क्वालालम्पुर, वैशाख २७ – मलेसियामा जारी एसीसी यु-१९ एलिटकप क्रिकेटमा नेपाल आज भएको सेमीफाइनल खेलमा युएईसंग ७६ रनले पराजित भएको छ । बायुमास मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको युएईले नेपालका लागि निर्धारित ५० ओभरको खेलमा ७ विकेटको क्षतिमा २ सय ७१ रन जोडेको थियो । युएईको २ सय ७२ रनको लक्ष्यका लागि मैदान उत्रेको नेपालले सबै विकेटको क्षतिमा ४६ दशमलव १ ओभरमा मात्र १ सय ९५ रन जोड्न सक्यो ।नेपालका लागि अभिनाश कर्णले १० ओभरमा ६५ रन खर्चे र तीन विकेट लिए । त्यस्तै कप्तान भुवन कार्की, शुसान्त भारी, योग्यमान कुमाल र निश्चल पाण्डेले समान एक/एक विकेट लिए ।
युएईका सोरेइ चोपडाले १ सय १५ बलमा १ सय १४ रन जोड्न सफल भए । उनले सर्वाधिक १७ चौका र एक छक्का प्रहार गरेका थिए ।
आजको खेलमा युएईले नेपाललाई लगातार दबाबमा राख्यो । नेपालले खेल मैदानको अवस्था अवलोकन गरि फिल्डिङ रोजेको थियो । ब्याटिङमा राम्रो गरेपनि आजको खेलमा नेपालको फिल्डिङ खासै जम्न समेत सकेन ।
नेपाल समूह ‘बि’ को विजेता हो भने युएई समूह एको उपविजेता हो । प्रतियोगिताका शीर्ष दुई टिम आगामी बर्ष युएईमा हुने आइसिसी यु-१९ विश्वकपका लागि छनौट हुनेछन् ।
प्रतियोगितामा हालसम्म कुवेत, कतार, बहराइन र मलेसियामाथि जित हासिल गरेको नेपाल सेमीफाइनलमा पराजित भयो र पूरानो आफ्नो इतिहास कायम राख्न सकेन । यो पराजयसंगै यसअघि ६ पल्ट यु-१९ विश्वकपमा सहभागी जनाएको नेपाल अब हुने विश्वकपमा भाग लिनबाट बञ्चित भएको छ ।