काठमाडौं, चैत २२ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी वर्ष हुने साफ च्याम्पियनसिप जितेमा नेपाली राष्टिय टोलीका सबै सदस्यलाई पुरस्कारस्वरुप फ्ल्याट दिने घोषणा गरेको छ। राष्ट्रिय फुटबल टोलीलाई बुधबार नगद पुरस्कारबाट सम्मानित गर्ने क्रममा एन्फा अध्यक्ष गणेश थापाले असोजमा हुने आठौं साफ च्याम्पियनसिप जिते टोलीका सबै सदस्यलाई फ्ल्याट दिने घोषणा गरेका हुन्।
असोज २ देखि १२ सम्म दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको आठौं संस्करण काठमाडौंमा हुनेछ। नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन। गत वर्ष भारतमा सातौं संस्करण हुँदा नेपाल १२ वर्षपछि प्रतियोगिताको सेमिफाइनल पुगेको थियो।
वर्षको अन्त्यमा एन्फाले राष्ट्रिय टोलीलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता तथा मैत्रीपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गर्योर। एन्फाका तर्फबाट पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले पुरस्कृत गरे। उत्कृष्ट प्रदर्शनवापत पुरस्कार पाएको टोलीले वर्ष २०६९ मा खेलेका १० मध्ये एक खेलमा मात्र विजय पाएको थियो। नेपालले बाँकी तीन खेलमा बराबरी खेलेको थियो भने ६ हार बेहोरेको थियो।
भारतको नयाँ दिल्लीमा सम्पन्न नेहरु कप र फागुनमा सम्पन्न एएफसी च्यालेन्ज कपको छनोट चरणका साथै नेपालले यो वर्ष पाकिस्तानसँग दुई तथा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेलेको थियो।
पाकिस्तानसँग खेलेका दुवै खेलमा समान १-० को हार बेहोरेको नेपालले बंगलादेशसँगको मैत्री खेलमा १-१ को बराबरी नतिजा निकालेको थियो। नेहरु कपमा आयोजक भारतसँग गोलरहित बराबरी खेलेको नेपाल क्यामरुनसँग ५-०, सिरियासँग २-० र बंगलादेशसँग २-१ को नतिजामा पराजित भएको थियो।
घरेलु दशरथ रंगशालामा सम्पन्न च्यालेन्ज कप छनोटमा कमजोर नर्दन मारियाना आइल्यान्डलाई ६-० को नतिजामा हराएको नेपाल बंगलादेशसँग २-० ले पराजित भएको थियो भने अन्तिम खेलमा प्यालेस्टाइनसँग गोलरहित बराबरीमा सीमित भएको थियो। प्यालेस्टाइनविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको भन्दै त्यसै साँझ एन्फाले राष्ट्रिय टोलीका २३ खेलाडी, दुई प्रशिक्षक र अफिसियललाई ५० हजार रुपैयाँका दरले दिने घोषणा गरेको थियो।