हरेक नयाँ वर्षमात्र हैन, प्रत्येक नयाँ पलले समेत परिवर्तन ल्याउँछ। यस्तो परिवर्तन सुखद् हुने आशा प्रत्येक मानवको हुन्छ। अनि ऊ यही आशाबीच आफ्नो भविष्य सुन्दर बनाउन लालायित हुन्छ। अर्थात् महत्वाकांक्षा पालेर बाँच्छ मान्छे। यही ऊर्जाले उसलाई आफ्नो आयु घटिरहेको थाहा पाउँदापाउँदै पनि नववर्षको ब्यग्र प्रतीक्षामा भुलाउँछ। यही कारण हो- नव वर्ष प्रत्येक मानिसका लागि शुभकामना आदान-प्रदानको माध्यम बनेको छ। सुख्द भविष्य निर्माणको सपनाका रूपमा यो अवसर प्रयोग हुँदै आएको छ।
तर लगातारका केही नयाँ वर्ष नेपालीका लागि खासगरी राजनीतिकरूपमा सुखद् हुन सकेनन्। संविधान निर्माणमा देखिएको खिचातानी र संविधान सभाको असामयिक मृत्युले सम्पूर्ण नेपालीलाई शोक बहन गर्नुपर्ने अवस्थामा पुर्यायो। यसको असर मुलुकको चौतर्फी क्षेत्रमा पर्यो। जसले नेपालीको चयन खोस्यो। जसले शान्ति प्राप्तिमा अवरोध पुर्यायो। जसले सहिष्णुता र मेलमिलापमा भाँजो हाल्ने दुस्प्रयास गर्यो। त्यसैले यो नयाँ वर्षले पनि नेपालीमा उल्लास ल्याउन सकेको छैन।
बादलको घेरामा चाँदी हुन्छ भनेझैं यसबीचमा पनि थुप्रै प्रशंसायोग्य काम भएका छन्। गाउँले महिलाले चुह्लो चौकाबाट बाहिर निस्केर उद्यममा हात हालेका छन्। खाडीबाटै किन नहोस्, हिँजो सुको देख्न नपाउनेहरु शहरबजारमा डेरा लिएर छोराछोरी पढाउने हैसियत राख्न थालेका छन्। ५ घन्टा हिँडेर फोन गर्नुपर्ने बाध्यताका ग्रामीणबासी महिलाको घाँटीमा अहिले साँचो हैन, मोबाइल भिरिन थालिएको छ। गाउँघरमै डेरा जमाएर बस्ने डाक्टरसाबको संख्या बढ्दो छ। खरबारीमा खुलेका प्लस टुले बुहारीलाई पढ्ने अवसर उपलब्ध गराएको छ। आफ्नै घारीको सिस्नो बेचेर मानिसहरु नून-तेल जोहो गर्न सक्ने भएका छन्। सबैभन्दा ठूलो कुरा उनीहरु अधिकार थाहा पाउने भएका छन्। यस अर्थमा कहीँ न कहीँ उल्लेखनीय काम पनि भइरहेको छ।
नयाँ वर्ष २०७० यही दृष्टिकोणका आधारमा नियाल्न सक्नुपर्छ। नकारात्मकभन्दा पनि सकारात्मक गतिविधिले मानिसलाई उत्साही बनाउँछ। चिन्ता हैन, चिन्तनले मनमा साहस भरिदिन्छ। ‘आफू भलो त जगत भलो’ को जगमा उभिएर सोच्ने हो भने अबको नेपाल पीडारहित हुनेछ। निषेध र द्वेष पाखा लाग्नेछन्। त्यसैले विगत सम्झेर भक्कानिनु भन्दा भविष्य सम्झेर ‘बहुजन हिताय’ को उपायतर्फ लाग्न सकेमात्र शुभकामनाहरुको अर्थ हुन्छ। औपचारिकता निर्वाहका लागि दिइने शुभकामना तथा मनाइने उत्सवले जनताको व्यवहारमा परिवर्तन ल्याउन सक्दैन, व्यवहार परिवर्तन नभएसम्म मुहार चम्कन सक्दैन। त्यसैले सकारात्मक सोचका साथ अघि बढ्ने उत्साह नव वर्षले दिलाउन सकोस् भन्ने कामना यतिखेर उपयुक्त हुनेछ।
जापानमा याबुरी भनेर मनाइने नयाँ वर्ष होस् या अरब मुलुकमा नौरोत भनिने यो अवसर, वर्मामा विजन भनिने नयाँ वर्ष होस् या फ्रान्समा वसिली दिवसका रूपमा मनाइने नयाँ वर्ष, सबैमा आदान-प्रदान हुने शुभकामनाको अर्थ विगतका नराम्रा कुरा त्याग्दै नयाँ वर्षमा नयाँ सोच अपनाउने सद्बुद्धिको कामना नै हो। त्यसैले नेपालको सन्दर्भमा खासगरी सबै नीतिको माउ नीति राजनीतिको ‘स्टेयरिङ’ समाएकाहरुले यसलाई सही दिशातर्फ डोहोर्याउन्। सही समयमा चुनाव होस् र संविधान बनोस्। यसले मात्र नेपालीको नयाँ वर्ष शुभ गराउने सामर्थ्य राख्छ। सम्पूर्ण नेपालीलाई नव वर्ष २०७० को शुभकामना।