पूर्ण बस्नेत, हङकङ, वैशाख २ – सात दिने चीन भ्रमणमा आएका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री आइ पिङले सिचुवान प्रान्तको राजधानी चेङदुमा स्वागत गरेका छन्। आइतबार साँझ तिब्बतसँग जोडिएको चीनको दक्षिण पश्चिम सहर उत्रिएका दाहाललाई लिन बेइजिङबाट उपमन्त्री पिङ, सहायकमन्त्री याङ यानयीसहित विदेश विभागको एसिया मामिला हेर्ने पाँच जनाको टोली चेङदु पुगेको थियो।
चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा आएका दाहालले बुधबार र बिहीबार बेइजिङमा राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खच्याङसहित शीर्ष नेतासँग भेटवार्ता गर्नेछन्। चीनको नयाँ नेतृत्वलाई बेइजिङमा भेट्ने दाहाल दक्षिण एसियाका पहिलो नेता हुनेछन्। चीन उड्नुअघि काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा दाहालले आफ्नो भ्रमण ‘नेपालको आर्थिक विकास र आसन्न चुनावका लागि चीनको सहयोग जुटाउन केन्द्रित हुने’ बताएका थिए।
चीनको विदेश मन्त्रालयभन्दा शक्तिशाली मानिने पार्टीको विदेश विभागका उपमन्त्री आइ पिङ बेइजिङमा नेपालसहित दक्षिण एसिया मामिला हेर्ने उच्च अधिकारी हुन्। राष्ट्रपति तथा पार्टी महासचिव सी जिनपिङसँग यो विभागको सिधै सम्पर्क हुन्छ। तत्कालीन राष्ट्रपति हु जिन्ताओको विशेषदूतका रूपमा अघिल्लो वर्ष नेपाल आउँदा नेताहरूलाई जातीय संघीयतामा नजान सुझाव दिएपछि उनी चर्चामा आएका थिए। माओवादी विभाजन भएलगत्तै उनले बेइजिङमा नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यलाई भेटेका थिए।
पार्टीमा नेतृत्व परिवर्तन भए पनि विदेश विभागमा वाङ जइरुको नेतृत्वलाई नै निरन्तरता दिइएको छ। सन् २०१० मा उपमन्त्री बनेका पिङ गत महिनादेखि सरकारको सल्लाहकार परिषद चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी) को विदेश मामिला कमिटी सदस्य पनि छन्। सिपिपिसिसी तिब्बत मामिलासमेत हेर्ने सरकारी निकाय पनि हो। २०१० अक्टोबरमा सांघाई वर्ल्ड एक्स्पोबाट उपमन्त्री पिङकै टोलीले दाहाललाई बेइजिङ लगेको थियो।
बेइजिङबाट चेङदु पुगेका नेपाली राजदूत महेश मास्केका अनुसार आइतबार साँझ पाँच बजे माओवादी अध्यक्ष दाहालको टोलीलाई विमानस्थलमा स्वागत गरी सिच्याङ होटलमा लगिएको छ। तिब्बतका लागि मुख्यभूमि चीनको ‘गेटवे’ मानिने चेङदु चीनको सातमध्ये एक सैनिक क्षेत्रका साथै व्यापार, पर्यटन र शिक्षाको हिसाबले दक्षिण एसियाको पनि केन्द्र हो। दाहालले सोमबार बिहान चीनको नमुना मानिने इको एग्रिकल्चर सेन्टर र गाउँमा पुगेर सिँचाइ व्यवस्था अवलोकन गर्नेछन्।
दिउँसो दाहालले सिचुवान विश्वविद्यालयमा नेपाल-चीन सम्बन्ध’bout मन्तव्य दिनेछन्। विश्वविद्यालयको दक्षिण एसिया अध्ययन संस्थान सम्बद्ध एक प्रोफेसरका अनुसार स्थानीय पार्टीको समन्वयमा आयोजना गरिने कार्यक्रममा दाहालको मन्तव्यपछि नेपाल-चीन सम्बन्ध’bout विज्ञहरूबीच छलफल हुनेछ। राजदूत मास्केका अनुसार विश्वविद्यालयको दक्षिण एसिया अध्ययन संस्थानअन्तर्गत नेपाल सेन्टर स्थापनाको पहल भइरहेको छ। साँझ सिचुवान पार्टी सचिवले डिनरमा दाहाललाई स्वागत गर्नेछन्।
आइपिङको टोली मंगलबार दाहाललाई लिएर बेइजिङ पुग्नेछ। नयाँ नेतृत्वले तिब्बतलाई सुरक्षा प्राथमिकतामा राखेको बेला बेइजिङ निम्त्याइएका दाहाल त्यहाँ दुई सेमिनारको अतिथि हुनेछन्। बेइजिङका सरकारी अधिकारीहरू सहभागी हुने सेमिनार नेपाल-चीन सम्बन्धमा केन्द्रित छ भने पार्टीका नेताहरू सहभागी हुने अर्को सेमिनार दुई पार्टी सम्बन्ध’bout छ।
‘हेटौंडा महाधिवेशनपछि माओवादीमा आएको परिवर्तन’bout चिनियाँहरूको चासो बढिरहेको बेला दुई कम्युनिस्ट पार्टीको सम्बन्ध’bout पनि गम्भीर छलफल हुने बुझिएको छ,’ राजदूत मास्केले भने।
दुई दिन बेइजिङमा रहँदा दाहाल नेपाली दूतावासले आयोजना गर्ने बेइजिङका नेपालीहरूको अन्तर्क्रियामा सहभागी हुनेछन्। शुक्रबार चीनको पहिलो विशेष आर्थिक क्षेत्र सेन्जेनको अध्ययनपछि हङकङ हुँदै उनी काठमाडौं फर्कने छन्। दाहालको टोलीमा पार्टीका कुनै पनि नेता सहभागी छैनन्, पत्नी सीता, स्वकीय सचिव र अंगरक्षक मात्र छन्।