कस्तो होला म मर्ने दिन


काठमाडौ, कार्तिक २७ – सुभाष गौतमको मूल पेसा शिक्षण हो । तर पनि उनी नामका लागि गीत लेखनमा संघर्ष गरिरहेको सुनाउँछन् । कैलाली, टीकापुरका सुभाषले २०४४ देखि नै गीत लेख्न थाले पनि औपचारिकता भने १४ वर्षपछि पहिलो एल्बम ‘नभए तिमी’ ले दिलायो । जीवन दर्शन र यथार्थपरक गीत लेखन रुचाउने उनले त्यसलाई पहिलो एल्बमदेखि नै पछ्याए । त्यसपछिका आफ्ना अरू एल्बम ‘नजर’, ‘सुगन्ध’ र ‘सम्बन्ध’ मा पनि त्यही प्याटर्नलाई नै जोगाइराखेका सुभाषले पाँचांै एल्बमको रूपमा मंसिरभित्र ‘अधर’ ल्याउने गरी कस्सिएर लागेका छन् तर फरक शैलीमा ।

‘यसपालिका गीतको प्याटर्न फरक छन्,’ टीकापुरकै एमबीए कलेजका प्राचार्य समेत रहेका सुभाषले भने, ‘अहिले बाँच्ने गीतभन्दा नाच्ने गीत चल्न थालेका छन् । त्यसैले अबको एल्बममा मैले डान्सिङ नम्बरहरू राखेको छु ।’ उनले गहन गीतले तारिफ पाए पनि चर्चा कमाउन समयको मागलाई पनि बुझ्नुपर्ने बाध्यता सर्जकमा रहेको बताउँदै दुखेसो पोखे, ‘नत्र त मेरा पहिलेका गीत कालजयी हुनुपर्ने हो, तर भएनन् । कतिले थाहै पाएनन् ।’ ‘अधर’ एल्बममा उनले पाँच गीत समावेश गरेका छन्, जसका सबै गीतको म्युजिक भिडियो समेत समेटेर एल्बमलाई भीसीडीका रूपमा निकाल्ने तरखरमा छन् । सबै गीतहरूको संगीत र गायनमा भने गीतकार सुभाषलाई अनुपराज रेग्मीले साथ दिएका छन् । यसपटक सुभाषले अनुपजस्ता नयाँसँग काम गरेका छन् । यसअघि उनले आलोकश्री, सुरेश अधिकारी, किरण कँडेल जस्ता चलेका सर्जकसँग काम गरिसकेका छन् । सुभाषले गीत लेखनलाई आफ्नो नाम कमाउने लोभकै परिणाम उब्जेको हाकाहाकी बताउँछन् । ‘नाम कमाउने भनेको साहित्यबाटै हो, त्यसमा पनि गीत लेखन अरूभन्दा सजिलो मानें,’ उनले सुनाए, ‘हुन त गायनबाट अझै बढी नाम र दाम कमाइन्छ । तर गीत लेखन भनेको अलि बौद्धिक वर्गले मनन गर्ने कुरा हो । मलाई यसैमा ठीक छ ।’ उनका रुचाइएका केही गीतमध्ये उदितनारायणले गाएको ‘घुम्टो खोल अझै राम्री देखिन्छयौ कि कतै…,’ राजेशपायल राई र मल्लिका कार्कीको ‘जून माग जून दिन्छु…,’ फत्तेमानको ‘साथी त्यही हो जसले दुःखमा साथ दिन्छ…,’ सुरेश अधिकारीको ‘कस्तो होला म मर्ने दिन…,’ दीपक लिम्बूले गाएको ‘अन्मिएर तिमी चढ्ने डोली कसको होला…’ र अञ्जु पन्तले स्वर दिएको ‘दुश्मनले नगरेको काम…’ हुन् । यी गीतले उनलाई अमर राख्ने छाँट देखाएका छन् ।

Source:ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.