दिदीबहिनी मात्र हुनेले बहिनी टीका लगाउने


दाजुभाइ नभएकाहरूले यसपालिको तिहारमा बहिनी टीका मनाउने भएका छन् । दिदीबहिनीले दाजुभाइलाई मात्र टीका लगाउँदा दाजुभाइ नहुनेहरूलाई चाड आएको अनुभूति नहुने भएकाले यस्तो सुरुआत गर्न लागिएको उनीहरूले बताए । दाजुभाइ नभएका दिदीबहिनीहरूको सञ्जाल (डेस्ट) को पहलमा यस्तो अभियान सुरु गरिएको कार्यक्रमकी संयोजक सोमानिया दाहालले बताइन् । उनीहरूको समूहमा दिदीबहिनी मात्र भएका ७१ जना सदस्य छन् । सधैं काकाका छोराछोरीलाई टीका लगाउँदै आएकी उनले यसपालि बहिनी सुपुनलाई टीका लगाएर बहिनी टीका मनाउने छिन् । ‘युगौंदेखि चलिआएको चाडपर्वलाई यसरी फरक ढंगबाट मनाउने हाम्रो यो कुनै संस्कृतिविरोधी कदम होइन,’ उनले भनिन्, दाजुभाइ नहुनेहरूले पनि यस पर्वलाई उत्सवका रूपमा मनाउनुपर्छ भनेर यस प्रकारको टीकाको सुरुआत गर्न लागेका हौं ।’ उनले जस्तै अनुषा सापकोटाका चार दिदीबहिनीले पनि तिहारमा एक अर्कालाई टीका लगाइदिने छन् । ‘दाजुभाइ नभएको अनुभूति तिहारमा पर्न नदिन पनि यो आवश्यक छ,’ उनले भनिन् ।

पुरुषको उपस्थिति अनिवार्य मानिने संकृति जोगाइराख्ने निहुँमा अझै नेपालका कैयौं महिलालाई छोरा जन्माउने सामाजिक दबाब हुने भन्दै अभियानकर्ताहरूले छोराछोरीबीच गरिने सांस्कृतिक भेदभाव हटाउन यस्तो गर्न लागिएको बताए । भाइटीका मात्र मनाउँदा समाजले सांस्कृतिक कारण देखाएर छोरा जन्माउन बाध्य पार्ने भएकाले बहिनीलाई समेत टीका लगाउन थालेपछि पुरुषको अनिवार्यता हट्ने दाहालको बुझाई छ । उनीहरूको अभियानमा यस वर्ष ६ वटा समूह सहभागी हुँदै छन् । दाजुभाइ नभएकाहरूले टीकाको दिन जयबागेश्वरीमा भेला भएर बिहान ८ बजेदेखि आ-आफ्ना दिदीबहिनीलाई टीका लगाइदिने छन् । ‘टीकाको सबै प्रक्रिया भाइटीकाको जस्तै हुनेछ,’ संयोजक दाहालले भनिन्, ‘बहिनीलाई टीका लगाएर मसला, दक्षिणा पनि दिइन्छ ।’

उनीहरूले यसअघि दाजुभाइ मान्दै आएकाहरूलाई पनि टीका लगाइदिने छन् । ‘परम्परागतदेखि दाजुभाइ मानेकाहरूलाई पनि टीका लगाइदिने छौं,’ उनले भनिन्, ‘त्यसैले हामीले दिदीबहिनीलाई लगाइदिने टीकाका लागि बिहानको समय तोकेका हौं ।’ उनीहरूले आफ्नो अभियान महिलामाथि हुने लैंगिक हिंसाविरुद्धसमेत भएकाले सकारात्मक रूपमा लिइदिन आग्रह गरेका छन् ।

Source:ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.