एक बालिकाको मृत्यु, सात करोडको क्षति-
भीम चापागाईं, इलाम, मंसिर १०- पाँचथरको विकट क्षेत्रमा पर्ने च्याङथापु बजारमा गएराति भीषण आगालागी भएको छ। आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ। च्याङथापु गाविस-९ मा पर्ने बजारका १३ घर जल्दा स्थानीय भक्तिप्रसाद बेघाकी ११ वर्षीया छोरी सोनियाँ बेघाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ। प्रहरीका अनुसार राति साढे ११ बजेतिर शुरु भएको आगलागीबाट च्याङथापु बजारका रामकुमार नुगो, डम्बरकुमार वेघा, प्रेम संग्रौला, महेन्द्र बेघा, खड्ग गुरुङ, भीम गौतम, राजेन्द्र गुरुङ, कृष्ण राई, राजन राई र गंगा राईको घर जलेका हुन्। आगो नियन्त्रणका क्रममा बालिकाको शव फेला परेको प्रहरीले बताएको छ।
रामकुमार नुगोको घरबाट विद्युत सर्ट भई आगलागी भएको प्रहरी निरीक्षक गोपाल ढकालले जनाए। प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको प्रयासमा राति साढे १ बजे आगो नियन्त्रणमा आएको थियो। स्थानीय प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दुर्गाबहादुर मगरले आगलागीबाट अन्नपात, भाँडाकुँडा, लुगाफाटो, काठ सबै नष्ट हुँदा सात करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए।
सहायक प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद आचार्यले घटनाको थप अनुसन्धानका लागि राति नै प्रहरी निरीक्षक गोपाल ढकालको नेतृत्वमा, प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी र रेडक्रसको टोली घटनास्थलतर्फ गएको जानकारी दिए।
घटनापछि सदरमुकाममा आज विहान जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसेको थियो। बैठकले आगलागीबाट मृत्तकमा परिवारलाई ४० हजार रुपैयाँ र अरु पीडितलाई तत्कालका लागि पाँच हजार रुपैयाँका दरले आजै राहत प्रदान गर्ने निर्णय गरेको सहायक प्रजिअ आचार्यले बताए।