भक्तपुर, वैशाख ७- गत फागुन २४ गतेदेखि नियमित रुपमा धर्नामा बस्दै आएका ज्येष्ठ नागरिकले सरकारले संविधानमा उल्लेख गरेको ज्येष्ठ नागरिकको हकअधिकारलाई कार्यान्वयनमा नल्याएमा आगामी निर्वाचन बहिष्कार गर्ने बताएका छन्। ज्येष्ठ नागरिक हकहित सङ्घर्ष समितिले आज भक्तपुरको लोकन्थलीमा आयोजना गरेको पत्रकारसम्मेलनमा सङ्घर्ष समितिका पदाधिकारीहरुले देशभरका ज्येष्ठ नागरिकले निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका हुन्।
सङ्घर्ष समितिका संयोजक महाप्रसाद पराजुलीले ज्येष्ठ नागरिकको हकअधिकार’bout संविधानमा उल्लेख भइसकेको र सर्वोच्च अदालतले समेत कार्यान्वयन गर्न आदेश दिइसकेको अवस्थामा सरकारले यसलाई कार्यान्वयनमा नल्याएकाले ज्येष्ठ नागरिकहरु आन्दोलनमा उत्रन बाध्य हुनुपरेको बताए ।
उहाँले भन्नुभयो- निर्वाचन अगाडि हाम्रो मागलाई सम्बोधन नगरे आगामी निर्वाचनमा देशभरका ज्येष्ठ नागरिकले निर्वाचन बहिष्कार गर्ने गरी अभियान सञ्चालन गर्ने छौँ।
ज्येष्ठ नागरिक सेवा समाज भक्तपुरका सचिव नयन्त्र खड्काले ज्येष्ठ नागरिकहरुले अब आन्दोलनको स्वरुपलाई परिवर्तन गरी सरकारलाई उनीहरुको संविधान प्रदत्त हकअधिकार दिन बाध्य पार्ने बताए ।
ज्येष्ठ नागरिक सेवा समाज भक्तपुरका अध्यक्ष पुरुषोत्तम तिवारी, हिमालयन वृद्धाश्रमका संयोजक सरला पन्थीलगायतले ज्येष्ठ नागरिकको हकअधिकारलाई सरकारले कुण्ठित पार्न नुहुनेमा जोड दिए। रासस