राष्ट्रपतिले कडा कदम चाल्ने संकेत


बालकृष्ण अधिकारी, काठमाडौ, असोज ११ -राष्ट्रपति रामवरण यादवले राजनीतिक दलका शीर्षनेतालाई फेरि शीतल निवास बोलाएका छन्। दलहरुले आफ्नो आग्रह पटकपटक अवज्ञा गरे पनि उनले तत्काल सहमतिमा राष्ट्रिय सरकार गठनको दबाब दिन आइतबार दिउँसो दुई बजे छलफल डाकेका हुन्।

 यसअघि भदौ ३१ गते शीतल निवासमा प्रमुख चार दललाई राष्ट्रपति यादवले संविधानका कुरा छिटो टुंग्याउन आग्रह गर्दै, ‘नटुंगिए संविधानको पालकका रुपमा मेरो पनि जिम्मेदारी छ’ भन्दै सहमतिको दबाब दिएका थिए।
आइतबारको छलफलपछि राष्ट्रपतिले कडा कदम चाल्न सक्ने स्रोतहरुको दाबी छ। अब पनि सहमति नजुटे अन्तरिम संविधानको धारा ३८ (१ ) अनुसार सहमतिको सरकार गठनका लागि राष्ट्रपति अघि सर्ने उनीहरुको भनाइ छ।
‘राष्ट्रपति अहिले पनि दलहरुबीचको सहमति र एकताको पक्षमा हुनुहुन्छ, तर असोजको पहिलो साताभित्र सबै विषयमा सहमति निर्माण गरेर आउने प्रमुख दलहरुका शीर्ष नेताले आश्वासन दिनुभएको थियो, केही प्रगति नभएपछि उहाँ (दलहरु) लाई बोलाउनुभएको हो,’ स्रोतले भन्यो, ‘पहिलेको भन्दा राष्ट्रपतिले दलहरुलाई अझ कडा आग्रह गर्नुहुनेछ।’
बुधबार सल्लाहकार र सहयोगीसँग छलफलपछि राष्ट्रपतिले आइतबारको छलफल तय गरेका हुन्।
स्रोतका अनुसार आइतबार उनले न्यूनतम राजनीतिक सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गरेर ‘नयाँ संविधानसभा’ चुनावमा जान दलहरुलाई दबाब दिनेछन्। आफूसँगका भेटमा पटकपटक सहमति गर्ने आश्वासन दिए पनि ठोस निर्णय नलिएपछि दलहरुसँग राष्ट्रपति रुष्ठ रहेको स्रोत जनाउँछ।
राष्ट्रपति कार्यालयले एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, मधेसी मोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा माले, नेकपा-माओवादी, मधेसी समाजवादीसहित झन्डै दुई दर्जन दललाई शीतल निवास बोलाएको छ। साना र तत्कालीन संविधानसभामा एक सिटमात्र रहेका दललाई भने राष्ट्रपति कार्यालयले यसपटक आमन्त्रण नगर्ने भएको छ।
राष्ट्रपति कार्यालयले एकीकृत माओवादी, कांग्रेस र एमालेबाट दुई /दुई नेतालाई शीतल निवास बोलाउने तयारी गरेको छ। त्यस्तै, अन्य दलका शीर्ष नेतालाई मात्र बोलाइने जनाइएको छ।
राष्ट्रपति कार्यालयका सचिव वामनप्रसाद न्यौपानेले प्रमुख राजनीतिक दलका नेतालाई छलफलका लागि बोलाइएको जानकारी दिए। ‘यसपटक नेकपा-माओवादी, मधेसी समाजवादी दललाई पनि बोलाइएको छ,’ उनले नागरिकसँग भने, ‘दलहरुले राष्ट्रपतिलाई सहमति गर्ने आश्वासन दिनुभएको थियो, सहमति कहाँ पुग्यो भनेर राष्ट्रपतिले नेताहरुलाई सम्झाउन खोज्नुभएको होला।’
त्यसअघि राष्ट्रपति यादवले प्रधानमन्त्री बाबुराम भट्टराईलाई डाकेर सहमतिका लागि दबाब दिने स्रोतको भनाइ छ। ‘राष्ट्रपतिज्यूले छोटो समय दिएर प्रधानमन्त्रीलाई सहमति निर्माण गर्न आग्रह गर्ने सम्भावना छ,’ स्रोतले भन्यो।
राष्ट्रपतिले भदौ ३१ मा एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका प्रमुख नेतालाई आफ्नै निवासमा बोलाएर न्यूनतम राजनीतिक सहमतिसहित राष्ट्रिय सहमतिको सरकार गठन गरेर ‘नयाँ संविधानसभा’ चुनावमा जान आग्रह गरेका थिए। उनीहरुले एक साताभित्र विवादित सबै विषयमा सहमति जुटाउने राष्ट्रपतिलाई आश्वासन दिएका थिए। प्रमुख दलहरुले संविधानसभाको नयाँ चुनावमा जाने सहमति गरे पनि चुनावी सरकारको नेतृत्वका साथै विधि र प्रक्रियाको विषयमा पनि दलहरुबीच विवाद कायम छ।
राष्ट्रपति यादवले यसअघि असोज ६ मा संवैधानिक कानुनका जानकारसँग छलफल गरेका थिए। त्यस क्रममा कानुनविदहरुले राष्ट्रिय सहमतिको सरकार गठनका लागि अग्रसरता लिन आग्रह गरेका छन्। उनले असोज १ मा तीन पूर्वप्रधानन्यायाधीश छलफल गरेका थिए। उनीहरुले अन्तरिम संविधान दलहरुको सहमतिको दस्तावेज भएकाले दलीय सहमतिबाट नै मुलुकलाई निकास दिनुपर्ने राय राष्ट्रपतिसमक्ष राखेका थिए। भदौ २७ मा प्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस सभापति सुशील कोइराला, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटेका थिए। भदौमा १९ मा प्रधानमन्त्री भेटेका राष्ट्रपतिले सहमतिका लागि अग्रसरता लिन आग्रह गरेका थिए।
त्यस्तै, राष्ट्रपति यादवले १४ भदौमा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका शीर्षनेतालाई शितल निवास बोलाएका थिए। त्यस क्रममा उनीहरुलेे भदौ मसान्तभित्र संविधानसभा पुनर्स्थापना वा नयाँ निर्वाचन’bout सहमति गर्ने आश्वासन दिएका थिए। भदौ १२ मा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिसँगको भेटमा छिट्टै सहमतिमा पुग्ने आश्वासन दिएका थिए। भदौ १० र ८ मा राष्ट्रपतिसँग प्रधानमन्त्री बाबुराम भट्टराईले भेट गरेका थिए।
उनले साउन २१ मा विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने २७ दलहरुलाई शीतल निवासमा बोलाएर ‘राजनीतिक र संवैधानिक मार्ग तय गरी छिटो निकास दिन’ आग्रह गरेका थिए। त्यस भेटमा नेताहरुले सहमति गरेरमात्र राष्ट्रपतिलाई भेट्न आउने आश्वासन दिएका थिए।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.