‘असारमा चुनाव नभए मंसिरमा, चुनावै नभए सडक संघर्षमा’
प्रकाश तिमल्सिना, काठमाडौं, चैत २० – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले असारमा दोस्रो संविधानसभा निर्वाचन नभए मंसिरका लागि तयार हुन नेताहरूलाई निर्देशन गरेका छन्। आइतबार केन्द्रीय समिति बैठक समापन गर्दै दाहालले तीन विकल्पमा तयार हुन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिए। अहिले असारमै चुनाव बनाउन माहोल सृजना गर्ने, प्राविधिक कारण असारमा नभए मंसिरका लागि तयारी गर्ने र मंसिरमा चुनाव हुन नदिए सडक संघर्षको तयारीमा जुट्न दाहालले केन्द्रीय सदस्यहरूलाई निर्देश गरे।
प्रमुख चार राजनीतिक दलले असारमा निर्वाचन हुने जिकिर गरिरहेका बेला अध्यक्ष दाहालले मंसिरमा चुनाव गर्ने धारणा व्यक्त गरेका छन्। ‘प्राविधिक कारण असारमा निर्वाचन नहुन सक्छ। त्यो नभए निर्वाचन हुने भनेको मंसिरमै हो,’ दाहाललाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।
मतदाता नामावली संकलन, निर्वाचन क्षेत्र विवाद, आन्दोलनरत पक्षलाई मनाउनुपर्ने, मौसम र निर्वाचन आयोगले दुई महिनाभित्र तयारी गर्न नसक्ने जस्ता प्राविधिक कारण देखिएको दाहालले बताए।
‘प्रावधिक तथा अन्य कारण असारमा निर्वाचन नहुन सक्छ भनेर अध्यक्षले भन्नुभएको हो,’ केन्द्रीय सदस्य किसन शर्माले नागरिकसँग भने।
पार्टीले पार्टीभित्रको आन्तरिक किचलो बढेका कारण महाधिवेशन सम्पन्न गरेको दुई महिना बितिसक्दासमेत केन्द्रीय समितिलाई पूर्णता दिन सकेन।
दुई सातादेखि जारी केन्द्रीय समिति बैठकले समितिलाई पूर्णता नदिई आइतबार सकिएको छ। समितिलाई पूर्णता दिन पदाधिकारीहरूबीच पटक/पटक छलफल भएको थियो। केन्द्रीय सदस्य बन्न धेरै आकांक्षी बनेकाले बाँकी ४८ जनालाई एक महिनापछि चयन गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरेको छ।
महाधिवेशनले १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने विधान पारित गरेको थियो। महाधिवेशनबाटै चुनिएका ९८ जना र मोहन वैद्य नेतृत्व नेकपा-माओवादी परित्याग गरेर आएका ३ गरी १ सय १ सदस्यीय समिति बनेको छ। ‘महाधिवेशनबाट चुनिएका ९८ र वैद्यजीबाट आएका तीन गरी १ सय १ सदस्यीय पूर्ण सदस्य बने। बाँकी ४८ जना एक महिनापछि चयन गर्ने निर्णय भएको छ,’ अर्का केन्द्रीय सदस्य देवेन्द्र पटेलले भने।
केन्द्रीय समितिमा वैकल्पिक केन्द्रीय समिति सदस्यमध्ये ४८ जनालाई पूर्ण केन्द्रीय सदस्यमा लगिने निर्णय भएको छ। बैठकले नवप्रवेशी प्रल्हाद गिरी र गीता गुरुङलाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ।
गत साता ३ सय ९९ सदस्यीय केन्द्रीय समिति निर्माण गर्ने निर्णयबाट पछि हटेको थियो। आगामी जेठ १ गते बस्ने बैठकबाट केन्द्रीय समितिलाई पूर्णता दिने तयारी माओवादीले गरेको छ।
केन्द्रीय समितिले पूर्णता पाउन नसक्दा महाधिवेशन निर्णयअनुसार १७ स्थायी, ५१ पोलिटब्युरो सदस्य चयन गर्न सकेन। पदाधिकारी थप, स्थायी, पोलिटब्युरो नबन्दा पार्टीको विभाग/ब्युरो इन्चार्ज, राज्य समितिका इन्चार्ज चयन अन्योलमा परेको छ।
जिम्मेवारी बाँडफाँट नभएकाले अध्यक्ष दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, महासचिव पोष्टबहादुर बोगटीबाहेक सबै सदस्यको हैसियत एक महिनासम्म केन्द्रीय सदस्यमा सीमित हुनेछ।
‘एक महिनापछि सबैको मूल्यांकन गरेर पदाधिकारी, स्थायी/पोलिटब्युरोमा लैजाने भन्ने निर्णय गरिनेछ,’ दाहालले बैठकमा भने। ‘योगदान, कार्यक्षमता, वरिष्ठता, जिम्मेवारी पूरा गरे/नगरेको विषयलाई हेरेर जिम्मेवारी दिइनेछ। अहिलेलाई जे छ, त्यो नै यथावत राखौं,’ दाहालले भने।
दाहालको उक्त प्रस्तावपछि कृष्णबहादुर महराको नेतृत्वमा नेतृत्व चयनका लागि कार्यदल गठन गरिएको छ। कार्यदलले बुझाएको प्रतिवेदनअनुसार केन्द्रीय समितिलाई पूर्णता दिने, पदाधिकारी, स्थायी, पोलिटब्युरो चयन गर्ने निर्णय बैठकले गरेको छ।
मूल्यांकनका लागि राज्य समितिसम्मका सबै पार्टी सदस्यले व्यक्तिगत विवरण तथा पार्टीका लागि गरेको योगदानको जानकारी लिखित रुपमा बुझाउनुपर्नेछ। महरा कार्यदलमा गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, हिसिला यमी छन्। बैठकले युवा परिचालन वर्षमान पुनलाई र बुद्धिजीवी, स्कुलको जिम्मा दीनानाथ शर्मालाई दिएको छ।
‘युद्धकालीनलाई अपमान नगर’
केन्द्रीय समितिमा नयाँ जिम्मेवारी दिँदा ‘युद्धकालीन’लाई महत्व दिन केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्वसँग माग गरेका छन्।
पार्टी एकताका नाममा नवप्रवेशीलाई महत्वपूर्ण स्थान दिने गरेको गुनासो उनीहरुले गरेका छन्। युद्धकालीनलाई माथिल्लो तहमा लैजान नखोजेको भन्दै युद्ध लडेका केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गरेका थिए।
केन्द्रीय सदस्य शक्ति बस्नेत, जनार्दन शर्मा, झक्कुप्रसाद सुवेदी, चन्द्रप्रकाश खनालले ‘युद्धकालीन’लाई सम्मानसाथ जिम्मेवारी दिनुपर्ने माग गरे। ‘पार्टी एकताको नाममा एकएक जना गरी आएकालाई पनि ठूलै शक्ति आयो भनेर जसरी महत्वपूर्ण जिम्मेवारी दिने कोसिस गरिँदैछ, त्यो गलत छ,’ उनीहरुले बैठकमा भने, ‘युद्धकालीनलाई बढी जिम्मेवारी दिन नेतृत्व हिच्किचाउनु हुँदैन।’
केन्द्रीय सदस्यहरूको उक्त मागको जवाफमा अध्यक्ष दाहालले ‘जन्मकुण्डली’ हेरेर जिम्मेवारी दिने प्रतिबद्धता जनाएका थिए।
बैठकले एकमहिने जागरणसभा र प्रशिक्षण गर्ने निर्णय गरेको छ। महाधिवेशनले पारित गरेको अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनलाई कार्यकर्तामाझ पुर्या्उन र निर्वाचनलाई लक्ष्य गरी सभा, प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बैठकले निर्णय गरेको छ।
एकमहिने जागरण कार्यक्रम अनुसार बर्दिया, बाग्लुङ, धादिङ, सर्लाही, सुनसरीलगायत स्थानमा सभा गर्ने निर्णय भएको छ। जागरणसभासँगै प्रत्येक ब्युरोमा राज्य समिति प्रशिक्षण सम्पन्न गरिने केन्द्रीय सदस्य अग्निप्रसाद सापकोटाले बताए।
मंसिरकै तयारीमा दलहरू
This entry was posted in नेपाल समाचार. Bookmark the permalink.