एसियामा मडारिँदै युद्धको कालो बादल


अहिले पनि उत्तर कोरियालाई चीनले खुलेर समर्थन गरेको अवस्थामा समस्या जटिल बनेर जाने विश्लेषकहरु बताउँछन् ।
कृष्ण अधिकारी
image.phpसिंगापुर, चैत्र २५ – उत्तर कोरियाले पुरानो युद्धबिरामको औचित्य समाप्त भएको भन्दै दक्षिण कोरियासँग युद्धको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको जानकारी दिएपछि सम्भावित युद्धको भयले विश्वलाई त्रसित बनाएको छ । आणविक अश्त्रसम्पन्न उत्तर कोरियाको यस्तो धम्कीले दक्षिण कोरिया मात्र नभएर अमेरिका अझ बढी सशंकित छ । दुवै कोरियाले आफूविरुद्ध अनर्गल र उत्तेजक प्रचार गर्दै आएकाले बाध्य भएर युद्धको अवस्थामा जानुपरेको बताएका छन् । युद्धबाटै त्यसको समाधान निस्कने उत्तर कोरियाको पछिल्लो भनाइप्रति तत्काल सम्बन्धित पक्ष राष्ट्रहरू शान्तिपूर्ण विकल्पतर्फ नलाग्ने हो भने गम्भीर परिणाम नआउला भन्न सकिने अवस्था छैन । राष्ट्रसंघका महासचिव वान कि-मूनले पनि उत्तर कोरियाका कारण विश्वमा पुनः युद्धको खतरा बढ्दै गएको बताइसकेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार दक्षिण कोरिया र अमेरिकाविरुद्ध उत्तर कोरियाले दिएको युद्ध धम्कीका कारण सम्भावित युद्ध रोक्न अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको तत्काल आवश्यकता रहेकोमा महासचिव मूनले जोड दिएका हुन् ।  उत्तर कोरियाली नेता किम जोङ उनले हालै आफ्ना उच्च सैनिक अधिकारीहरूसँग आकस्मिक बैठकपछि अमेरिकाविरुद्ध युद्धनजिक आइसकेकाले तयार रहन निर्देशन दिएको त्यहाँको कोरियन समाचार समितिले जनाएको छ । यस विषयलाई लिएर यता अमेरिकी रक्षामन्त्री चक ह्यागलले संवाददाताहरूसँग केही समयदेखि उत्तर कोरियाको व्यवहारले यस क्षेत्रको सुरक्षामा खतरा पुर्‍याएको बताएको एपीले लेखेको छ ।

एउटै कोरियाली प्रायद्वीपका दुई मुलुकको सम्बन्ध शत्रुवत् रहँदा सिंगो विश्वका लागि नै खतराको घन्टी बजेको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ता किम मिन सोकले हालै दिएको वक्तव्यमा उत्तर कोरियाले दक्षिण कोरियामाथि आक्रमण गरेमा उत्तर कोरियाली शासकको अस्तित्व समाप्त हुने चेतावी दिएका छन् । यसरी आरोप प्रत्यारोप हुँदै युद्धको अवस्था आयो भने त्यसले विश्वलाई पुनः धुर्वीकरण नगर्ला भन्न सकिन्न । र, त्यतिबेलाको युद्धमा रासायनिक हतियार र लामो तथा मध्यम दूरीका अश्त्रको प्रयोगले के कति क्षति पुर्‍याउने हो अनुमान लगाउन गाह्रो पर्दछ । किनकि शीतयुद्धको समाप्ति भए पनि सैन्य हिसाबले पनि चीन नयाँ शक्तिको रूपमा अगाडि आएको छ ।

अहिले पनि उत्तर कोरियालाई चीनले खुलेर समर्थन गरेको अवस्थामा समस्या जटिल बनेर जाने विश्लेषकहरू बताउँछन् । भलै अहिलेसम्म यस विषयमा चीनले युद्धलाई भन्दा व्यापारिक आधारमा अन्य मुलुकहरूसँगको सम्बन्धलाई महत्त्व दिएको छ । कोरियाली दुवै देश केही वर्षदेखि आ-आफ्नै ढंगबाट युद्धको तयारीमा जुट्दै आएका छन् । तुलनात्मक रूपमा हतियार र सैन्यका दृष्टिले दक्षिण कोरियाभन्दा उत्तर कोरिया बढी शक्तिशाली देखिन्छ तर दक्षिण कोरियालाई अमेरिकाको प्रत्यक्ष सहयोग र समर्थन रहँदै आएको छ  । उत्तर कोरियाले पछिल्लोपटक गत फेब्रुअरी १२ मा आणविक परीक्षण गरेपछि अमेरिका र दक्षिण कोरियाले मात्र नभई  राष्ट्रसंघले समेत चिन्ता र आपत्ति जनाएका थिए । यसलगत्तै दक्षिण कोरियाले पनि क्रुज मिसाइल परीक्षण गर्‍यो । हाल उत्तर कोरियासँग करिब १२ लाख सैनिक, १२ हजारभन्दा बढी तोप र मध्यम दूरीका लागि मिसाइल पनि छन् । उसले यी हतियारहरू सीमा नजिकै राखेको छ । उत्तर कोरियासँग केही पनडुब्बी, ८ सयभन्दा बढी लडाकु जेट विमान, चार हजारभन्दा बढी टयांक मात्र होइन, करिब आठवटा आणविक हतियार र पाँच हजार मेटि्रकटन जैविक तथा रासायनिक हतियार छन् । गत डिसेम्बरमा उत्तर कोरियाले लामो दूरीको ‘जेन्हा-३’ नामक क्षेप्यास्त्र पनि परीक्षण गरेको थियो । यता दक्षिण कोरिया पनि हतियार र सैन्य तन्दुरुस्तीमा लागेको छ । उसले हालै आफ्ना केही सैन्य टयांकहरूलाई सीमा क्षेत्रमा तैनाथ गराएको छ । दक्षिण कोरियासँग पनि ४ सय ६० वटा लडाकु विमानहरू, २ हजार ४ सय वटा सैन्य टयांकहरू  छन् । दक्षिण कोरियामा साढे २८ हजार अमेरिकी सैनिक तैनाथ रहँदै आएका छन् । यसरी दुई कोरिया हतियार र सैन्य शक्तिबाट बलिया रहेकाले युद्धको खतरालाई बढाएको छ । दुई कोरियाबीचको शक्ति संघर्षले मात्र होइन, एसियाका अन्य राष्ट्रहरूमा पनि बढ्दो हतियार मोहले कुनै पनि बेला कतैबाट सल्किने युद्धको आगोलाई बढाउन मद्दत गर्नेछ । विश्वमा कुल सैनिक खर्चमा एसियाले करिब २० प्रतिशत स्थान ओगटेको छ । विश्वमै दोस्रो आर्थिक शक्तिको रूपमा उदियमान बनेको चीन हतियार र सैन्य बलमा पनि अगाडि छ । यसले छिमेकी मुलुकहरूको सुरक्षा खतरा बढेको यसै साता जापानमा सार्वजनिक गरिएको एक अध्ययनले पनि उल्लेख गरेको छ । पूर्वी एसियाली रणनीतिक पुनरावलोकन नामक सो अध्ययनमा चीनले सैनिक बलमा गरेको वृद्धिले सुरक्षाप्रति आश्वस्त रहन नसकिने जनाइएको छ ।

अध्ययनको खण्डन गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ लीले बेइजिङमा सम्वाददाताहरूसँग भनेको एएफपीले उद्धृत गर्दै लेखेको छ, ‘हामीले हाम्रो राष्ट्रिय सुरक्षाका लागि जोड दिएका छौं, यो आवश्यक पनि छ तर यसले अन्य देशलाई सुरक्षाको कुनै खतरा बढाउने छैन ।’ विश्वमा प्रमुख हतियार निर्यातक राष्ट्रको सूचीमा चीन निकै अगाडि आएको छ । बेलायतलाई उछिन्दै चीन हतियार निर्यातमा पाँचौं ठूलो राष्ट्र बनेको छ । हतियार निर्यातबाट चीनले विश्व बजारमा झन्डै ५ प्रतिशत स्थान ओगटेको छ । सन् १९५० पछि २०१२ सम्म बेलायत प्रथम पाँच राष्ट्रको सूचीमा रहँदै आएको थियो । चीनको हतियार निर्यात सन् २००८ देखि २०१२ सम्म १६२ प्रतिशतले वृद्धि भएको छ । जब कि त्यसअघिका ५ वर्षमा ५५ प्रतिशतले मात्रै वृद्धि भएको रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ । चीन एसियामा सैनिकमा खर्च गर्ने दोस्रो राष्ट्र बनेको छ । हतियारको खपत पनि अधिकांश एसियाली मुलुकहरूमै भएको पाइन्छ । चीनबाट हतियार किन्ने राष्ट्रहरूमा पाकिस्तान अग्रस्थान (५५ प्रतिशत) मा रहेको छ । म्यान्मार, बंगलादेश र भेनेजुएला पनि चीनका हतियार खरिद गर्ने ग्राहक राष्ट्रहरू हुन् । चीनले आफूले हतियार जथाभावी बिक्री नगरेको दाबी गर्दै अन्तर्राष्ट्रिय कानुनलाई पालना गरी जिम्मेवारपूर्ण ढंगबाट मात्र बिक्रीवितरण गर्दै आएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । हालै विदेश मन्त्रालयका प्रवक्ता होङ लीले भनेका छन्, ‘हतियार बिक्री गर्दा तीन सिद्धान्त- ‘सम्बन्धित राष्ट्रको आत्मसुरक्षाको आवश्यकता रहेको प्रमाणित भएमा, क्षेत्रीय र विश्वशान्ति सुरक्षा र स्थायित्वमा खतरा नपुग्ने अवस्थामा र अर्को राष्ट्रको आन्तरिक मामलामा हस्तक्षेप नहुने अवस्थामा’ मा मात्र बिक्री गरिनेछ । हतियार आयात राष्ट्रहरूको सूचीमा पनि एसिया र ओसेनियाली राष्ट्रहरू नै रहेको सो प्रतिवेदनले जनाएको छ । यस क्षेत्रमा कुल हतियारको ४७ प्रतिशत खपत हुने गर्दछ । बढी हतियार आयात गर्ने राष्ट्रहरूमा भारत (१२ प्रतिशत), चीन (७ प्रतिशत), पाकिस्तान (५ प्रतिशत), दक्षिण कोरिया (५ प्रतिशत), सिंगापुर (४ प्रतिशत) र बाँकी अन्य एसियाली राष्ट्रहरू रहेका छन् । चीन बाहेक अन्य एसियाली मुलुकहरूमा आफ्नै हतियार कारखाना छैन ।

भारतले रसियाबाट मात्र हतियार आयात गर्दछ । चीनले भारतलाई हेरेर आफ्ना हतियार पाकिस्तानमा बिक्री गर्दै आएको छ । पूर्वी एसियाली रणनीतिक पुनरावलोकनका एसियाविज्ञ मानिने साइमन बाजमेन एसियाका अधिकांश मुलुकहरूबीच सीमा विवाद रहेकाले युद्धको प्रशस्त खतरा रहेको देख्छन् । दुई कोरियाबीचको द्वन्द्व, भारत र पाकिस्तानबीच कश्मिरको विवाद, साउथ चाइन सी यहाँका प्रमुख विवाद रहेका र सम्बन्धित राष्ट्रहरूमा रहेको अन्धराष्ट्रवादले कुनै पनि दिन डरलाग्दो युद्धलाई निम्त्याउन सक्ने उनको तर्क रहेको छ ।

रासस

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.