प्रधानमन्त्रीलाई किन फाप्दैन बालुवाटार ?


ज्योतिष भन्छन् -जो पस्यो, ऊ बिग्रयो
१० मंसिर, १५ महिनाअघि डा. बाबुराम भट्टराई बालुवाटार छिर्नुअघि धेरैले ठानेका थिए-’अब देशमा केही हुन्छ ।’ अरुले मात्र होइन, प्रधानमन्त्री चुनावका बेला भट्टराईलाई भोट नहालेका कांग्रेस, एमालेका धेरै नेतालाई समेत भट्टराईले केही गर्लान् भन्ने विश्वास थियो । जनताको आशा, चाहना र विश्वाससँगै संविधानसभाबाट आवश्यक मत बटुलेर भट्टराई ०६८ भदौ ११ मा प्रधानमन्त्री हुनुभयो र बालुवाटार सर्नुभयो । जनभावनाअनुसार काम गर्छु भनेर नीति तथा कार्ययोजना पनि बनाउनुभयो तर, हुँदै जाँदा पहिलेका प्रधानमन्त्री जस्तै उहाँबाट पनि जनताले खोजे र रोजेजस्तो पाएनन् । आखिर किन फापेन डा. बाबुरामलाई बालुवाटार ?
‘बालुवाटार पुगेपछि सद्धे मान्छे पनि बिग्रँदो रहेछ’ हिजोआज धेरैको मुखबाट यो सुन्ने गरिन्छ । लोकतन्त्र स्थापनापछि अहिलेसम्मको अवस्था हेर्ने हो भने ६ वर्ष यता ५ जना प्रधानमन्त्री भए । गिरिजाप्रसाद कोइरालादेखि यसअघिका झलनाथ खनालसम्मको कार्यकाल हेर्ने हो भने कोही पनि दुई वर्षसम्म टिकेको उदाहरण छैन, उनीहरु ९ महिनादेखि डेढ वर्षसम्मको अवधिमै बालुवाटार छोड्न बाध्य भएका छन् । १५ महिना बालुवाटारमा बास बसिसकेका अहिलेका प्रधानमन्त्री डा. भट्टराई पनि बिदा हुन लाग्नुभएको छ ।
कोही ५ वर्ष टिकेको छैन
बहुदल आएदेखि अहिलेसम्मको अवस्थालाई नै हेर्ने हो भने प्रधानमन्त्री हुने कसैले पनि आफ्नो पूरा कार्यकालसम्म बालुवाटारमाबस्न पाएको छैन । ०४८ सालमा आम चुनाव भएपछि पाँच वर्षका लागि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीमा निर्वाचित भए पनि उहाँले ३ वर्षमै बालुवाटार छाड्नुपर्‍यो । ०५१ मा एमालेका प्रधानमन्त्री मनमोहन अधिकारी बालुवाटारमा ९ महिनाभन्दा बढी टिक्नुभएन । त्यसपछि सूर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द, शेरबहादुर देउवा पालैपालो बालुवाटार ओहोर-दोहोर गरे । तर कसैले पनि लामो अवधि बालुवाटारमा बस्न पाएनन् ।
पूर्व राजा ज्ञानेन्द्रले एकलौटी शासन गरेको ०५९ असोजदेखि ०६३ बैशाखसम्म बालुवाटार झण्डै सुनसानजस्तै थियो । त्यसबीच शेरबहादुर देउवा पुनः बालुवाटार छिरेपनि धेरै टिक्न सकेनन् । उनी दोहोर्याएर बालुवाटार पस्नु र ज्ञानेन्द्रले निरंकुश कदममा मलजल गर्नु सँगसँगैजस्तो भयो ।लोकतन्त्र स्थापनापछि गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई पालैपालो बालुवाटारमा बास बस्न पुगे । कोइरालाले त्यहीँ बसेर बल्लतल्ल संविधानसभाको निर्वाचन गराउन सफल भए । त्यसपछिका प्रधानमन्त्री भने बालुवाटारमा टिक्न सकेनन् ।
ज्योतिष भन्छन् -जो पस्यो, ऊ बिग्रयो
‘पञ्चायतकालमा पनि यस्तै थियो, बालुवाटारमा कोही टिकेनन्’ ज्योतिष तथा वास्तुविज्ञ बासुदेव कृष्णशास्त्रीले भन्नुभयो-’बालुवाटारको निवास यही अवस्थामा रहने हो र छिटै परिवर्तन नगर्ने हो भने अब पनि त्यहाँ कोही टिक्दैनन्, संकट झन् बढ्छ ।”बालुवाटारमा कुनै पनि प्रधानमन्त्री ५ वर्षसम्म टिकेको इतिहास छैन र टिक्दैन पनि’ वास्तुविज्ञ वासुदेव कृष्णशास्त्रीले अनलाइनखबरलाई भन्नुभयो -’बालुवाटारको बनोट वास्तुशास्त्र अनुसार ठीक छैन, त्यसैले त्यहाँ जो गयो, ऊ भ्रष्ट हुन्छ र बिग्रन्छ ।’ बालुवाटार प्रवेश बाटो, ठाउँ, घरको बनोट, रुखबिरुवाको कारण प्रधानमन्त्री बस्नको लागि यो ठाउँ उपयुक्त नहुने उहाँको भनाइ छ । ‘प्राचीनकालका अधिकांश घर वास्तुअनुसार कुनै न कुनै रुपमा मिलाइएका छन् ।’ उहाँले भन्नुभयो-’जस्तो राष्ट्रपति बस्ने शितलनिवास बाहिरी रुपमा मिलाइएको छ, तर प्रधानमन्त्री बस्ने बालुवाटार त्यसरी बनाइएको छैन ।’
वास्तुविज्ञ शास्त्री संविधानसभा भवन वास्तुशास्त्र अनुसार नमिलेकाले संविधान नबनेको ठोकुवा गर्नुहुन्छ । ‘मैले संविधानसभा गठन भएर बानेश्वरमा बैठक बस्न थालेलगत्तै यसो भनेको थिएँ, नभन्दै संविधान बनेन’ उहाँले भन्नुभयो -’बालुवाटारको हालत पनि यही हो, त्यहाँ भित्र पस्दा सद्धे मान्छे पनि बिग्रन्छ ।’ज्योतिषहरुका अनुसार विश्वास भएमा मात्र वास्तुशास्त्र प्रभावी हुन्छ, । नेपाली समाजमा हिन्दूहरुले विशेष गरी घर बनाउँदा वास्तुशास्त्र हेर्ने गर्छन् । पृथ्वीको आकर्षण शक्ति, हावाको आगमन, सूर्यको प्रकाश अर्थात न्यानेपन, पानीको प्रवाह र घडेरीको बनावटको सन्तुलन मिलाउने तथा प्रकृतिसँग जीवनको तालमेल मिलाउने विज्ञान नै वास्तु विज्ञान अर्थात वास्तुशास्त्र हो ।
बालुवाटार भत्काउने बाबुरामको इच्छा
प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफैं आर्किटेक्चर इन्जिनियर हुनुहुन्छ । भट्टराई आध्यात्मिक एवं धार्मिक कुरामा विश्वास नगर्ने भौतिकवादी हुनुहुन्छ । तर, पण्डितहरु मात्र नभएर भट्टराईकै दृष्टिकोणमा पनि प्रधानमन्त्री निवास बालुवाटार उचित तरिकाले निर्माण भएको छैन । सुरक्षा र अन्य दृष्टिकोणले अहिलेको प्रधानमन्त्री निवास भत्काएर अर्काे बनाउनुपर्ने धारणा डा. भट्टराईले केही समय पहिले एक दैनिक पत्रिकालाई प्रतिक्रिया दिनुभएको थियो । पञ्चायतकालमा राजाको मातहतमा रहने प्रधानमन्त्रीका लागि निवासको रुपमा प्रयोग गर्न थालिएको बालुवाटार लोकतन्त्रकालको सरकार प्रमुखका आवश्यकता पूरा गर्नेखालको नरहेको डा. भट्टराईको तर्क छ ।डा. भट्टराईले छाडेपछि अब बालुवाटारभित्र कसले प्रवेश गर्ला ? विगतको शाहीकालमा जस्तै केही समय बालुवाटार सुनसान रहने र शीतल निवासबाटै मुलुकको शासन चल्ने हो पो हो कि ? यस’bout प्रष्ट हुन अझै केही दिन त कुर्नै पर्ला ।

Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.