पुरानै समझदारीमा जहाज बेच्न एयरबस तयार


सुशील भट्टराई, काठमाडौं, कात्तिक २३-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई तीन वर्षअघिकै समझदारीअनुसार जहाज बेच्न युरोपेली जहाज निर्माता कम्पनी एयरबस तयार भएको छ। निगम र एयरबसका उच्च अधिकारीहरूबीच मंगलबारदेखि दुई दिनसम्म चलेको वार्तापछि पुरानै समझदारीअनुसार जहाज बेच्न एयरबस तयार भएको हो। तीन वर्षअघि निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई ठूला जहाज खरिद गर्न मागेको ‘ग्लोबल टेन्डर’ जितेको एयरबस अहिले फेरि पुरानै समझदारीमा जान तयार भएको हो। 
‘एयरबसका अधिकारीहरू हामीसँग विगतमै भएको समझदारीअनुसार जहाज खरिद-बिक्री प्रक्रिया अगाडि बढाउन तयार भएका छन्,’ निगमका कामु महाप्रबन्धक राजुबहादुर केसीले बुधबार नागरिकसँग भने, ‘अब नियम-प्रक्रिया मिल्यो भने हामी अगाडि बढ्छौं।’
केसीका अनुसार एयरबसको प्रस्तावलाई निगम सञ्चालक समितिमा पेस गरिने छ। त्यहाँबाट तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा प्रतिवेदन जाने छ। त्यसपछि सरकारको निर्देशनअनुसार निगम अगाडि बढ्ने छ।
‘दसैंअघि सरकारले दिएको निर्देशनअनुसार हामीले १ सय ५० सिट क्षमताका दुईवटा ए३२०-२०० सिरिजका जहाज किन्ने प्रस्ताव उनीहरूलाई राख्यौं,’ केसीले भने, ‘हाम्रो प्रस्तावलाई उनीहरूले सक्दो सहयोग गर्ने बताए।’
सरकारले पुरानै समझदारीअनुसार अगाडि बढ्न निर्देशन दिए, त्यसैअनुसार र नयाँ प्रक्रिया अगाडि बढाउन भनिए ग्लोबल टेन्डर मागेर अगाडि बढ्ने उनले जानकारी दिए।
एयरबस टोलीको नेतृत्व वरिष्ठ बिक्री तथा बजार निर्देशक शील शुक्लले गरेका थिए। निगम टोलीको नेतृत्व सञ्चालक समितिका सदस्य अशोक पोखरेलले गरेका थिए। सदस्यमा निगमका कामु महाप्रबन्धक केसी र कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता सरोज कसजु थिए। वार्ता सकिएपछि एयरबस टोली बुधबार राति नै फर्किएको छ।
अन्तर्राष्ट्रिय उडानका लागि दुई जहाज किन्न सरकार जमानत बस्ने निर्णय दसैंअघि नै सरकारले गरेको थियो। एयरबससँग पुरानै समझदारीमा जहाज खरिद गरे फाइदा हुने तर, नयाँ प्रक्रिया अगाडि बढाए ३७ लाख डलर (३१ करोड ८२ लाख रुपैयाँ) महँगो पर्ने सम्बद्ध अधिकारीले बताए।
‘नयाँ खरिद प्रक्रिया अगाडि बढाउन पुनः ग्लोबल टेन्डर आह्वान गर्नुपर्छ, तर पुरानै अगाडि बढाउने हो भने तीन सातामै काम फत्ते हुन्छ,’ उनले भने, ‘एयरबसले यसअघि पनि पुरानै भाउमा जहाज दिने आशयको पत्र पठाएको थियो। अब काम सुरु गर्ने हो भने दुई वर्षभित्र दुई ठूला जहाज ल्याउन सकिन्छ।’
निगमले २०६५ चैत २५ मा ग्लोबल टेन्डर मागेर २०६६ जेठ ८ मा टेन्डर खोलेको पाँच महिनापछि २०६६ कात्तिक ९ मा एयरबसको जहाज किन्ने निर्णय गरेको थियो। दुई दशकपछि जहाज किन्न गरिएको त्यो पहिलो निर्णय थियो। एयरबससँग अमेरिकी जहाज निर्माता बोइङ प्रतिस्पर्धामा उत्रिएको थियो।
निगमले १ सय ५० सिट क्षमताको ए३२०-२०० न्यारो बडी र २ सय ७० सिटे ए३३०-२०० वाइड बडी किन्न लागेको थियो। एयरबसले ४ करोड १२ लाख ८९ हजार डलरमा न्यारो र ९ करोड २८ लाख ४५ हजार डलरमा वाइड बडी बेच्ने प्रस्ताव गरेको थियो।
न्यारोको मूल्य बोइङको भन्दा सस्तो थियो। वाइडमा प्रतिस्पर्धा भएको थिएन। जहाज किन्न निगम र कर्मचारी सञ्चय कोषबीच १० अर्ब रुपैयाँ ऋण आदान-प्रदानको सैद्धान्तिक सहमति भएको थियो। कोषले सरकारको जमानी चाहिने सर्त भने राखेको थियो।
निगम र एयरबसबीच दुई जहाज खरिद-बिक्रीका लागि २०६६ कात्तिक १९ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो। त्यसको भोलिपल्टै निगमले ‘लकअप मनी’ (बैना) स्वरूप ७ लाख ५० हजार अमेरिकी डलर पठाएको थियो। उक्त समझदारीमै बैना प्राप्त हुनुपर्ने उल्लेख छ। निगमको आर्थिक विनियमावलीमा पनि सञ्चालक समितिले जहाज खरिद गर्ने निर्णय गरेपछि व्यवस्थापनले बैना पठाउन सक्ने व्यवस्था छ।
बैना पठाइसकेपछि निगमको जहाज खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनविपरीत भएको कारण देखाउँदै तत्कालीन संसदको सार्वजनिक लेखा समितिले २०६६ पुस १३ मा रद्द गर्न सरकारलाई निर्देशन दिएको थियो।
सञ्चालक समितिको निर्णयबिना बैना पठाउनु अख्तियार दुरुपयोग भएको ठहर गर्दै समितिले सम्बद्ध अधिकारीहरूलाई कारबाही गर्न पनि सरकारलाई निर्देशन दिएको थियो।
त्यसै गरी २०६७ जेठ १० मा अर्थ मन्त्रालयले पनि जहाज खरिद प्रक्रिया रद्द गरी बैना ब्याजसहित असुल गरेर सम्बद्ध अधिकारीलाई कारबाही गर्न निर्देशन दिएको थियो।
त्यसपछि निगमका तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारसहित ६ उच्च अधिकारीले बैना पठाइ निगमलाई नोक्सान पुर्या्एको ठहर गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध २०६६ पुस ९ मा विशेष अदालतमा मुद्दा हालेको थियो।
एयरबससँगको समझदारीमा बैना फिर्ता नहुने उल्लेख भए पनि २०६६ फागुन २० मा एयरबसले ७ लाख ४९ हजार ९ सय ९२ डलर निगमको खातामा पठाइदिएको थियो। निगमले ७ लाख ४९ हजार ९ सय ९८ डलर बैना पठाएको थियो। त्यसपछि आरोपित अधिकारी काममा फर्किएका थिए।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.