन्नेलगायत विषयमा छलफल गरेको छ । उनीहरुबीच झन्डै डेढ घण्टा संविधानसभाको निर्वाचन प्रक्रिया र पद्धतिलगायत समसामयिक विषयमा छलफल भएको थियो।
अध्यक्ष रेग्मीले आगामी संविधानसभाको निर्वाचनलाई कसरी व्यवस्थित तुल्याउने र निर्वाचनका सम्बन्धमा दलहरुबीच एउटै धारणा बनाएर अगाडि बढ्ने सन्दर्भमा नेपाली काँग्रेस, नेकपा (एमाले), लोकतान्त्रिक मधेसी मोर्चालगायत अन्य साना दलहरुसँग समेत यस किसिमको छलफल गरिसकेका थिए ।
छलफल खासगरी आगामी निर्वाचनका लागि वातावरण बनाउने विषयमा केन्द्रित हुँदै आएको छ।
आजको छलफलमा अध्यक्ष प्रचण्डसहित उपाध्यक्षद्वय डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ सहभागी हुनुभएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले बताएका छन् ।