पारसको फड्को


घटना सन् २००४ मार्चको हो, बंगलादेशमा यू-१९ वर्ल्ड कप क्रिकेट खेलेर पारस खड्का नेपाल फर्किए । मनभरि अनेक कुरा खेल्यो । र, उनले निर्णय लिए, ‘अब क्रिकेट खेल्न छाड्छु ।’ त्यसताका सिनियर टिममा अलराउन्डर राजु खड्का, महबुब आलमजस्ता हस्ती खेलाडीले एकछत्र राज गरिरहेका थिए । पारसले ठाने, ‘सिनियर टिममा कहिल्यै परिन्न ।’ संयोग त्यसै बेला नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी इन्टर कन्टिनेन्टल कप छनोटका लागि खेलाडीलाई बन्द परीक्षणमा बोलायो । पारसलाई पनि निम्तो आयो । तर बानेश्वर, बुद्धनगरका अल्लारे केटा नजाने मनस्थिति थियो । बुवाआमाले सम्झाई-बुझाई गर्दै अभ्यासमा पठाइछाडे । केही समयपछि प्रतियोगिताका लागि खेलाडी छनोटको नाम सार्वजनिक भयो । तर पारसले सोचेभन्दा ठीक उल्टो नतिजा निस्कियो । पारस पहिलोपल्ट सिनियर टिममा अटाए । त्यसपछि उनले फर्केर हेर्नु परेको छैन । उनले यूएईमा भइरहेको एसीसी ट्रफी एलिटमा शनिबार कुवेतविरुद्ध बनाएको पहिलो अन्तर्राष्ट्रिय शतक त्यसै निरन्तरता र सफलताको प्रतिफल हो ।

उनले ७७ बलमा नटआउट १ सय ६ रन जोडेपछि पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २ सय ८० रन बनायो । जवाफमा २ सय ८१ रनको लक्ष्य पाएको कुवेतले नेपाललाई पहिलोपल्ट हराउने क्रममा ४६ ओभर २ बलमा ६ विकेट २ सय ८५ रन जोड्यो । पारस वान-डे क्रिकेटमा अन्तर्राष्ट्रिय शतक बनाउने छैटौं नेपाली खेलाडी भए । उनले ४९ औं ओभरको पहिलो बलमा एक रन लिँदै शतक पूरा गरेका थिए । पारस दोस्रो छिटो शतक प्रहार गर्ने नेपाली खेलाडी भए । सन् २००३ मा नेपालका लागि वान-डेमा पहिलो शतक हिर्काउने क्रममा राजु खड्काले भुटानविरुद्ध एसीसी इमर्जिङ नेसन्स कपमा ५० बलका शतक प्रहार गरेका थिए । पारस शक्ति गौचनपछि एक हजार रन पूरा गर्ने दोस्रो नेपाली खेलाडी हुन् । उनको यसअघिको व्यक्तिगत उच्च स्कोर ८७ रन हो । उनले सन् २००६ को एसीसी ट्रफीमा भुटानविरुद्ध बनाएका थिए । सन् २००९ मा विनोद दासबाट पारसको काँधमा कप्तानीको जिम्मेवारी आएयता नेपाली क्रिकेटले ठूलो फड्को मारेको छ । उनकै नेतृत्वमा नेपालले सन् २०१० मा आईसीसी वल्र्ड कप डिभिजन-५ र २०१२ मा डिभिजन-४ को उपाधि जितेको छ । गत वर्षको मार्चमा यूएईमै भएको आईसीसी वल्र्ड ट्वान्टी-ट्वान्टी छनोटमा नेपालले आईसीसी वरीयतामा आठ स्थान फड्को मार्दै सातौं स्थानमा उक्लनु अर्को उपलब्धि हो । चार वर्षे नेतृत्वमा पाएको सफलतापछि उनलाई नेपाली क्रिकेटका ‘लक्ली म्यान’ पनि भन्ने गरिन्छ । क्यानेडेली क्रिकेट लिगको समेत अनुभव बटुलेका पारसकै नेतृत्वमा नेपालले १६ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा लगातार नवौं जित दर्ता गर्‍यो । दसौं खेलमा भने नेपाललाई कुवेतले पूर्ण विराम लगाइदियो । पारस ‘एक्ट्रा’ खेलाडी भएको राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायके बताउँछन् । भन्छन्, ‘उनमा बलिङ, ब्याटिङ, फिल्डिङसँगै टिमलाई राम्रोसँग नेतृत्व गर्न सक्ने क्षमता छ ।’ पारस टिमको सबै कुरा भएको पुदुबु मान्छन् । कुवेतमाथि शतक प्रहार गरेपछि बलिङमा पनि उनले लिएको २ विकेटले पुबुदुको भनाइलाई पुष्टि गर्छ ।

नेपालमा झन्डै १० वर्ष बिताएका पूर्वश्रीलंकाली प्रशिक्षक रोयलुक डायस पारसलाई उत्कृष्ट खेलाडीको संज्ञा दिन्थे । अहिले मलेसियाका प्रशिक्षक डायसकै मातहतमा पारसले ८ वर्ष बिताए । त्यसैले त पारस भन्ने गर्छन्, ‘डायस सरले नेपाली क्रिकेटलाई अघि बढाए । पुबुदु सरले अर्को स्तरमा पुर्‍याउन कोसिस गरिरहनुभएको छ ।’ पारसको एउटै लक्ष्य छ, जुन आमनेपाली क्रिकेट प्रेमीसँग मिल्छ । भन्छन्, ‘नेपाललाई म वल्र्ड कपसम्म पुर्‍याउन चाहन्छु ।’

अन्तर्राष्ट्रिय यात्रामा वान-डे क्रिकेटमा शतक प्रहार गर्नेहरूः

१.    सुवास खकुरेल- ११५ रन, १४२ बल (अमेरिकाविरुद्ध, डिभिजन-४, २०१२)

२.    अनिल मण्डल- ११३ रन, १३४ बल (डेनमार्कविरुद्ध, डिभिजन-४, २०१२)

३.    पारस खड्का-  नटआउट,  १०६ रन, ७७ बल (कुवेतविरुद्ध एसीसी ट्रफी एलिट, २०१२)

४.    शक्ति गौचन- नटआउट, १०६ रन, १०३ बल  (इटालीविरुद्ध, वल्र्ड कप छनोट सिरिज, २००५)

५.    राजु खड्का- नटआउट, १०५ रन, ५० बल  (भुटानविरुद्ध, एसीसी इमर्जिङ नेसन्स कप, २००३)  

६.    शरद भेषवाकर- नटआउट, १०५ रन, १३४ बल (फिजीविरुद्ध, डिभिजन-५, २०१०)

Source:ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.