हजुरको पालामा पनि यस्तै हुन्थ्यो त बाजे…?


ज्ञानेन्द्र गुरुङ,ओखलढुंगा(रुम्जाटार~३)

हजुरको पालामा पनि यस्तै हुन्थ्यो त बाजे…?
अनि हजुरको कृतिमा यस्तै लेखेर छोड्नु भाथ्यो त..कतै…..?
 
हजारौ भाषिक लहरे संजाल भित्रबाट,
एउटा दार्शनिक नेपाली साहित्य भण्डारका,
विलक्षण महामानवको बेली बिस्तार के गर्नु ?
बरु उनै साईला बाजे सामु याहाँ भए गरेका..
सबै पोल खोलिदिने तैयारीमा छु म  आज !!

म त एउटा अन्जान शिष्य…
हजुरको उपदेशलाई किताबी फाँटबाट,
एक त्यान्द्रो थुतेर झिक्न खोजि रहेछु
अनि बेला बखतमा तैनाथ बन्दै,
नेपाल आमा रोएको कहानी,
आफ्नै टुटे फुटेका शव्द र शैलीमा,
बिलौना पोख्न सकेको छु,
शिरमा सजिएका प्रकृतिका सुन्दर हाँसो र,
निस्वार्थ फैलाईएका हरियाली हत्केला भरि,
अनगिन्ती ममता र स्पर्शका,
तरङ्ग बाड्न भने असमर्थ छु,
किनकि…,
मेरो देश अहिले पनि रोएकै छ,
मेरी आमा घायल छिन अझै,
लाली पाउडर गाजलले…
चिरी च्याट्ट देखिने चेहारा,
हिउँदे ऋतुका धुलाम्मे नौ डाँडा जस्तै,
फुङ्ग उडेको जस्तो छ,
माथमा सजिएका सिन्धुर पोते..
चुटेका…फुटेका छरपष्ट जस्ताको तस्तै छन अझै,
लाग्छ..कता कता…,
आफ्नै महान योद्धा बिर~बिरंगना सपुत हरुको,
बरखी मै आँशु झारी रहे जस्तो देखिन्छिन;
परिवन्दमा छिन मेरी माँ…
न उठाउन सकेकोछु  उनलाई,
न बसाउन सकेकोछु,
म आज पनि मुङलानमा मै व्यतित छु !!

सुनेथें अग्रज गुरुजनबाट…पढेथें किताबमा,
दयालु थिए रे हाम्रा साईला बाजे…
नेपाली साहित्य जगतका महापुरुष,
महाकवि लक्ष्मी प्रसाद देवकोटा
तपाई हामीलाई नेपाली साहित्य, कला, भाषा, धर्म
र दर्शनका ठेली बिसाई दिने एक महामानव
धर्तिमा आगमन भएको सुन्दर साँझमा छु म !!

बाजे हजुर त आउनु भएछ र….
नेपाली जगतलाई धेरै कुछ पस्केर,
हतार मै खालि हात फिर्नु भएछ //
हामीले त हजुरको तिथी र नक्षत्र  मात्र…
भित्ते पात्रोमा झुण्डीएका भेट्यौ,
हजुर जवानी हुँदाको तस्बीर,
किताबको कापमा भेटेर पुज्न पायौ;
अनि गुणको भण्डारबाट  केहि दर्शनका कुरा…
व्यंजन बर्ण र बाह्रखरीमा छिचोल्यौ धेर~थोर,
बस….!!
आज हजुरमा भावपूर्ण श्रद्धा अर्पण…
पुजन र सत्कार बिसाउदा,
अन्य भन्दा कता~कता भिन्दै दुखेको छ मलाई..
किनकी…..,
बाजेका ति हजारौ सक्कली अमर कृति र
साहित्यका ठेलीहरुमा धमिरा लागेका छन्,
पानाहरु च्यांङ फ्यांङ भैसकेका छन;
र बचे कुचेका पनि कोहि कतै,
साझा पुस्तक भण्डारका ध्वाँसे कुना भरि,
छरपष्ट बनि जालो र ढुसीले बेरेर,
दयनीय बनि रोई रहेका छन् !!

हजुरले आफ्नो लिपी, भाषा र संस्कृति जोगाउन…
अनिदो बनि अस्पतालको शैयाँमा,
मृत्युसंग लड्दै हर~तरहले लागि प-या होईन त ?
काल आफै लिन दैलोमा आई…
चोरी औला ठड्डयाउदा सम्म पनि,
साहित्य भाषा र संस्कृतिलाई सिरानी लगाई,
सिंगो नेपाली समाज उत्थानको खातिर,
काँध हाल्नु भा होईन र ?
तर हजुरको त्यो महान कार्य…
गरुङ्गो बन्यो आजको यो,
जाली समाज र खेलाडी हरुलाई,
याहाँ त हिजो आज…
स्वार्थमा छिटो छिटो हात हाल्छन र..
नौनी चाट्न छिटो हात निकाल्छन;
तँ~छाड…म~छाड, तै ठुलो…मै ठुलो भन्ने भए याहाँ;
हजुरको पालामा पनि यस्तै हुन्थ्यो त बाजे…?
अनि हजुरको कृतिमा यस्तै लेखेर छोड्नु भाथ्यो त..कतै…..?

अधिक कम हजुरका महान शिष्यहरु बाहेक…
कसैलाई पनि फुर्सदै छैन,
ति ज्ञानका भण्डार खोतल्न वा,
कृति भित्रका संदेश, उपदेश कोरिएका पाना पल्टाउन;
अनि बाजेले जस्तै हृदय फराकिलो बनाएर…
अब कसले गर्ला भाषा र संकृतिको जगेर्ना ?
कसले कायम राख्ने भाईचाराको नाता मजबुत ?
कसले बनाउने सिंगो देश हिमाल, पहाड, तराई…
सुन्दर शान्त अनि मनोरम ?
अब भेटिन्न त्यो हजुरको पालाको,
सिंगो समाज, भाईचारा अनि देश,
चार बर्ण, छत्तिस जातको साझा फुलबारी…!!
काँक्रो चिरे झैँ चिरा~चिरा, चोक्टा~चोक्टा पारेर…
तँलाई शिर, मलाई पुच्छर भन्नेमा,
भुसियाहरुको हाँड़को लडाईमा छन आज,
भोलि यो देशको हालत के होला…,बाजेलाई थाहा छ त ??
हुँदा हुँदा..याहाँ त बाजे…
हजुरले बारम्बार कहने गरेको..
राष्ट्रिय बिभुतिका गहना आफ्नो भाषालाई त,
सरकसको मन्त्र पढेर इन्द्रजाल खेलाउनेको ईशारामा…
धोतिको सप्काले बेरेर बन्दगीमा राखेर,
सापटी लवज लिएर जस्ताको तस्तै,
सदन र सपथमा कुर्लन थालेका छन !!
सबै सत्ताको अमल्दार बन्ने…
चुत्था भाग दौडको खेलमा मात्र छन याहाँ,
हजुरको पालामा पनि यस्तै हुन्थ्यो त बाजे…?
अनि हजुरको कृतिमा यस्तै लेखेर छोड्नु भाथ्यो त..कतै…..?

अनि के यस्ता पाँडे हरु लाई पनि…
हजुर विराजमान भएको ठाउँमा स्थान छ त ?
यी धत्तुरेहरु धर्ति माँ लाई अत्याधिक बोझ मात्र भै सक्यो;
जनतालाई आँखाको छारो मात्र भै सक्यो;
र पनि खपी राखेका छन नत्मश्तक बनेर !!
अब पनि हामी टुलु टुलु हेरी राखौ बाजे ?
त्यसैले..,
याँहाका घरपालुवा जनावरहरु बाट,
अबिलम्ब कनिका, भुस र सक्लो चामल,
निफनेर छुट्टयाउन जरुरि छ अब !!
हजुरको नातीले गल्ति भन्यो…?

बाजे…ठिक उल्टो चलेको छ चलन याँहा;
बाँचेका हरुको विधा केलाएर…
जिउदोमा सम्मान हुदैन,
मरे पछीको दुंगे शालीकमा,
एक थुंगा फुल झट्टारे,
एकहार माला ओढायर अलिकति,
झाड़ा टार्ने फोस्रो भुकाई भुके पुग्छ याँहा;
अनि त्यै हो रे श्रष्टाको सम्मान, सत्कार !!
हाय…फियारो…!!
हजुरको पालामा पनि यस्तै हुन्थ्यो त बाजे…?
अनि हजुरको कृतिमा यस्तै लेखेर छोड्नु भाथ्यो त..कतै …..??
अन्तमा…,
हजुरलाई विद्वान बनाएर स्वोर्गपुरी पठाउने धरोहर…
दरबार हाईस्कुलको गती पनि त्यस्तै देख्याछु मैले,
यसले कालान्तरमा कति डाक्टर जन्माए रे..?
मन्त्री, महामन्त्री, प्रोफेशर, राजनेता जन्माए रे..?
तर के पाएछन त यिनले आज…?
फेरी कोही कहिल्यै फिरेनन् क्यार यिनको दुर्गति हेर्न;
पखेटा बजाउदै गुड छोडी उडेका पंछी जस्तै,
त्यसैले आज उ आफै उपचारको खोजीमा,
रोई रहेको देख्याछु मैले !!
मुटु, कलेजो भित्र भित्रै छेद, बिछेद भए झैँ लाग्यो,
आन्द्रा, भुडी पथ यात्रीको पाउ सम्म जेलिन आईपुगे झैँ लाग्यो,
हेर्दा अन्य ज्ञानिन्द्रिय सबै अंग भंग भए झैँ लाग्यो,
खैर… बल्ल, तल्ल चार हात खुट्टा टेकेर…,
घुक्रुक्क थामीन सम्म सकेको रहेछ बिचरा,
यति थाहा भयो कि…,
उसलाई पनि हजुरलाई लागेको ज्यानमारा रोग,
क्यान्सरले नै सखाप परेको जस्तो लाग्यो मलाई;
मक्की सकेको दुर्बल मट्टीको कंकाल एउटा धरोहर,
कुन दिन आफ्नो ईतिहाँस मेटाई,
किम्बदन्ती मै सिमित बनि हेर्दा हेर्दै,
बाजेको देहान्त भए जस्तै गरि ढल्ने छ,
अनि समाप्त हुने छन् यी मेरा अर्थहिन भुकाईहरु पनि…
झल्~झली बाजेलाई सम्झदै यसरि…!!
“दोस्त कहा छन् ? साथ छ को को ? घर हो तिम्रो कुन देश ?
जान्छौ कुन पुर भवन मुसाफिर, ल्यायौ कुन सन्देश ?
दोस्त मेरो शुभ उद्योगी, साथ छ साहस बेश ।
विश्व सबै घर, हृदय-पुरीतिर ल्याउछु सेवा सन्देश”।।

ज्ञानेन्द्र गुरुङ
ओखलढुंगा(रुम्जाटार~३)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.