१५ वैशाख, काठमाडौं । बर्मुडामा आजबाट सुरु भएको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दैछ । खेल नेपाली समय अनुसार साँझ सवा ७ बजेपछि समरसेट क्रिकेट क्लबको मैदानमा हुनेछ.
विश्वकप खेल्ने बाटोका रुपमा रहेको डिभिजन थ्रीमा नेपाल अमेरिकाविरुद्ध जित निकाल्दै सुखद सुरुवात गर्ने प्रयासमा हुनेछ । डिभिजन ५ र ४ को उपाधि जित्ने क्रममा नेपालले अमेरिकालाई नै पराजित गरेको थियो । ७ महिना अघि भएको डिभिजन ४ मा भएको भेटमा नेपालले समूह चरणमा ३२ रन र फाइनलमा ८ विकेटको जित निकालेको थियो ।
अहिलेसम्म भएको ८ मध्ये ४ खेल नेपालले जितेको छ भने २ खेल अमेरिकाले जितेको छ । बाँकी २ खेल भने वर्षाका कारण रद्द भएको थियो । अमेरिकाले सन् २०१० मा भएको डिभिजन ५ र सोही वर्ष इटलीमा भएको डिभिजन ४ को समूह चरणमा नेपाललाई पराजित गरेको थियो ।
६ देशको सहभागिता रहेको डिभिजन थ्रीको शीर्ष दुई टोली डिभिजन २ मा बढुवासँगै सन् २०१४ मा हुने विश्वकप छनोट क्रिकेटका लागि चयन हुनेछ । छनोट चरण पार गर्न सके नेपालले विश्वकप मात्र खेल्ने छैन, एकदिवसीयको मान्यता पाउनेछ ।