एजेन्सी – अघिल्लो दिन अदालतबाट फरार भएका पाकिस्तानका पूर्वसैन्य राष्ट्रपति पर्वेज मुसर्रफ फक्राउ परेका छन् । उनलाई प्रहरीले स्थानीय अदालतमा पेस गरेको छ । इस्लामावाद नजिकैको आफ्नै निवासबाट मुसर्रफ फक्राउ परेका हुन् । उनलाई अदालतले दुई दिन घरमै राखेर आतकंवादसम्बन्धी मुद्दा हेर्ने अदालतमा हाजिर गराउन आदेश दिएको छ । पूर्व शासक पक्राउ परेको पाकिस्तानमा यो पहिलो घटना हो ।
बिहीबार उनी इस्लामावादस्थित उच्च न्यायालयबाट फरार भएका थिए । अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको बेला अदालत परिसरमै रहेका मुसर्रफ आफ्ना निजी अंगरक्षकहरुको सहयोगमा फरार भएका थिए । उनी शासनमा रहँदा सर्वोच्च अदालतका न्यायाधीशलाई गैरकानुनी तरिकाले थुनामा राखेको मुद्दामा अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको हो ।
प्रहरीकै सामुनेबाट अदालत परिसरबाट बाहिरिएका मसर्रफलाई पक्राउ नगरिएकोमा आदलतले इस्लामावदका प्रहरी प्रमुखलाई अदालतमा हाजिर हुन आज बोलाएको छ ।